समस्यामै छन् सबै श्रीमान्

समस्यामै छन् सबै श्रीमान्

चुनावअघि केही न्यायाधीश भन्दै थिए, ‘संसदीय सुनुवाईबिना कसरी पदमा बहाल हुनु ?’ तर, काजमा उनीहरू अहिले पनि सर्वोच्चमा हाजिर भइरहेका छन्, बेञ्चमा बस्न पाएका छैनन् ।

ती न्यायाधीशका हकमा अझै संसदीय सुनुवाईका लागि समय लाग्ने भएको छ । निर्वाचनको सम्पूर्ण परिणाम आइसकेकै छैन । परिणाम आइसकेर निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन बाँकी नै छ । उक्त प्रतिवेदनका आधारमा बल्ल संसदको बैठक आह्वान हुन्छ । शपथग्रहण सहित बैठकका प्राविधिक प्रक्रियाले केही दिन समय लिन्छ । त्यसपछि बल्ल मन्त्रिपरिषद्, सभामुख, उपसभामुख हुँदै संसदीय समितिहरू गठनको प्रक्रियामा जान्छ ।

यति काम हुँदासम्म कम्तिमा एक महिना लाग्ने देखिन्छ । र, त्यतिञ्जेलसम्म चुनावको मुखमा सरकारले नियुक्तिका लागि सिफारिस गरेका तीन न्यायाधीश सुनुवाइबिनै सर्वोच्चमा अल्झिरहने भएका हुन् । सरकारले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुरका कामु मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्राध्यापक डिएन पराजुलीलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनीहरूले संसदीय सुनुवाईको प्रक्रियामा जान पाएका थिएनन् । 

अर्कातिर, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँगको निकटताका नाममा छानवीन गरिने भनिएका उच्च र जिल्लाका केही न्यायाधीशहरूउपरको कारबाही पनि रोकिएको छ । कानुनमन्त्रीको अभावमा न्यायपरिषद्ले पूर्णता पाएको छैन । प्रधानमन्त्रीले अर्को व्यवस्था नभएसम्मका लागि सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीलाई कानुन हेर्ने गरी तोक्नुभएको थियो । तर, कार्की पनि चुनावी तनावमा सुनसरीतिरै हुँदा शिष्टाचार भेटलगायत न्यायपरिषद्का कामहरू प्रभावित भएका छन् । न्यायाधीशमाथिको छानवीन पनि त्यही कारण रोकिएको भनिएको छ । 

हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा काम गर्न थालेपछि वरिष्ठतम् न्यायाधीशमा विश्वम्भर श्रेष्ठ तोकिनुभएको छ । 
 

टिप्पणीहरू