वैदेशिक रोजगारीले भित्र्याएको विकृतिको तरंग

वैदेशिक रोजगारीले भित्र्याएको विकृतिको तरंग

पछिल्लो समय नेपाली युवामा ‘विदेश मोह’ ह्वात्तै बढेको छ । नेपाली युवाहरु विदेशिने क्रम क्रमशः बढ्दै गएको देखिन्छ । 

कोही रोजगारीका लागि र कोही उच्चशिक्षाका लागि विदेश । मुलुकमा राम्रो र उच्चस्तरीय शिक्षा नभएको र पढेर पनि रोजगारीको अवसर नभएको गुनासो पोख्दै युवाहरु विदेशिने गरेका छन् ।

मुलुकभित्र उच्च शिक्षा अध्ययन गर्ने क्रममा रहेका युवाहरुको एउटा सपना हुने गरेको छ ‘विदेश’ । अचेलका युवा विदेशमै आफ्नो भविष्य देख्छन् । उतै बस्न चाहने युवाहरु पाइलैपिच्छे भेटिन थालेका छन् । 

विदेश जाने पनि दुई किसिमका देखिन्छन् । कोही सबै बाटो बन्द भएपछि बाध्य भएर हानिन्छन् भने कोही थप आनन्दका लागि त्यता जाने गरेका छन् । पारिवारिक र आर्थिक अवस्था राम्रा भएकाले विकसित मुलुक रोज्छन् । अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत युरोपेली मुलुकहरु त्यस्ता युवाका लागि आकर्षक गन्तव्य हुन् । 

धेरै नपढेका र घरमा खानलाउन अपुग भएकारु झिनो आशा बोकेर खाडीका मुलुक छिर्ने गरेका छन् । विदेश पलायन भएपछि रातारात चमत्कार हुने मानसिकता नेपालीमा पलाउँदै गएको छ । विदेश जान लाग्ने खर्चले मुलुकमै केही व्यवसायी गरौं, उद्योग खोलौं, अरुलाई पनि रोजगारी दिऔं भन्ने सोचाइ निकै कममा मात्र पाइएको छ ।

आफ्नै मुलुकमाथि प्रश्न उठाउँदै दक्ष युवाहरु विदेशिँदा विकास कसले गर्छ ? दिनहुँ हजारौं नेपाली विदेशउन्मुख भइरहेका छन् । देशलाई खाँचो परेका जनशक्ति बाहिर हानिएपछि मुलुक कसरी समृद्ध होला ?

विकसित मुलुक छिरेका नेपाली उतै बस्छन्, प्रायः नेपाल फर्किदैनन् । खाडीलगायत कोरिया, जापान र मलेसिया छिरेकाहरु भने आउजाउ गरिरहन्छन् । 
बढ्दो महँगी, बेरोजगारी र न्यून तलबले नेपालीलाई विदेशिन बाध्य बनाएको जानकारहरुको बुझाइ छ । कम आयस्रोत भएकालाई खान लाउन धौ धौ  पर्दै गएको छ । यस्तो अवस्थामा परिवारको आवश्यकता कसरी परिपूर्ति गर्ने ? भन्ने प्रश्न राष्ट्रिय रुपमा उठेको छ ।

हुनतः वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र धानेको छ । नेपालमा रहेका तिनका परिवारको आवश्यकता परिपूर्ति पनि भएकै होलान् । तर, यसले नकारात्मकता पनि उत्तिकै फैलाएको छ । ‘बे्रन डे«न’ ले नेपालको अवस्था डरलाग्दो हुँदै गएको विज्ञहरु बताउँछन् ।

यता, घर र गाउँमा रहेका थुप्रैको पारिवारिक सम्बन्धमा दरार आएको छ । सम्बन्धविच्छेदका घटनाले उग्र रुप लिएको छ । दाम्पत्य जीवनको दृष्टिकोणबाट हेर्दा वैदेशिक रोजगारी थप बोझ बन्न पुगेको छ । मुलुकमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना लगातार बढ्नुले पनि त्यसको पुष्टि गरेको हो । 

यसको प्रमुख कारण वैदेशिक रोजगारी भएको बताइन्छ । श्रीमान वा श्रीमती विदेशमा हुँदा यताका श्रीमती वा श्रीमानले अर्कैसँग गर्ने लसपसले समस्यालाई बल्झाएको हो । कमाएर सुःखसँग परिवार पाल्छु भनेर विदेश हिँडेकाको घरबार नै तहसनहस बन्न थालेको छ ।

नेपालमा रोजगारीको पर्याप्त अवसर नभएको यथार्थ हो । शिक्षा र सीपको पनि उस्तै अभाव छ । यसकारण दिनानुदिन युवा पिँढी विदेशिने क्रम बढेको छ र हराभरा गाउँघर उजाड बन्न थालेको छ ।

सबैका खेतबारी बाँझो देखिन थालेका छन् । बजारबाट अन्न किनेर छाक टार्ने अवस्था बन्दै गएको छ । वृद्ध र बाबुआमा र अशक्तलाई स्याहार्ने कोही देखिँदैनन् । वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र थेगेपनि नेपालीहरुको घरबार ध्वस्त हुँदै गएको छ । सामाजिक विश्रृंखलता शुरु भएको छ । 

अधिवक्ता वसन्त बस्नेत पछिल्लो समयमा सम्बन्धविच्छेद गर्नेको संख्या नसोचेको अंकमा बढेको बताउँछन् । सम्बन्धविच्छेद नेपाली समाजमा एउटा जटिल मुद्दा बनेको उनको भनाइ छ । वैदेशिक रोजगारी सम्बन्धविच्छेदको प्रमुख कारण बनेको उनको ठहर छ । 

‘पति र पत्नीमध्ये कोही वैदेशिक रोजगारीमा भए पनि त्यसको असर उनीहरुको दाम्पत्य जीवनमा पर्न जान्छ’, उनले भने, ‘वैदेशिक रोजगारीमा लामो समयावधी रहँदा श्रीमान र श्रीमतीबीच असमझदारी बढ्दै त्यसले सम्बन्धविच्छेदको रुप लिने गर्दछ ।’

यसको रोकथाम गर्न नेपालीलाई विदेश पलायन हुनबाट रोक्नैपर्छ । अन्यथा यसले ठूलो क्षति निम्त्याउन सक्ने बस्नेतको निश्कर्ष छ । मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड छ ।
 

टिप्पणीहरू