माननीयको ग्रेडरले बालिका किचेपछि धनगढी तनावग्रस्त

ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढी उपमहानगरपालिका–५ तनावग्रस्त भएको छ । बालिकाको मृत्युपछि उनका आफन्त र स्थानीयले विरोध गरेका छन् ।

स्थानीय सडकमा उत्रिएपछि सवारी आगमन ठप्प भएको छ । टायर बालेर विरोध गरिएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ  । 

हसनपुर–पिपल चौतारा सडकखण्डमा आज बिहान कालिका कन्ट्रक्सनको ना.१क ९७५ नम्बरको ग्रेडरले कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको थियो । 

पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत उनको ग्रेडर ब्याक गर्ने क्रममा ज्यान गएको बताइन्छ । साइकलयात्री साउदको घटनास्थलमा मृत्यु भएपछि प्रहरीले २७ वर्षीय चालक विमल कुमाललाई नियन्त्रणमा लिएको छ । 

सडकको लेबल मिलाउने क्रममा ग्रेडरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । मृतक साउदको शव अहिले पनि घटनास्थलमै रहेको छ । 

कालिका कन्स्ट्रक्सन राप्रपा सांसद विक्रम पाण्डेको हो । पाण्डै हालैको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् ।

टिप्पणीहरू