मलाई यो जिन्दगीले कहाँ पु¥यायो

मलाई यो जिन्दगीले कहाँ पु¥यायो

कहाँ सहज छ र जीवनको रेखा ? जे सोच्यो त्यो हुँदैन/पुग्दैन । जे नसोच्यो त्यही आइलाग्छ /भोग्नैपर्छ । पिता–पुर्खाको नाम थियो, शान थियो । हजुरबुवा नेपाली सेनाका जागिरे, बुवाबाहेक अरु सबै सेनामै । पिता वीरेन्द्र पाण्डे नेपाल बैंकको जागिरे । 

बालापनदेखि नै लाग्थ्यो म पनि थाम्छु पिता पुर्खाकै बिंडो । सेनामै जागिर खाने सोच थियो ! स्कुले शिक्षा राइजिङ बोर्डिङ स्कुलबाट हासिल गर्दै गर्दा भाइ जन्मियो । दुर्भाग्य, जन्मजात नै मुटुमा चार वटा प्वाल । भएभरको जायजेथा बेच्दा पनि स्वदेशमा उपचार सम्भव थिएन । हरेक दिन रगत बान्ता हुन्थ्यो । हिँडडुल गर्न सक्ने स्थिति थिएन । पिताको जागिरबाट आएको आम्दानी र घरखेतीबाट बचेखुचेको आम्दानी भाइकै उपचारमा खर्च हुन्थ्यो । यतिबिघ्न खर्च गरेर पनि सास अड्याउनेबाहेक प्रगति २० को १९ भएको होइन । एक सदस्य दीर्घरोगी हुँदा परिवारको स्थिति कसरी ओरालो लाग्ने भने सिंगो परिवारको बास नै अस्पतालमा । 

भनिन्छ सुखको प्याला पिउने हजारौं भेटिन्छन् तर दुःखको घुड्को एक्लै निल्नुपर्छ । उस्तै थियो हाम्रो अवस्था । एउटै आँगन जोडिएको थियो काका/ठूलो बुवाहरूसँग । आँगन जोडिएर मात्र के गर्नु ? मनको दूरी कोसौं टाढा भएपछि । हाम्रो दुःखमा उनीहरूको केही चिन्ता थिएन । मान्छेले मान्छेलाई चिन्ने दुःखैमा हो । राम्रैसँग चिनियो त्यही समयमा आफन्तलाई । पीडाको भुमरीमा रुमल्लिएकै कारण मेरो पढाइ बोर्डिङ स्कुलबाट सरकारी स्कुल शारदा माविमा सिफ्ट भयो । तनावको प्यारोमिटर बढेकै कारण एक्स्ट्रा गतिविधिमा रहेको सक्रियता सेलाउँदै गयो । संयोग नै भनौं भाइलाई त्यहाँबाट त्रिवि शिक्षण अस्पताल ल्याइयो, जहाँ विदेशबाट आएका एक जना डाक्टरले उपचार गरे । भाइ निको भयो । योभन्दा ठूलो खुशी अरु के हुन सक्थ्यो ? तर, खुशीको आयु किन छोटो हुन्छ ? किन टिक्दैन दीर्घकालसम्म ? 

०५६ सालको कुरा हो । म होष्टलमा बसेर अध्ययन गर्दै थिएँ । साथीहरूको लहैलहैमा लागेर चुरोट तान्न सिकियो । शुरुमा अरुले पैसा तिरेर खुवाए, पछि आफँैले खर्च गरेर साथीहरूलाई खुवाउन थालियो । चुरोट, गाँजा हुँदै रक्सीको नशासम्म पुगिसकेको थिएँ १० कक्षासम्म पढ्दा । जो अगुवा उही बाटो ....भएरै होला मभन्दा चार खण्ड निस्कियो भाइ यो मामलामा । एसएलसी उत्तीर्ण गरेर घर फर्कंदा ऊ रिह्याब सेन्टरमा थियो । ६ महिना बस्दा सुध्रिएर होइन, झनै बिग्रिएर आएछ । रिह्याब सेन्टरमा ऊ नाइट्रोजन ट्याब प्रयोग गर्ने भइसकेको थियो । 

