म्यादी प्रहरीले कुदाएको मोटरसाइकलको ठक्करबाट वृद्ध सिकिस्त

म्यादी प्रहरीले कुदाएको मोटरसाइकलको ठक्करबाट वृद्ध सिकिस्त

आगामी निर्वाचनको निम्ति खटाइएका म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन् । रसुवाको कालिकास्थानबाट बेत्रावतीतर्फ जाँदै गरेको बा २९ प ६४२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ८४ वर्षीय टीकानाथ न्यौपानेको अवस्था गम्भीर भएको हो ।

कालिका गाउँपालिका–३, कटुञ्जेका न्यौपानेलाई आफ्नै घर अघिल्तिरबाट सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको बताइन्छ ।

ठक्कर दिएका मोटरसाइकल चालक म्यादी प्रहरी हुन् । म्यादी प्रहरीमा भर्ना भएका कालिका गाउँपालिका–१, ग्राङका २० वर्षीय सुर्चे तामाङले चलाएको मोटरसाइकलले गत बिहीबार साँझ न्यौपानेलाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय, कालिकास्थानका अनुसार सडकमा आइरहेको एउटा जीपलाई साइड दिने क्रममा उक्त मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करपछि सडकमा ढलेका न्यौपानेलाई तत्काल एम्बुलेन्समा राखेर त्रिशुली अस्पताल पुर्याइएको बताइन्छ ।

त्रिशुली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको हो । बिहीबार रातिदेखि घाइतेको काठमाडौं, धापासीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

मस्तिष्कमा रक्तश्राव भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । घाइते टीकानाथका छोरा भेषराज न्यौपानेले थप उपचारस्वरुप टाउकोको शल्यक्रिया गरिएको जानकारी दिए । वृद्ध घाइतेकाे अवस्थामा कुनै सुधार नआएकाले भेण्टिेलटरमा राखिएको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू