पुल्पुल्याइएको पात्र अन्ततः पक्राउ

पुल्पुल्याइएको पात्र अन्ततः पक्राउ

आफ्नो नामलाई आफ्नै कामले चरितार्थ पार्ने एकजना डिएसपी यतिबेला आफैँ रंगेहात समातिएर निलम्बितसमेत भएका छन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसीलाई आइतबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीद्वारा लुटिएका सामानसहित नियन्त्रणमा लिइनुअघि त्यहीँका एआइजी उत्तम सुवेदीले चेतावनी दिएका थिए, ‘तिम्रो तरिका ठीक भएन है, बानी सुधार †’ तर, उनी सुध्रिएनन् । बरु, निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको मायाले पुल्पुलिँदै एकपछि अर्को बदमासी गर्दै रहे । आफ्नै टुआइसी इन्स्पेक्टरले ‘सर, तपाईं यस्तै तालले बजारमा कसरी मुख देखाएर हिँड्नुहुन्छ ?’ भनी सल्लाह दिँदा ‘बढ्ता नबोल्’ भनेर थर्काइरहे ।  

मन्त्रीका भाइ तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्णलाई महिनावारी रकम बुझाउँदै अनेकन कर्मकाण्डमा मुक्ति पाउँदै आएका थिए । उनको कार्यशैलीलाई लिएर सिआइबीका प्रमुख (एआइजी) उत्तमराज सुवेदी, डिआइजी उमेशराज जोशीहरूले पुलिस ब्याटन निरीक्षणमा दुई महिनाअगाडि बुटवल जाँदा खबरदारी गरेकै हुन् । तर, चेतेनन् । पत्नीको खातामा स्रोत नखुलेको रकम राखेको पुष्टि भएर विभागले कारबाही प्रक्रिया शुरु गरेको थियो । तर, बालकृष्ण खाँणले रोजेरै उनलाई बुटवल लगे । तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई होटलको स्विमिङ पुलमा फ्याँक्दा पनि कारबाही भएन । उनी मेयर रामकृष्णको निर्देशनमा नेविसंघको पनि निम्नस्तरको कार्यकर्ताझैँ ‘लठैत’ का रुपमा काम गर्न अग्रसर भए, विभागका हाकिमलाई समेत टेर्न छाडे । 

प्रहरी प्रधान कार्यालयको अनुगमन तथा सुपरीवेक्षण महाशाखा (उजुरी छानबिन) ले यसअघि तीन लाख रकम खाएकैमा दोषी ठहर गरेको थियो । तर, स्याङ्जाली पात्रलाई रुपन्देहीका गृहमन्त्रीको आदेशमा कारबाही रोकेर ‘उपयुक्त समयमा गर्ने’ भन्दै पेण्डिङमा राखियो । उनले मंसिर २५ गते आइतवार बुटवलस्थित अमरपथमा सुनचाँदी पसल भएका व्यापारीलाई नियन्त्रणमा लिएका थिए । त्यहीँको देवीनगरमा पसलको ज्यासल (कारखाना) थियो ।

त्यसदिन ज्यासलबाट पसलमा सुन लैजाने क्रममा ठगबहादुरले बाटोमा सोधपुछ गर्दै सुन कब्जामा लिए । दबाबमा ३५ तोला ‘सुन बुझिलिएँ’ भन्ने कागज पनि गराए । सुन चाहिने भए २० लाख रुपैयाँ दिनुपर्छ भन्दै जबरजस्ती सुन लगेरै छाडे । पसलेको भनाइ थियो, ‘सक्कली सुन हो । मैले तस्करी गरेको, कर छलेको हैन । किन २० लाख दिने ?’ ती पसलेले सिआइबीमा चिनेका मित्रलाई यो कुरा सुनाए । त्यसपछि सिआईबीको टोली ९ गते शनिबार नै बुटवल पुग्यो । त्यहाँ ठगबहादुरको निवासबाट नगद तथा गरगहना बरामद भयो । साढे आठ लाख नगद र साढे नौ लाखको चेक थियो । 

स्थानीय चुनावपछि र प्रतिनिधिसभा एवं प्रदेशसभा चुनावअघि तीन लाखको काण्डसम्बन्धी छानबिन रोकेर उल्टै बुटवल इप्रकामा थमौती गरिएका उनी जुजु दरबार (आरजू– मञ्जु) भनेर चिनिने शक्तिकेन्द्रकोे कृपामा बच्दै आएका पात्र हुन् । एआइजीहरू भन्छन्, ‘चुनावअगाडि नै कारवाही गर्न पाएको भए एउटा व्यापारी दिनदहाडै लुटिनबाट जोगिन्थ्यो ।’  बहालवाला गृहमन्त्री हार्नुमा यस्तै यस्तै अनैतिक काण्डकोसमेत प्रमुख हात रहेको अब क्रमशः खुल्दै जाने बताइन्छ ।
 

टिप्पणीहरू