बालकोटबाट घुमाएर फोनफान

बालकोटबाट घुमाएर फोनफान

एमाले अध्यक्ष केपी ओलीको चाहना र उद्देश्य त्यही नै थियो भने १० दिनअघि मात्रै कुरा चलाएको भए एउटा परिणाम आउँथ्यो, यति धेरै खुम्चिनुपर्ने थिएन । तर, चुनावको नतिजा आएपछि उहाँका दूतहरू एकीकृत समाजवादी र माओवादीका मान्छेसँग कुरा गर्न खटाइएका छन् ।

मत गन्न थालेको भोलिपल्ट ओलीले ‘बधाई’ भन्ने बहानामा सीधै प्रचण्डलाई गर्नुभएको फोनको चर्चा भयो । माधव नेपाल, झलनाथ खनालसँग ओलीको सीधै कुरा भएको छैन । तर, ‘बालकोटबाट भनेरै फोन गरेको हुँ’ भन्नेहरूले माधव–झलनाथसँग निकट मानिने केही व्यक्तिलाई फोन गर्न थालेका छन् । यहाँ नाम उल्लेख गर्न नमिल्ने एकजना संवैधानिक अंगका पदाधिकारी, जो माधवनिकट छन्, उनलाई एमाले नेता हिक्मत कार्कीको फोन गयो ।

‘सर, एकपल्ट कुरा चलाउनुपर्ने भयो’, हिक्मतलाई ती पदाधिकारीले सोधे, ‘यो कुरा तपाईंले व्यक्तिगत रूपमा भन्नुभएको कि उताबाटै आएको हो ?’ उनको जवाफ थियो, ‘कुरा भएरै हो सर ।’ उनै पदाधिकारीलाई अर्का नेता रूपनारायण श्रेष्ठले पनि फोन गरेका थिए । ‘एकपल्ट माधव कमरेड र केपी कमरेडको भेटघाट मिलाउनुप¥यो’, रूपनारायणको आग्रह थियो, ‘अलिक निराशा छाएजस्तो छ, चिर्नुपर्ने भयो †’ तर, ती पदाधिकारीले रूपनारायणको प्रस्तावलाई त्यति महŒव दिएनन् । फेरि रूपनारायणले फोन गरे । उनलाई भनियो, ‘तपाईंले भन्नु त भयो, तर केपीले फेरि माधव नेपाललाई नै गाली गर्दै हुनुहुन्छ त †’ रूपनारायणले जवाफ दिए, ‘त्यही त, खत्तमै रहेछ नि बूढो †’
 

यसप्रकार जतिसुकै फोनफान गरिए पनि, फकाइफुल्याई नै गर्दा पनि ओलीले चाहनुभएको जसरी प्रचण्ड–माधव उहाँका चिनीमा पग्लिने सम्भावना देखिएन । कम्तिमा पनि नयाँ संसदको शुरुवाती समयमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने, कांग्रेसले अगाडि सारेको व्यक्तिलाई नै प्रधानमन्त्री बनाएर जाने कुरामा ती नेता दृढ छन् । नयाँ शक्ति सन्तुलनका आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री, संघीय र प्रदेश मन्त्रालयसहित संसदीय समितिका सभापतिहरूको टुंगो लगाइने कुरामा पनि सत्तारुढ गठबन्धनभित्रै छलफल हुने भएको छ । 

यदि ओलीले अहिलेका फोनफानका कुरा चुनाव हुनुभन्दा कम्तिमा एक हप्ताअघि गराउनुभएको थियो र प्रचण्डहरूले मानिदिएका थिए भने अहिले कम्युनिष्टहरू दुई तिहाईसहित संसदमा पुग्ने रहेछन् । यद्यपि, एउटा गठबन्धन बनाएर चुनावको मुखमा पुग्दा त्यसलाई तोडेर अर्को ढंगले जाने सम्भावना न्यूनप्रायः हुन्छ । अहिले फेरि एक किसिमको गठबन्धनबाट चुनावको परिणाम हासिल गर्ने र सरकार बनाउने वा संसदमा जाने बेलामा अर्को किसिमले अगाडि बढ्नु नैतिक हुँदैन । त्यसैले ओलीको यो सूत्र काम लाग्ने होइन, बरु उहाँमा पश्चातापको मात्रा केही न केही देखिएको बुझ्न सकिन्छ भनिँदै छ ।

 

टिप्पणीहरू