धन्न, एमालेका कार्यकर्ता महान

धन्न, एमालेका कार्यकर्ता महान

नेतृत्वले गति छाड्यो, व्यक्तिवादी–अहंकारी भयो । तर, कार्यकर्ताले इमान छाडेनन् । कार्यकर्ता हुनुको धर्म निभाए, जनतासँग भोट मागे, विपक्षमा मजबुत गठबन्धन हुनुका बाबजुद प्रत्यक्ष नसके पनि समानुपातिकमा पार्टीलाई ठूलो बनाए । 

एमालेभित्र निराशाका बीचमा पनि कतिपय आशलाग्दा पक्ष छन्, कार्यकर्ता र समर्थक । तर, तिनै इमान्दार र स्थिर पंक्तिको बलमा नेतृत्वले चाहिँ बलमिच्याइँ गरेको छ, कार्यकर्ता पंक्तिमा नचिनिएका, नदेखिएका मान्छेहरूलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । अध्यक्ष केपी ओलीले निर्वाचनपूर्व समानुपातिक प्रणालीबाट अघिल्लो पटकको निर्वाचनमा उम्मेदवार वा सांसद भएका कसैलाई पनि नदोहो¥याउने नीति अगाडि सार्नुभयो । त्यसो गर्दा जुलीकुमारी महतोले धनुषा गएर चुनाव जितिन्, निरुदेवी पालले महेन्द्रनगरबाट हारिन् । तर, समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनाइएका थुप्रैलाई पार्टीकै अग्रमोर्चामा रहेर काम गरेका नेता–कार्यकर्ताले नै नचिनेर हैरान छन् ।

बन्दसूचीको ५१ औँ नम्बरका देवीप्रसाद भट्टचन, ६१ का नरेन्द्रकुमार श्रेष्ठ, ६२ का नवीन रोका मगरसहित पार्टीपंक्तिमा नचिएका दर्जन बढी उम्मेदवार छन् । कतिपय पुराना र त्यागीलाई पन्छाएर नेताका आफन्त, विभिन्न स्वार्थ जोडिएका व्यक्तिहरू बन्दसूचीमा हुँदा कार्यकर्तामा असन्तुष्टि छ । बन्दसूचीको ३५ र आदिवासी जनजाति महिलाको पहिलो नम्बरमा राखिएकी नैनकला थापामगर पूर्वमाओवादी समूहका नेता रामबहादुर थापा (बादल) की पत्नी हुन् । बन्दसूचीको १९ र खस–आर्य पुरुषतर्फ रघुजी पन्तपछि दोस्रो नम्बरमा पर्ने एकनाथ ढकाल होली वाइन काण्ड मच्चाउने परिवार दलका अध्यक्ष हुन् । बन्दसूचीको पहिलो नम्बरमा परेकी मेनकाकुमारी पोखरेल पार्टी महासचिव शंकरकी बहिनी हुन् ।

कांग्रेस, माओवादी हुँदै एमाले भएकी ओमदेवी मल्ललाई बन्दसूचीको १७ नम्बरमा राखिएको छ । मधेसी पार्टी छोडेर आएकी अमृतादेवी अग्रहरी, माओवादीबाट आएकी प्रतिक्षा तिवारी मुखियासहित थुप्रैले अर्को पार्टी छाड्नासाथ उम्मेदवारी पाएका छन् । तर, पार्टीमै लामो समयदेखि रहेका थुप्रै महिलालाई समानुपातिकमा समेटिएन । तर, यस्तो विसंगतिका बाबजुद पनि स्थिर कार्यकर्ता हुनाले समानुपातिकमा अग्रता छ । 

कतिसम्म भने, पार्टीमा बोल्न सक्ने, आकर्षक व्यक्तित्व भएका अनेकन नेता–कार्यकर्ता हुँदाहुँदै घोषणापत्र सार्वजनिक गर्दा पूर्वमीस नेपाललाई उद्घोषण गर्न लगाइयो । पाँचतारे होटल याक एण्ड यतिमा घोषणापत्र सार्वजनिक गरिँदा बैंकर अनिलकेशरी शाहलाई मोडरेटर बनाएर ओलीलाई प्रश्न गर्न लगाइयो । एमालेबाट एमालेकै थुप्रै नेता–कार्यकर्ता लाभान्वित हुन सकेनन् । तर, राप्रपा र जसपाका मान्छेहरूलाई छानीछानी टिकट दिइयो भन्ने अर्को असन्तुष्टि छ । जबकि, ती पार्टीसँग तालमेल गरिएका कारण एमालेले कतै पनि जितेन । उनीहरूले चाहिँ जिते । जसपाले सुनसरी– १ बाट जित्यो । तर, जसपाका कारण एमालेले खासै कतै पनि जितेन । सबभन्दा बढी फाइदा राप्रपाले लियो ।

झापामा राजेन्द्र लिङ्देन, चितवनमा विक्रम पाण्डे, नवलपरासीमा ध्रुवबहादुर प्रधान, रूपन्देहीमा दीपक बोहोरा, बाँकेमा धवलसमशेर राणा, जुम्लामा ज्ञानबहादुर शाहीले एमालेकै तालमेलमा चुनाव जितेको बताइन्छ । अर्थात् अध्यक्ष ओलीको झापा–५ मा १ सिट सुरक्षित गर्न राप्रकाका निम्ति ७ जनाको बलि चढाइयो । राम, अयोध्या, सीता र हिन्दुत्वका नारा पार्टीले बोक्न थालेपछि हिन्दुवादी, राप्रपा र एमालेमा खासै भिन्नता नै बाँकी रहेन । सोको सोझो फाइदा पूर्वपञ्चहरूलाई पुग्ने नै भयो ।

 

टिप्पणीहरू