सकियो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

सकियो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

‘नेपाल–इण्डिया बटालियन स्तरीय  संयुक्त सैन्य अभ्यास सूर्य किरणको १६ औं शृङ्खला" समापन भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कूलमा गत पुस १ गतेदेखि सञ्चालित कार्यक्रम आजबाट समापन भएको हो । 

दोश्रो वरियताका ३ तारे जर्नेल सरोजप्रताप राणाद्वारा उक्त अभ्यास समापन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विपद व्यवस्थापनको समयमा गरिने खोज,उध्दार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश गरेर अभ्यास सञ्चालन गरिएको सेनाको दावी छ । 

नेपाली सेनातर्फ प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनातर्फ प्रमुख सेनानी हिमांशु बहुगुणाको नेतृत्वमा दुवै देशबाट ३३४/३३४ जनाले अभ्यासमा सहभागिता जनाएका थिए । अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको भन्दै बलाधिकृत रथी राणाले सहभागी सैनिकलाई धन्यवाद दिएका छन् । 

तालिमप्रति देखाएको समर्पण,उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढंगले समाधान गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन् । साथै, उनले सहभागी दुवै देशका सैनिकलाई प्रमाणपत्रसमेत प्रदान गरेका छन् ।

समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतना,बुटवलका पृनापति उपरथी यामप्रसाद ढकाल, नं. ३ बाहिनीपति एवं संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं. २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ,नेपालका लागि भारतीय सैनिक सहचारी प्रमुख सेनानी अमित शर्मा,रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी  तथा जिल्लाका सुरक्षा निकाय प्रमुखहरु उपस्थित थिए ।


 

टिप्पणीहरू