कठै बुवाआमाको जिन्दगी । आधा जिन्दगी कान्छो छोरा जोगाउने चक्करमै बित्यो । उहाँहरूलाई लागेको हुँदो हो, जेठो छोरा ठीक ठाक छ । तर, नियतिले मलाई पनि सही बाटोमा कहाँ हिँडाइरहेको थियो र ? एसएलसीपछि पढ्न थालेको थिएँ एपेक्स कलेजमा । त्यहाँ झन्भन्दा झन् दुव्र्यसनको दलदलमा डुब्दै गएछु । त्यो तलाउबाट निस्कन गाह्रो भइसकेको थियो । म ट्याबलेट प्रयोग गर्ने अवस्थामा थिएँ, भाइ सिरिञ्ज हान्ने भइसकेको थियो । एकातिर कुलत र अर्काेतिर कुसंगतका कारण जीवन ओरालोतिर लाग्दै थियो । सोही कारण प्लस टु पार लगाउन सकिएन । बच्चैदेखिको घिडघिडो आर्मीको अफिसर÷ सेकेण्ड लेफ्टिनेन्ट हुने तर पढाइले साथ दिएन । ०६१ सालमा जतिखेर मुलुकमा चरम राजनीतिक द्वन्द्व थियो । सानैदेखि वितृष्णा थियो माओवादीप्रति । नेपाली सेनाले एउटा विज्ञापन खोल्यो ५० जनाको । आवेदन दिए ३४ सयले,सोहीमध्येको थिएँ म । 

नशाकै तालमा नाइट्रो भ्याट खाएर रनि¨मा भाग लिएँ । तैपनि, निस्कियो नाम । हजुरबुवा र बुवाहरूको सोर्सफोर्स लगाएरै छिरियो सेनामा । परिवारमा छायो उमंग । करिब तीन वर्षसम्म सेनामा काम गरेँ । भन्छन् नि बर्मा गए पनि कर्मसँगै । आखिर नानीदेखि लागेको बानी सिस्नु पानी लगाएर कहाँ जान्थ्यो र ? दुव्र्यसनको लत झनै बढेर गयो । ड्युटी सकिएपछि ड्रग्स डिलरवालाहरूकहाँ धाउन थालें/सम्पर्क भयो । तीन वर्षको अवधिमा जागिरमा प्रमोसन भएन तर लागुपदार्थ सेवनमा भने प्रगति हुँदै हेरोइन, ब्राउन सुगरसम्म पुगिसकेको थिएँ । तिनताक १ ग्रामको रु. २५० पथ्र्यो । महिनाभरिको तलब बोकेर नाकामा पुग्थें र ब्राउन सुगर बोकेर फर्कन्थें । जिन्दगी एक हिसाबले ठीकठाक चल्दै थियो । त्यहाँ पनि खेलमा अगाडि थिएँ । कलेज भर्ना भएको थिएँ । खेल्न जान्थें, कर्नेलका छोरालाई पढाउँथेँ । 

नशाको तालमा पढाइरहेको हुन्थें । बास्केटबल खेलिरहेको हुन्थेँ । एक दिन सिनियर क्याप्टेनले हेपाहा प्रवृत्ति देखाएर खेल्दै गर्दा धकेल्यो । लडेँ । खुट्टामा घाउ लाग्यो । रिस उठ्यो र भनेँ ‘तपाईंलाई खेल्न आउँदैन भने नखेल्नुहोस् ।’ मेरो यति नै भनाइका कारण सजायँ दिए, उनीहरूले । २१ किलोको भारी बोकाएर दिनभर हिँडाउने तयारी चल्दै थियो । सेनाभित्र ठूलोले सानालाई मान्छे नगन्ने प्रवृत्तिबाट वाक्क थिएँ । त्यही दिन त्यहाँबाट भागेर घर आएँ, बुवालाई विस्तार बताएँ । बुवाको चाहना थियो छोराले जागिर नछाडिदिओस् तर म त्यहाँबाट भागेर ड्रग्सको डिलर चलाउने साथीकोमा पुगेँ । 

