होटल पुर्याएर बालिका बलात्कार गर्ने दुई जना गिरफ्तार

होटल पुर्याएर बालिका बलात्कार गर्ने दुई जना गिरफ्तार

मोरङको सुन्दरहरैँचामा बालिका बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । तिनमा सुन्दरहरैँचा नगरपालिका-४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा ६ का २१ वर्षीय प्रताप तामाङ्ग रहेका छन् । सुन्दरहरैँचा ३ र ५ घर भएका २ जना बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको मोरङ्ग प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुवै बालिका १४ वर्षका छन् । विद्यालय जान भनी पुस १ गते शुक्रबार घरबाट हिँडेका बालिकालाई ललाई फकाई होटलमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुन्दरहरैँचा ७ बेलगाछीस्थित होटल दरबार इन रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको पाइएको छ।

घटनाको मतियारका रूपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जसमा सुन्दरहरैँचा ५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैँचा ६ का २० वर्षीय पदम कार्की छन् । उनीहरुले तिम्सिना र तामाङ्गसँग बालिकाको भेट गराएको तथा होटल मिलाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ

टिप्पणीहरू