नाम सांग्रिला, खानेकुरामा मरेका कीरा

नाम सांग्रिला, खानेकुरामा मरेका कीरा

चितवनको चुम्लिङटारमा रहेको नाम चलेको सांग्रिला होटलको खानामा कीरा भेटिएको छ । होटलले पस्किएको खानामा झुसिल कीराजस्तै परजीवी फेला परेको हो ।

काठमाडौंबाट धनगढी हिँडेका अनुप देउवालाई केही दिनअघि साह्रो सकस पर्यो । चालकले मध्यरातमा एकान्तमा रहेको होटल अगाडि खाना खान भन्दै बस रोके । गाडीमा भएका जति सबै खाना खानका लागि सांग्रिला होटलभित्र छिरे ।

भोक र थकानले आलसतालस भएका उनीहरु कतै नहेरी खाना खान थाले । राति ११ बजेतिर खाना खाँदै गर्दा थालमा कीरा भेटिएको देउवाले सुनाए ।

‘खाँऊ भने थालमा कीरा, नखाउँ भने पेटमा भोकको ज्वाला दनदनी’, उनले भने । यसबारे होटल सञ्चालकलाई जानकारी गराउँदासमेत वास्ता नगरेको उनको आरोप छ ।

काठमाडौंबाट सुदूरपश्चिमका लागि छुटेका रात्रि बसका चालकहरुले त्यही होटलमा लैजाने गरेको सुदूरपश्चिमका यात्रुहरु बताउँछन् ।

राजमार्गको आडमा रहेकाले होटल अगाडी बस रोकेर यात्रुहरुलाई खाना खुवाउने गरिँदै आएको छ । तर, उक्त स्थानका अधिकांश होटल फोहोर र दुर्गन्धित देखिन्छन् ।

होटलको चरम लापरवाहीका कारण यात्रुहरु अस्वस्थ खाना खान बाध्य भएका हुन् । त्यसबाट लामोदूरीमा यात्रा गर्ने यात्रुहरु निकै मर्कामा पर्ने गरेका छन् ।

तराईलगायतका मुलुकका अधिकांश जिल्लालाई काठमाडौंसँग जोड्ने मुख्य राजमार्ग मुग्लिन–नारायणगढ आसपासका होटलको अवस्था पनि उस्तै छ ।

ती सबैले तोकिएको स्वास्थ मापदण्ड विपरितका अयोग्य खाना खुवाउने गरिएको यात्रुहरुको गुनासो छ । ‘भोकाएको बेलामा पहिले त सरासर खाएँ’, देउवाले भने, ‘थप खाना माग्दा मरेको किरा देखियो । निल्नु न ओकाल्नुको अवस्था बन्यो ।’

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने होटल सञ्चालकलाई कारबाही गर्नुपर्ने उनको माग छ । होटलका सञ्चालकले भने यस विषयमा खासै कुरा गर्न चाहेनन् । उनले गैरजिम्मेवार हुँदै उत्तर दिए, ‘खानामा किरा परेको होइन, बरु तरकारीमा हुनसक्छ ।’

त्यस्तै, राजमार्ग छेउका होटलमा खाइएको बासी खानाका कारण बिरामी भएर थलिनुपरेको अनुभव छ, अर्का यात्रु सुशील विष्टसँग । बझाङका विष्ट भन्छन्,‘मलाई गाडीमा यात्रा गर्दा केही पनि भएको थिएन तर बाटोमा खाना खाइसकेपछि गाह्रो पर्न थाल्यो ।’

नाफा मात्रै कमाउनका लागि खोलिएका होटलले आमनागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको र तिनलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने उनी पनि बताउँछन् । यात्रुलाई आफ्नो होटलमा ल्याइदिएवापत चालकलाई छुट्टै रकम दिने प्रवृत्तिको अन्त्य नभएसम्म यो क्रम चलिरहने धनगढीका लेसन सिंहको भनाइ छ ।

‘हेर्दा ताजा देखिए पनि बासी खानासँग मिसाएर खुवाइने हुँदा विश्वास गर्न सकिँदैन’, उनले भने । मुख्य राजमार्ग क्षेत्रका होटलमा बस रोकेवापत चालकलाई होटल सञ्चालकले मासु–भात र ‘कमिसन’ दिने गरेका छन् । होटलमा धेरै ग्राहक तान्नका लागि उनीहरुले प्रति बस एक हजारदेखि दुई हजार पाँच सयसम्म कमिसन दिने गरेको बताइन्छ ।

बस रोकेकै होटलमा खाना खानुपर्ने बाध्यता

चालकले कि आफूले सित्तैंमा खान पाउने वा कमिसन आउने होटल अघिल्तिर लगेर मात्र गाडी रोकिदिने गरेका छन् । राजमार्ग वरिपरिका होटलमा खाना खानु अगावै पैसा तिर्नुपर्ने अर्को नियम छ ।

‘होटलमा न आतिथ्य पाइन्छ, न स्वस्थ खानेकुरा । चर्को शुल्क तिर्दा पनि बेकारको खाना पाइन्छ,’ एक जना यात्रुले भने । राजमार्गका होटल तथा रेष्टुरेण्हरु प्राय अव्यवस्थित नै देखिन्छन् ।

रातको समयमा यात्रा गर्ने यात्रुले ‘यहाँ खाँदिन’ भनेर भन्नसक्ने अवस्था नै हुँदैन । भोक लागेको बेलामा जस्तो भए पनि खानुको विकल्प नभएको उनीहरुको अनुभव छ ।

मनलाग्दी मूल्य

पहिलोपटक ती होटल छिरेका यात्रुहरु खानेकुराको मूल्य सुनेर अचम्म मान्छन् । सामान्यतया ः एक सय ५० रुपैयाँ पर्ने इनर्जी ड्रिंकलाई तीन सय असुल्छन् ।

७० रुपैयाँ लेखिएको एक प्याकेट स्न्याक्सको एक सय रुपैयाँ लिइन्छ । खाना र खाजाको मूल्यको कुनै आधिकारिकता देखिँदैन । मूल्यको कुरा सुनेपछि प्रायः यात्रु तर्सिने गरेका छन् ।

टिप्पणीहरू