कैलालीमा आज पनि गोली चल्यो

कैलालीमा आज पनि गोली चल्यो

कैलालीको धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा रहेको धनगढी उपमहानगरपालिका–९ मा आज बिहान गोली चलेको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरी गर्न छिरेको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गोली चलेको हो । धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियारधारी समूहलाई गाउँलेले लखेटेका थिए । 

गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । चोर र स्थानीयबीच भएको मुडमेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन् । उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए । घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा विष्ट घाइते भएका हुन् । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ ।यसअघि अस्ति साँझ पनि अत्तरियामा अज्ञात समूहको गोली प्रहारबाट एक जना सुन व्यवसायी घाइते भएका थिए ।

टिप्पणीहरू