उल्टो चक्र घुम्न थालेको थियोे जीवनमा । घरबाट विश्वास नगर्ने, कमाउने ठाउँ पनि थिएन । कसैसँग सहयोग माग्दा पत्याउँदैनथे । गोजीमा पैसा हुँदैनथ्यो । भएको रकमले महँगो आउँदैनथ्यो, सस्तोको खोजीमा झन् खतरा ड्रग्स प्रयोग गर्न थालेँ । त्यही बेलामा मनमा लागिरहन्थ्यो अब कसैलाई प्रयोग गरेर पैसा कमाउँछु । र, यस्तैमा भेटें एउटी दिदी जो, कुनै बैंकमा चिया पकाउने काम गर्नुहुन्थ्यो मासिक ३५ सय तलबमा । उहाँलाई आश देखाएँ रक्सौलबाट ड्रग्स ओसारपसार गर्ने हो भने मासिक लाख कमाउन सकिन्छ । आफूले लगाएका सारा गहना बेचेर दिदी यो काम गर्न तयार हुनुभयो । हामीले रक्सौलबाट माडी, ठोरीको बाटो हुँदै ड्रग्स ओसारप्रसार गर्न थाल्यौं । तीन–चारपटकसम्म यसरी ओसारपसार गरिसकेका थियौं । यो कुरा बाबाले कतैबाट चाल पाउनुभएछ । काठमाडौं ल्याएर रिह्याब सेन्टरमा छोडिदिनुभयो । तर, सेन्टर शरणार्थी शिविरजस्तो लाग्थ्यो । शक्तिखोरको वाइसियल क्याम्प र त्यो रिह्याब सेन्टरमा केही फरक देखेको थिइनँ । तीन महिनासम्म लगातार ढुंगा बोकेँ । ६ महिनामा आवुधाबीको भिसा लाग्यो । मासिक झण्डै एक लाख हाराहारी कमाइ हुन्थ्यो । मासिक ७० हजार बुवालाई पठाउँथें । वर्ष–वर्ष दिनमा घर फर्कन्थें । जीवनका पाँच वर्ष यसैगरी बिते । नानीदेखिको बानी सिस्नु पानी लगाएर नजाने भनेझैँ बानी सुध्रिएन । 

