घुसकाण्डमा मुछिएका डिएसपी ठगलाई एसपी क्वार्टरमा सत्कार

घुसकाण्डमा मुछिएका डिएसपी ठगलाई एसपी क्वार्टरमा सत्कार

घुससहित पक्राउ परेका ईलाका प्रहरी कार्यालय,बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय,रुपन्देहीले हिरासतमा नराखेको पाइएको छ । घुस बार्गेनिङमा रंगेहात पक्राउ परेका उनलाई प्रहरीले मानसम्मानका साथ प्रहरी कार्यालयको पाहुना कक्षमा राखेको हो । 

ठगबहादुरले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि खटिएको सिआईबीको टोलीले अस्ति समातेको थियो । बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस मागेका ठगलाई एसपी रविन्द्र रेग्मीले आफ्नै निवासको पाहुना कक्षमा राखेका छन् । 
ठगलाई हिरासतमा राखेर मुद्दा अघि बढाउनुको साटो एसपी रेग्मी उनको सेवासुविधाको व्यवस्थापन मिलाउनतर्फ लागेपछि रुपन्देहीका प्रहरीहरु आश्चर्यचकित बनेका छन् । ‘यस्तै खालको मुद्दा तल्लो तहका प्रहरीलाई लागेको भए अरु अभियुक्तसंगै साँघुरो र चिसो हिरासत कक्षमा राखिन्थ्यो’, एक प्रहरीले आक्रोशित हुँदै भने,‘तर, डिएसपीलाई निवासमा सत्कार गरिएको छ ।’

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता कमल थापाले सिआईबी टोलीले उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइसकेको र यसअघिको प्रक्रिया कार्यालयले नै अघि बढाउने बताए । डिएसपी ठगको निवासबाट ३५ तोला सुन, आठ लाख ५० हजार रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँको चेक बरामद भएको छ । 

‘नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ,सुन फिर्ता गर्न नपाउँदै पक्राउ परिहाले’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । उनको केही दिनअघि बुटवलबाट जिल्ला प्रहरी कार्यालय,कास्कीमा सरुवा भएको थियो । हिजो उनी रमाना लिएर कास्की जाने तयारीमा थिए । तर,त्यसअघि नै अनुसन्धान ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू