मनीषा र प्रकाशले किन धान्न सकेनन् विरासत ?

मनीषा र प्रकाशले किन धान्न सकेनन् विरासत ?

बिपी कोइराला ठूलो कष्ट र खतरा उठाएर, लामो समयसम्म जेलको नजरबन्द र निर्वासन भोगेर जनताको हितमा लागिरहनुभयो । त्यही कारण देश र नेपाली जनताले उहाँको उच्च सम्मान गरेको हो । तर, उहाँकै छोरा प्रकाश, बुहारी सुष्मा र नातिनी मनीषाबाट भने बिपीको घोर अपमान भैरहेको छ । 

०४६ सालको जन—आन्दोलनलाई सफल पार्न कोइराला परिवारका सबैको ठूलो सहयोग थियो । आमनेपाली जनता ठूलो खतरा उठाएर यसमा संलग्न भएका थिए । प्रकाश कोइरालाले भने उतिबेलै मरिचमानको रक्सी खाएर जनआन्दोलनको कडा विरोध गरेका हुन् । त्यसबेला सबैले उनलाई दरवारको एजेण्ट भन्ने गर्थे । भारतको बम्बैमा बसेर हिन्दी चलचित्रमा अभिनय गर्ने मनीषा कोइराला तिनै प्रकाशकी छोरी हुन् । 

बिपीकी धर्मपत्नी सुशीलाले पनि धेरैचोटि छोरालाई सम्झाएकी थिइन्, आन्दोलनको समर्थन नगरे पनि विरोध नगर । तर, प्रकाश विरोधमै लागिरहे । त्यो देखेर आमाले प्रकाशलाई ‘कुलंगार’ भनी गाली गरेकी थिइन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेतले प्रकाशलाई कपुत भन्ने गरेका थिए । एकचोटिलाई माफी होस्, अब यस्तो गल्ती गर्दिनँ भनेपछि कांग्रेसले उपचुनावमा जिताएर प्रकाश कोइरालालाई मन्त्री पनि बनायो । तर, उनी दरबारको चंगुलबाट निस्केनन् । केहीपछि ज्ञानेन्द्र राजा भएर जनताको अधिकारमाथि कुठराघात गरे । प्रकाश, सुष्मा र मनीषा राजाकै कित्तामा लागे । प्रकाशलाई राजा ज्ञानेन्द्रले मन्त्री पनि बनाए । 

राजाले नगरपालिकाहरूको एकलौटी चुनाव गराउँदा विनोद अर्याललाई जिताउन मनीषा चलचित्रको सुटिङ छाडेर महिना दिनभन्दा बढी समय विराटनगर बसिन् । त्यो चुनावलाई कांग्रेसलगायत सबै पार्टीले बहिष्कार गरेका थिए । त्यसमा मनीषा सक्रिय भएर लाग्दा सबैले घृणा गरेका थिए । उनको प्रचारका बाबजुद एकलौटी गरिएको चुनावमा पनि विनोदले जित्न सकेनन् । मनीषा अहिले फेरि नेपाललाई प्रतिगामी दिशातिर फर्काउन प्रयत्नशील रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव प्रचारमा लागिन् । 

उनले बिपीको सपना साकार पार्न राप्रपामा लागेको भनेकी छन् । राप्रप्राको काम, नीति र सिद्धान्तले बिपीको सपना सकार पार्छ कि बिथोल्छ ? जसले बिपीलाई समाप्त पार्न अनेक हतकण्डा अपनाए, जसले बिपीका समर्थकलाई खोजी—खोजी दुःख दिए, यिनीहरूबाटै बिपीको सपना साकर हुन्छ भनेर मनीषाले के नेपाली जनतालाई केही थाहा छैन, जे भन्यो त्यही पत्याउँछन् भन्न खोजेको हो ? राप्रपाले बिपीको सपना साकार पार्ने भए, २०१७ साल पुस १ गतेपछि बिपीले धेरै समयसम्म जेलमा र निर्वासनमा बस्नुपर्ने थिएन । बिपीले त यिनै तत्वको विरोध गरेर आन्दोलन गर्नुभयो । क्रान्ति पनि गर्नुभयो । यसबाटै के थाहा हुन्छ भने, मनीषालाई कि त बिपीबारे थाहा छैन, कि उनमा झुटा बोल्दा पनि जनताले पत्याइहाल्छन् भन्ने घमण्ड छ । हामी भन्न चाहन्छौँ, नेपाली जनतालाई धेरै कुरा थाहा छ, झुट्टा बकवास नगरियोस् !

धनञ्जय बराल, कमलामाई नपा सिन्धुली 

 

टिप्पणीहरू