स्कूलका विद्यार्थीको जाउलोमा चाउचाउ मिसमास

स्कूलका विद्यार्थीको जाउलोमा चाउचाउ मिसमास

काभ्रेपलाञ्चोक जिल्लाको एउटा विद्यालयले दिवाखाजामा जाउलो खुवाउने गरेको छ । तर,स्वस्थ खाना मानिएको जाउलोमा चाउचाउ मिसाएर विद्यार्थीलाई खुवाउने गरेको पाइएको छ । विद्यालयले जाउलोसँग चाउचाउ मिसाएर खुवाएको फोटो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

विद्यार्थीको स्वास्थ्यलाई हानी गर्ने खाद्य पदार्थ खाजामा मिसाएर दिने गरेको पाइएपछि पोषणविदहरुले चर्को आलोचना गरेका छन् । तयारी चाउचाउलाई मन्द विष भन्ने गरिन्छ । एक जनाले त्यसको खण्डन गर्दै लेखेका छन्, ‘बेकार काम,स्वादका लागि लसुन,प्याज,धनियाँ हाल्न सकिन्छ ।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई मूर्खताको पराकाष्ठा भनेका छन् । ‘मूर्खताको पराकाष्ठा । त्यो स्कूल र चाउचाउसँग सम्बन्धित पसलेबीच सम्बन्ध हुनुपर्छ । यस्तो खानेकुरा पकाएर खुवाउन लगाउनेलाई पालिकामार्फत कारबाही होस्’,उनले भनेका छन् । 

सरकारले विद्यार्थीलाई पत्रु खाना खुवाउन रोक लगाए पनि विद्यालयले अटेर गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रु खानाले रोग निम्त्याउने भएकाले बालबालिकालाई यस्तो खानेकुरा दिन नहुने बताएको छ । 

तर, विद्यालयले जानाजान विद्यार्थीलाई अस्वस्थकर खाना खुवाइरहेको छ । यता, स्थानीय सरकारले पनि विद्यालयमा कस्तो खानेकुरा खुवाइरहेको छ भनेर निरीक्षण गर्ने गरेको पाँइदैन । शिक्षक शिक्षिका आफैं पत्रु खाना खान नहुने भनेर पढाउँछन् तर व्यवहारमा लागू नगरेको यो गतिलो प्रमाण हो । 

विद्यार्थीको स्वास्थ्यमा नराम्रो असर पर्ने थाहा हुँदाहुँदै पनि हेलचेक्रयाईं गरिएको पाइएको छ । सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ खाजा खर्चवापत रकम छुट्याएको छ । तर, विद्यालयले उक्त रकमको सदुपयोग गरेको देखिँदैन । 

यता,विद्यालयले विद्यार्थीलाई दिने गरेको दिवाखाजा गुणस्तरहीन भएको र भाँडाकुँडादेखि सरसफाइमा लापरवाही गरिएको बताइन्छ । विद्यालयका यस्तै खाजा खाएर विद्यार्थीहरु बिरामी भएका घटनासमेत बाहिर आउने गरेका छन् । 

सरकारले बजेट दिने तर अनुगमन नगर्ने भएपछि दिवाखाजाको व्यवस्था गर्नु र नगर्नुमा कुनै फरक नभएको पोषणविदहरु बताउँछन् । विद्यालयको लापरबाहीका कारण कलिला विद्यार्थीको स्वास्थ्यमाथि गम्भीर असर पर्न थालेको उनीहरुको निचोड छ ।

टिप्पणीहरू