ठूला पार्टीको जगजगी भएको चितवनमा किन यस्तो ?

ठूला पार्टीको जगजगी भएको चितवनमा किन यस्तो ?

ठ्याक्कै एक वर्षअघि चितवनको भरतपुर र सौराहा क्षेत्र पूरै एमालेमय भएको थियो । एमाले महाधिवेशनका कारण चितवनमा अन्य दल नै देखिँदैनथे । गत स्थानीय तह निर्वाचनमा माओवादी उम्मेदवार रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा पुनः विजयी भइन् । अन्य पालिकामा पनि एमाले,काँग्रेस र माओवादीकै दबदबा देखियो । यसअघिका स्थानीय र आमनिर्वाचनमा पनि उनीहरु नै हाबी थिए ।
 
तर यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, काँग्रेस र माओवादी कसैका पनि उम्मेदवार विजयी भएनन् । तीन वटै निर्वाचन क्षेत्रमा घण्टी चिन्हको दबदबा देखियो । एउटा क्षेत्रमा हलोले बाजी मारेको छ । 

क्षेत्र नम्बर १ र २ को प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी फराकिलो मतान्तरले विजयी भयो । निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अनपेक्षित रुपमा धेरै मत ल्याएर जीत हासिल गर्दा एमाले,काँग्रेस र माओवादी यसपटक रनभुल्ल परेका छन् । काँग्रेस र एमालेभित्र आन्तरिक कलह चरमोत्कर्षमा पुगेको छ ।

प्रतिनिधि सभाअन्तर्गतको समानुपातिक निर्वाचनमा पनि चितवनमा घण्टी नै अगाडि देखिएको छ । ९९ हजार ३७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ । एमालेले ५५ हजार ३१२ र नेपाली कांग्रेसले ३९ हजार ३५१ मत ल्याएर दोस्रो र तेस्रो भएका छन् । 

त्यसैगरी माओवादी केन्द्र २९, ४६२ मत ल्याएर चौथो स्थानमा सीमित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ५५ मत प्राप्त गरेको छ । 

प्रदेश सभामा घण्टी चिन्हको कुनै पनि उम्मेदवार थिएनन् । चितवनका ६ वटा प्रदेश क्षेत्रमा भएको प्रत्यक्ष निर्वाचनमा एमाले दुई ठाउँमा विजयी भयो र नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक ठाउँमा चित्त बुझाउनुपरेको छ । प्रदेश सभाको पनि एउटा क्षेत्रमा राप्रपा विजयी भएको छ ।

चितवनमा प्रदेश सभाको समानुपातिक निर्वाचनमा एमालेले ७४ हजार २७३, नेपाली कांग्रेस ५७ हजार २२३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५२ हजार ३२० मत ल्याएका छन् । माओवादी केन्द्रले ३६ हजार ९२८ र एकीकृत समाजवादीले ७ हजार २२० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए । 

 

टिप्पणीहरू