मुख्यमन्त्री बन्न इच्छुक ‘डार्लिङग’ लाई आफ्नैबाट धोका

मुख्यमन्त्री बन्न इच्छुक ‘डार्लिङग’ लाई आफ्नैबाट धोका

मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएर चुनाव लड्ने तयारी सकाए पनि प्रदेशमा प्रतिस्पर्धा गर्न बाध्य भएका काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याललाई आफ्नैबाट ठूलो धोका मिलेको छ । 

काँग्रेस वृत्तमा मात्र नभएर विराटनगबासीमाझ ‘डार्लिङग’ उपनामले चिनिएका संस्थापन पक्षका उनलाई आफ्नै भनिएकाहरुले जिल्लाइदिएका हुन् । मोरङ ५ (२) बाट निर्वाचित सांसद अर्यालले संस्थापन पक्षका सांसदहरुको बहुमत भए पनि संसदीय दलको नेतामा शर्मनाक हार ब्यहोरेका छन् । २९ जना सांसदमध्ये र्यालले जम्मा दुई मत मात्र पाए । 

आफू दलको नेतामा विजयी हुने र मुख्यमन्त्रीको अवसर पाउनेमा ढुक्क अर्यालले समर्थक र प्रस्तावकमध्ये एक जनाको मत पाएनन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका अर्याललाई काँग्रेस प्रदेश १ का सभापति उध्दव थापाले १७ मतले पराजित गरिदिए । समानुपातिकबाट प्रदेश सांसद बन्न सफल झापाका थापा कृष्ण सिटौला गुटका हुन् । उनलाई प्रदेश साँसद भीम पराजुली मात्र नभएर गच्छदार समूहलेसमेत सघाउँदा अर्यालले नसोचेको हार व्यहोर्नुपरेको हो । डा. शेखर कोइराला गुटका प्रतिस्पर्धी केदार कार्कीले भने ९ मत ल्याएका छन् ।

प्रदेश १ मा सत्ता गठबन्धनमा फेरबदल आएर काँग्रेसको नेतृत्वमा सरकार बन्ने भएमा झापाका उध्दव थापा मुख्यमन्त्री बन्ने वैकल्पिक अवस्था छ तर मुख्यमन्त्रीको आकांक्षी बनेर संघबाट चुनावी प्रतिस्पर्धाको निम्ति प्रदेश झरेका अर्यालले दलको नेतामा दुई मत मात्र पाएका छन् ।

१७ जना प्रत्यक्ष र १२ जना समानुपातिक सांसद रहेको काँग्रेसको प्रदेश १ संसदीय दलका लागि शुरुमा केन्द्रीय सदस्य अमृत अर्याल,भीम पराजुली,प्रदेश सभापति उध्दव थापा र वर्तमान मन्त्री केदार कार्की आकांक्षी थिए । सबैले आफ्नो अडान नछाडेपछि आज बिहान विराटनगरको बरगाछीस्थित काँग्रेस प्रदेश पार्टी कार्यालयमा निर्वाचन भएको हो । निर्वाचनमा सहभागी २९ मध्ये सबै सांसदको मत सदर थियो । ५१ प्रतिशत अर्थात १५ मत ल्याउनुपर्ने विधानअनुसार थापाले आवश्यकताभन्दा चार मत बढी ल्याएपछि उनी पहिलो राउण्डमै दलको नेता बन्न सफल भएका छन् ।

टिप्पणीहरू