रोटरीद्वारा पठाइएका कामदारहरुको अरबमा रुवावासी

रोटरीद्वारा पठाइएका कामदारहरुको अरबमा रुवावासी

काठमाडौंको बसुन्धारास्थित रोटरी ओभरसिज प्रालिले वैदेशिक रोजगारीमा पठाएका कामदारहरुको बिचल्ली भएको छ । राम्रो कामको आशमा मोटो रकम बुझाएर गएका प्रायः सबै ‘रुनु न हाँस्नु’ को अवस्थामा पुगेका छन् । 

झण्डै चार महिनाअघि रोजगारीका लागि दुबई पुगेको टोलीको समस्या दिनहुँ जटिल बन्दै छ । खाने,बस्नेसमेत अवस्था छैन । बाइक राइडरको कामका लागि पुगेको टोलीले यत्रो महिना बितिसक्दा पनि काम पाउन सकेको छैन । म्यानपावरले बढी तलब हुने प्रलोभन देखाएर पठाइएका उनीहरुलाई बिहान–बेलुका पेट भर्न मुश्किल छ । 

टसिल्याट डेलिभरी सर्भिस नामक कम्पनीमा जागिर लगाइदिने भन्दै दुबई पठाएर आफूहरुलाई अलपत्र पारिएको पीडितहरुको आरोप छ । चार महिना हुन लागिसक्दा पनि कम्पनीले काम नदिएको उनीहरु बताउँछन् । ‘म्यानपावरले तीन महिनामा लाइसेन्स बनाएर काम शुरु हुन्छ भनेको थियो’, उनीहरुले रुँदै भने,‘चार महिना भइसक्यो,अहिलेसम्म लाइसेन्स नै आएको छैन ।’

म्यानपावरले दुबई पठाउन जनही चार लाख रुपैयाँ असुलेको थियो । काम नपाँउदा ब्याज पनि तिर्न नसकेको उनीहरु गुनासो गर्छन् ।‘नेपालमा दुःख पाएपछि ऋण खोजेर दुबई आयौँ’, पीडितमध्येका एक जना भन्छन्,‘यहाँ आएर झनै दुःख भयो । ब्याज तिर्न सकेको छैन ।’

अन्य कामदारको हालत पनि उस्तै रहेको उनले जानकारी दिए । खानाको पैसा पनि आफैंले तिर्नुपरेको उनीहरुको भनाइ छ । म्यानपावरलाई पटक पटक नेपाल फिर्ता गराइदिन आग्रह गर्दा पनि बेवास्ता गरेको पीडितहरु बताउँछन् ।

दुबईमा खान,बस्न पनि गाह्रो भइसकेको उनीहरुले बताएका छन् । उनीहरु मात्र नभई तीन वटा म्यानपावर गरी झण्डै एकसय ५० जना बिचल्लीमा परेको बताइएको छ । उनीहरुले आफूलाई दुबईबाट उद्धार गरिदिन आग्रह गरेका छन् । यता, रोटरी ओभरसिजले आफ्नो कम्पनीमाथि लगाइएका सबै आरोप झुठो भएको दाबी गरेको छ ।

म्यानपावरका कर्मचारी उमेश पौडेलले चार महिनाअघि ४० जनाको टोलीलाई दुबई पठाएको र तीमध्ये १५ जनाले लाइसेन्स पाइसकेको बताए । ‘हामीले बाइक राइडरको कामका लागि ४० जनाको टोलीलाई पठाएका थियौं । तीमध्ये १५ जनाको लाइसेन्स आइसकेको छ । १२ जनाको आउने क्रममा छ’, उनले भने ।

हरेक मुलुकमा सरकारको आ–आफ्नै नियम कानुन भएकाले लाइसेन्स निक्लिन समय लागेको उनको भनाइ छ । ‘सरकारी काम हो, प्रक्रिया मिलाएर हुन्छ । भन्नेबित्तिकै लाइसेन्स पाइन्छ र ?’, उनले आक्रोशित हुँदै जवाफ फर्काए । 

उक्त टोलीलाई दुबईको भरपर्दो र विश्वासिलो कम्पनीमा पठाएको पौडेल बताउँछन् । साथै, उनले खाना- बस्नलगायतका सबै खर्च कम्पनीले व्यहोरिरहेको दाबी गरेका छन् । पीडितमध्ये कसैले पनि खाना,बस्नका लागि आफूले खर्च गरेको बिल पेश गरेमा सोको भर्पाइ म्यानपावरले गरिदिने पौडेलले प्रतिबद्धता जनाएका छन् ।  लाइसेन्स आउन समय लाग्ने उल्लेख गर्दै उनले कोही नेपाल फर्किन चाहेमा दुबईस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेका छन् ।

टिप्पणीहरू