मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप
कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको सम्बन्धमा प्रेस चौतारी नेपालले विज्ञप्ति जारी गरेको छ ।
भनिएको छ-
"न्युज ट्वान्टी फोर टेलिभिजनको सुदूरपश्चिम प्रदेश व्युरो कार्यालयमा कार्यरत पत्रकार तथा प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य खेम ढुङ्गानालाई लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले नगरपालिकाका सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको सूचनाका आधारमा रिपोर्टिङ्ग गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रति प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्राप्त सूचनाअनुसार नै मेयर शाहीले नगरपालिकाका सरकारी सवारी साधन दुरुपयोग गरी घर निर्माण कार्यमा प्रयोग गरेको पाइएपछि पत्रकारले क्यामेरामा भिडियो रेकर्ड गरिरहेका बेला उनलाई हातपात गर्दै नियन्त्रणमा लिई नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुण्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।
ईलाका प्रहरी कार्यालयका निरीक्षकको कमाण्डको टोली सम्वन्धित स्थलमा पुग्दा पनि प्रहरीकै अगाडि मेयर शाहीले समाचारका लागि लिइएको भिडियो डिलिट गराउँदासमेत प्रहरी मूकदर्शक बन्यो । यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यो घटनाको निन्दा र भर्त्सना गर्दै पत्रकार ढुङ्गानालाई रिपोर्टिङ्ग स्थलबाट नियन्त्रणमा लिएर होटलमा राखी बन्धक बनाउने कार्यमा संलग्न भएको घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं । साथै अगामी दिनमा यस्ता खालका प्रेस स्वतन्त्रताविरोधी गतिविधि हुन नदिन तथा पत्रकारको सुरक्षाका लागि गम्भीर बन्न स्थानीय प्रशासन लगायतका सम्बध्द निकायलाई आग्रह गर्दछौं ।"

टिप्पणीहरू