११२ मतले विजयी नहुँदै सञ्चारमन्त्री सुटुक्क शीतल निवासमा

मतगणनामा झिनो मतान्तरले पछाडि पर्दै आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्ततः ११२ मत ल्याएर विजयी हुनुभएको छ । सुनसरी-४ मा उहाँले पटक पटक पुनः मतदानको माग राख्दै आउनुभएको थियो । सोही कारण मतगणना कार्य अवरुध्द भएको थियो । 

तर आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कार्कीले नेकपा (एमाले)का जगदिशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गर्नुभएको छ । जसअनुसार उहाँले ३० हजार ४८३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कुसियैतले ३० हजार ३७१ मत पाएका छन् ।

उनै मन्त्री हिजो बिहान एकाएक शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै एक घण्टा कुराकानी गर्नुभएको थियो । उहाँ बिहान ७ बजे मन्त्रीको गाडीमा झण्डा हल्लाउँदै महाराजगञ्जस्थित शीतल निवास पुग्नुभएको थियो । पुगेको एक घण्टापछि उहाँ बाहिरिनुभएको हो ।

राजनीतिक रुपमा कार्की र राष्ट्रपति दुबै जना फरक राजनीतिक आस्था राख्नुहुन्छ । नेपाली काँग्रेसभित्र पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अति विश्वासपात्रमध्येका एक कार्की र राष्ट्रपति दुवै जना भोजपुरका हुनुहुन्छ । उहाँहरु नजिकका नातेदार समेत भएको बताइन्छ ।

टिप्पणीहरू