नेपालीलाई विदेश पुर्याएर बेच्ने चिनियाँहरु जेल चलान

नेपालीलाई विदेश पुर्याएर बेच्ने चिनियाँहरु जेल चलान

मानव बेचविखनमा संलग्न दुई जना चिनियाँ नागरिक जेल चलान भएका छन् । आकर्षक तलब र रोजगारीको लोभ देखाएर नेपाली युवालाई विदेशमा बिक्री गरेको कसूरमा काठमाडौँ जिल्ला अदालतले चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पुर्याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा उनीहरुको संलग्न फेला परेको हो । उनीहरुले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको र अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशंकामा अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उक्त कार्यमा सहयोगीको भूमिकामा रहेका केही नेपालीलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ । 

ती दुई चिनियाँ नागरिक व्यापारिक भिसा लिएर पाँच वर्षदेखि नेपाल बस्दै आएका थिए । आरोपी रुङ आइटी इञ्जिनियरसमेत हुन् । उनले नेपाली महिलासँग विवाह गरेर नेपाल बस्दै आएको खुलेको छ । उनीहरूले नेपाली एजेन्टसमेतको प्रयोग गरी नेपालीलाई यहाँबाट भारत हुँदै थाइल्याण्ड पुर्याएर त्यहाँबाट गाडीमा लाओस पठाइ बेचेको ब्युरोको दाबी छ । 

लाओसको सेल्स मार्केटिङमा एक हजारदेखि १५ सय डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर उनीहरुले नेपालबाट सर्वसाधारणलाई लाओस पठाउँदै आएका थिए । त्यहाँ पुर्याएर आइटी कम्पनीमा राखेर नक्कली सामाजिक सञ्जाल खोल्न लगाई बिट क्वाइनमा लगानी गराउन सामाजिक सञ्जालबाट विभिन्न देशका मानिससँग सम्पर्क गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चिनियाँ नागरिकले सुरुमा पीडितबाट जनही तीन लाख ९० हजार लिएको पाइएको र त्यहाँ पुगेपछि गरेको कामको पारिश्रमिक पनि नदिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । 

चिनियाँ र अङ्ग्रेजी भाषासमेत जानेका युवालाई उनीहरूले पहिलो प्राथमिकतामा राखेर यसरी विदेश पठाउने गरेका हुन् । सोही क्रममा डलरमा आकर्षक तलब पाउने लोभमा काठमाडौँमा कक्षा १२ अध्ययन सकेका केही युवा चिनियाँ नागरिकको सम्पर्कमा पुगेका थिए । सुरुमा ती विद्यार्थीलाई अन्तर्वार्ता नै लिएर उनीहरूले आकर्षक तलबको प्रलोभनमा गत भदौ १७ गते सडकमार्गबाट भारत त्यसपछि विमानबाट थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । बीचमा फरक–फरक व्यक्ति मार्फत् उनीहरूलाई लाओस पुर्याएको पीडितहरूले बताएका छन् ।

लाओसमा पनि भनिएको कम्पनीमा काम नलगाई पीडितलाई गैरकानूनी काममा लगाइएको पाइएको हो । दुई महिना काम गरेपछि आफन्तको सहयोगमा उनीहरू गत कात्तिक २५ गते नेपाल फर्कन सफल भए । पीडितले कात्तिक ३० गते ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले ठमेलबाट मंसिर ८ गते चेन याङलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेपछि अर्का अभियुक्त रुङ फरार भएका थिए । उनलाई प्रहरीले मंसिर ९ गते बिहान बङ्गलादेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

उनीहरूमाथि झण्डै १५ दिनको आवश्यक अनुसन्धानपछि प्रहरीले मंसिर २७ गते अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । सोही मिसिलका आधारमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरअन्तर्गत अभियोगपत्र दर्ता भएकोमा काठमाडौँ जिल्ला अदालतमा अस्ति थुनछेक बहस भएको थियो । अदालतले सोही दिनदेखि दुवै जनालाई पुर्पक्षको निम्ति कारागार चलान गरेको छ । 

बेचबिखनमा परेका धेरै नेपाली अझै पनि लाओसमा रहेको र उद्धार पर्खिरहेको पीडितले बताएका छन् । सो विषयमा अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । 

प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर गैरकानूनी काम गर्ने थुप्रै चिनियाँ नागरिकहरु पक्राउ परिरहेका छन् । पछिल्लो समय मानव बेचविखनजस्तो जघन्य अपराधमा समेत चिनियाँहरुको संलग्नता भेटिएको हो ।

टिप्पणीहरू