यही बीचमा अत्यन्त मिल्ने साथी सबिन गुरुङ दुर्घटनामा परेर बित्यो । मन बेचैन । पारिवारिक अवस्था झन्भन्दा झन् डामाडोल भइसकेको थियो । भाइले कहिले आमाको बाला, कहिले औंठी चोरेर हिँड्थ्यो । बुवाको पर्सबाट पैसा निकालिदिन्थ्यो । हुँदाहुँदा छिमेकीको घरमा केही हराएको खण्डमा समेत हाम्रै टाउकोमा दोष थोपरिने । भाइलाई हेपाटाइटिस सी भइसकेको थियो । झण्डै पाँच लाख खर्चेर फेरि उपचार गरियो । जीवनमा आफैंलाई भन्दा बढी भाइलाई माया गरें । सुध्रन्छ कि भन्ने आशले रिह्याबमा धकेलेँ । तर, त्यहाँ रहँदा पनि ऊ सुध्रिएन । पैसा मात्र डुब्यो । म केही हदसम्म सुध्रिएर ड्रग्स खान छाडेको थिएँ । मलाई प्राणभन्दा बढी प्यारो गर्ने हजुरबुवा घरको छतबाट खसेर बित्नुभयो । उहाँका छोराहरू सबै करोडपति । मेरा बुवाबाहेक सबै विदेशको पिआर होण्डर तर बुढेसकालमा स्याहार गर्ने कोही मान्छे नहुँदा उहाँ घरको छतबाट हामफालेर बित्नुभयो । उहाँको उपचार चल्दै गर्दा कसैको मुख देखिएन । हजुरबुवाको प्राणपखेरु उडेपछि अस्पतालमा रुवावासी मच्चाउनेको कमी थिएन । हजुरबुवा गुमाउनुको पीडा कसैलाई थिएन, मात्र मरेपछि कसले खर्च गर्ने भन्ने पीर । भएको सम्पत्ति कसरी बाँड्ने ? यही विषयमा झगडा हुन थाल्यो । दुनियाँमा सबैभन्दा बढी माया गर्ने हजुरबुवा गुमाउनुपर्दा मन एकतमासको भयो । आफूलाई सम्हाल्न सकिनँ । र, पहिलेकै बाटोमा फर्किएँ । स्थिति यस्तो थियो कि भाइ एउटा कोठामा, म अर्काे कोठामा बसेर ड्रग्स लिइरहेका हुन्थ्यौं । बुबा झ्यालपट्टि फर्किएर बर्रर्र आशुँ खसाल्नुहुन्थ्यो । चाडपर्व आउँथ्यो अरु सबैका बुवा÷आमाको अनुहारमा खुशी देखिन्थ्यो । जीवनका १४ वर्ष मेरो बुवाआमाको अनुहारमा हाँसो खुशी उडेको थियो । सदैव फुङ्ग उडेको अनुहार देख्थेँ । आज सम्झन्छु र आफैं भावुक हुन्छु । अश्रुधारा बग्छन् बुवा–आमाका ती कष्टकर दिन सम्झँदा । 

दुव्र्यसनमा परेकाहरू रिह्याब सेन्टरमा पुगेर पनि किन सुध्रिंदैनन् ? लाग्छ उनीहरूले असल गुरु मागदर्शक नभेटेर नै हो । र, १४ वर्षपछाडि मेरो नारकीय जीवनमा आशाको दियो सल्काउन आइपुग्यो– सिर्जनशील रिह्याब सेन्टर । त्यहाँ गुरु भेटें : मनीष गुरुङ । जीवनमा उहाँलाई नभेटेको भए उही अँध्यारोमा रुमल्लिरहेको हुन्थें । १४ वर्षपछाडि म सुध्रिएँ÷बदलिएँ । म त्यहाँ रहँदा दुव्र्यसनमा परेका सन्तानका बुवा÷आमालाई भेट्दथें । शब्द–शब्दमा तिनीहरूको पीडा हुन्थ्यो । त्यहाँ काम गर्दा दिमागमा क्लिक भयो : ‘कठै ! मेरो बाबु–आमाले पनि यसैगरी सुधार केन्द्रको मान्छेलाई हात जोड्थे होलान् ।’ उनीहरूको पीडा सुन्दा लाग्यो– मैले मेरो बुवा–आमाहरूलाई धेरै–धेरै दुःख दिएको रहेछु ।’ र, सौभाग्य मेरो कामबाट प्रभावित भएर म त्यही रिह्याबमा शेयर होल्डर बन्ने अवसर पाएँ । अहिले म मात्र होइन, भाइ पनि सुध्रिएको छ । घरमा एकदमै खुशी छ । लाग्छ, संसार बदल्न ठूला कुरा गर्नै पर्दैन, बस पहिला आफैं सुध्रिए, बदलिए पुग्छ । हिजो हिँडेको खराब गन्तव्य फेरे पुग्छ । अबको एउटै लक्ष्य छ आफ्नो सम्पत्ति सबै बेचेर भए पनि रिह्याब स्कूल खोल्ने । ताकि कमभन्दा कम शुल्कमा बाटो बिग्रिएकाहरुको उपचार सम्भव होस् । 

– जीवन पाण्डे, हाल थानकोट – जीवन पाण्डे, हाल थानकोट 

टिप्पणीहरू