जनार्दन र ज्वाइँ– लाइसेन्समा झ्याइँझ्याइँ

जनार्दन र ज्वाइँ– लाइसेन्समा झ्याइँझ्याइँ

अर्थमन्त्री जनार्दन शर्मा जातेजाते अर्को काण्डमा मुछिनुभएको छ । मन्त्रीको ठाडो निर्देशनमा बीमा प्राधिकरणले आइतबार वितरण गरेको सात वटा लघुबीमा लाइसेन्समा ठूलो रकम चलखेल भएको आशंका छ । चुनावअघि नै चलाइएको चर्चाले अस्ति आइतबार मूर्तरुप पाएको छ । सात वटा प्रदेशमा बीमा कम्पनी खोल्ने भनेर लाइसेन्स बाँडिएको छ । गत जेठमा चालु आर्थिक वर्षको बजेट भाषणअगावै असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको आरोप लागेका मन्त्री शर्मा अर्थमन्त्रीमा फर्केर आएपछि गर्नुभएको यो निर्णय धेरै वटा स्किममध्येको एक भएको बताइन्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी पत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणालगायतसमेत मुछिनुभएको पछिल्लो लाइसेन्स काण्ड मन्त्री शर्माले जिम्मेवारी लिनुभएका धेरै वटा बाचाकबोलमध्ये एउटा भएको मन्त्रालय स्रोतको दाबी छ । ‘पहिले माओवादीकै कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा यसैगरी नौ वटा कम्पनीलाई बीमाको लाइसेन्स दिइएको थियो । त्यतिबेला एउटाको १० करोड बुझाइएको चर्चा थियो । ९० करोड लगेर निवासमा बुझाउनेले पैसा बोरामा हालेका थिए । अहिलेका मन्त्रीलाई पनि त्यहि चस्का लागेको हुनुपर्छ,’ बीमाको लाइसेन्स खेलोफड्कोमा संलग्नमध्ये एक जनाले बताए ।

अर्कोतर्फ पहिले ह्वारह्वार्ती बाँडेको बीमा कम्पनीको लाइसेन्सपछि कम्पनी मर्ज गर्ने नयाँ मर्जर नीति यही सरकारले ल्याएको छ । त्यस्ता कम्पनीलाई सुविधा पनि दिने भनिएको छ । तर, अर्कोतर्फ पहिलेदेखिको सेटिङ राफसाफ गर्न आइतबार सात वटा कम्पनीलाई सात वटा प्रदेशमा लघुबीमाको लाइसेन्स बाँडिएको छ । यो नीतिगत रुपमा विरोधाभासपूर्ण कार्य भएको उच्च तहका कर्मचारीहरू बताउँछन् । सामान्यतयाः अन्तिम परिणाम नआउञ्जेल मुलुकभर निर्वाचन आचारसंहिता लाग्ने कानुनी व्यवस्था छ । अहिले आचारसंहिता कायम रहेकै अवस्थामा सरकार कामचलाउ हुँदा पनि यस्तो निर्णय गरिनुमा पूर्ण आशंका गरिएको छ ।

‘यसमा प्रधानमन्त्रीले समेत ग्रीन सिग्नल दिनुभयो । तर नियत सफा थियो भने अर्को सरकार आएपछि गर्नुपथ्र्यो । जनार्दनले आत्तिएर निर्णय ठोक्न लगाएका हुन् । भसक्कै खाए भन्ने गाईंगुईं छ,’ मन्त्रालय स्रोतको दाबी छ । अस्ति लाइसेन्स दिइएका सात वटा कम्पनीका मुख्य पात्र थर्मल गनवाला साहिल अग्रवालहरू हुन् । चुनाव खर्च दिने गरी जगदम्बा ग्रुपको प्रमुख मिलेमतोमा लाइसेन्स फुत्काइएको भन्नेहरू थुप्रै छन् । ‘माइक्रो लघुको औचित्य देखिँदैन ।

सञ्चालनमै रहेका ४१ बीमा कम्पनीले बिजनेस नपाएको अवस्थामा संख्या घटाउने भन्दै हिँडेका मन्त्रालय र प्राधिकरणले अर्कोतर्फ लाइसेन्स बाँड्नुलाई सहज रुपमा लिन सकिँदैन ।’ यसअघि दिइएको हिमालय रिइन्स्योरेन्स कम्पनीको लाइसेन्समा पनि मन्त्रीको संलग्नता खुल्दै आएको छ । मन्त्री शर्माकी अमेरिकामा पढ्दै गरेकी छोरीले काठमाडौंको रैथाने राणाका छोरासँग विवाह गरेपछि यतै घरजम गरेको बताइन्छ । अहिले उनै राणा ज्वाईंसाहेब हिमालयन रिइन्स्योरेन्समा कार्यरत छन् ।
 

टिप्पणीहरू