यस्तै आउला त चुनावी परिणाम ?

यस्तै आउला त चुनावी परिणाम ?

मङ्सिर ४ को निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी छ । मिति नजिकिएसँगै देश चुनावमय बनेको छ । राजनीतिक दलका नेता-कार्यकर्ता र उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् ।

स्थानीय तहमा मिलेर चुनाव लडेका सत्ता गठबन्धनका दलहरु यसपटक पनि सीट तालमेल गरेर प्रतिष्पर्धामा होमिएका छन् । त्यतिबेला गठबन्धनमै रहेको जसपालाई आफूतिर तानेर राप्रपा र परिवार दलसमेतको साथ लिएको एमाले पनि केही क्षेत्रमा तालमेलसहित मैदानमा ओर्लिएको छ । स्थानीय तहको निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको एमालेका लागि मङ्सिर ४ को भिडन्त पनि अनुकूल नरहेको विश्लेषण धेरैले गरेका छन् । स्थानीय चुनावमा दलहरुले पाएको भोटलाई आधार मान्दा पनि त्यस्तै अनुमान गर्न सकिन्छ । ०७४ को स्थानीय चुनावमा दोस्रो दल बनेको कांग्रेस गठबन्धनकै बलमा पहिलोमा उक्लिएको र माओवादीले समेत करिब डेढ दर्जन बढी सीट जितेकाले मंसिरको चुनावमा पनि यस्तै परिणाम आउनसक्ने धेरैको अनुमान छ ।

तर,चुनावको मुखमै सरकारी सुरक्षा संयन्त्र राष्ट्रिय अनुसन्धान विभागले गरेको एउटा प्रक्षेपण भने बाहिर गरिएका अनुमानभन्दा विपरित देखिएको छ । प्रारम्भिक प्रक्षेपण भनिएको लामो रिपोर्टमा बरफबागको वातानुकुलित कोठाभित्र बसेर एमाले पहिलो दल बन्ने हचुवा आकलन गरिएको छ । उक्त रिपोर्टअनुसार यसवीच गठबन्धनभित्रै अन्तर्द्वन्द्व चर्काउन सकियो भने प्रत्यक्षतर्फका १६५ मध्ये ५५ सीट जितेर एमाले पहिलो दल बन्न सक्छ । एक्लै निर्वाचनमा जाँदासमेत ७० भन्दा बढी सीट जित्ने यसअघि आएका बिभिन्न रिपोर्टको ठिक विपरित काँग्रेसले ६० सीट जित्ने त्यहाँ प्रक्षेपण गरिएको छ । तेस्रो दलका रुपमा माओवादी केन्द्रले २२ सीट हात पार्ने रिपोर्टमा उल्लेख छ ।

जिल्लागतरुपमा सम्भावित विजयी उम्मेदवार र निकटम प्रतिष्पर्धीसमेत केलाएर निकालिएको रिपोर्टमा प्रदेश प्रदेश १ र बाग्मतीमा कांग्रेस पहिलो दल बन्ने प्रक्षेपण छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेसलाई उछिनेर एमाले पहिलो दल बन्दा कर्णालीमा माओवादी र मधेसमा जसपा पहिलो हुने अन्दाज लगाइएको छ । मधेसमा कांग्रेसको भन्दा १ सीट बढी जितेर जसपा पहिलो पार्टीका रुपमा आउनेसमेत मौसमी विवरण रिपोर्टमा उल्लेख छ ।

१४ जिल्ला रहेको प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा काँग्रेसले १२, एमालेले १०, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ सीट जित्ने प्रक्षेपण गरिएको छ । रिपोर्टअनुसार पाँचथर,सोलुखुम्बु,ओखलढुंगा, संखुवासभा,झापा-१,सुनसरी २ र ४ मा काँग्रेसका उम्मेदवारले झिनो अन्तरसहित जित्न सक्नेछन् । मोरङ-१,२ र ६ अनि उदयपुर-१ पनि कांग्रेसकै खातामा जाने उसैको अनुमान छ ।

एमालेले ताप्लेजुङ्ग,भोजपुर, झापा-२,४ र ५, इलाम-२ सुनसरी-१ र ३, मोरङ-३,धनकुटा, तेह्रथुम जित्ने देखाइएको छ । माओवादीले खोटांग, मोरङ- ४ र ५ जित्दा समाजवादीले इलाम-१ र उदयपुर-२ मा बाजी मार्ने आकलन गरिएको छ ।

मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये १० सीट जितेर जसपा पहिलो दलका रुपमा अगाडि आउने रिपोर्टमा उल्लेख छ । त्यहाँ ९ सीट जितेर काँग्रेस दोस्रो हुँदा लोसपा र एमालेले समान ४-४, माओवादीले ३, समाजवादीले १ क्षेत्रमा जित निकाल्ने प्रक्षेपण छ । प्रक्षेपणअनुसार सप्तरीका चार सीटमा क्षेत्र नम्बर १, २ र ४ जसपाले जित्दा एमालेले क्षेत्र नम्बर ३ हात पार्ने छ । सिराहाको क्षेत्र नम्बर २ र ४ मा जसपा, १ मा कांग्रेस र ३ मा एमालेले जित्नेछ ।

धनुषा-१ मा माओवादी, २ मा कांग्रेस, ३ मा लोसपा र ४ मा एमालेका उम्मेदवार विजयी हुने देखाइएको छ । त्यस्तै,महोत्तरी-१ मा माओवादी, २ र ३ मा लोसपा अनि ४ मा कांग्रेसले जित हात पार्ने छ । सर्लाहीका चार सीटमा जसपा,लोसपा,माओवादी र काँग्रेसले एक-एक सीट जित्नेछन् । रिपोर्टअनुसार क्षेत्र नम्बर १ मा जसपा,२ मा लोसपा, ३ मा माओवादी र ४ मा कांग्रेसका उम्मेदवारले जित्ने छन् । रौतहट-१ मा समाजवादी, २ मा कांग्रेस, ३ मा माओवादी र ४ मा कांग्रेसले जित्ने प्रक्षेपण छ । बारा-१ मा कांग्रेस, २ र ३ मा जसपा र ४ मा एमालेले जित्दा पर्सा १ र २ मा जसपा ३ र ४ मा कांग्रेसका उम्मेदवार विजयी हुनेछन् ।

१३ जिल्ला रहेको बागमती प्रदेशमा ३३ निर्वाचन क्षेत्र रहेको छ । जहाँ ११ सीट जितेर काँग्रेस पहिलो पार्टी हुने आकलन गरिएको छ । कांग्रेसले रसुवा,धादिङ्ग-२,सिन्धुपालचोक-२, नुवाकोट-२, काठमाडौँ-४,५,६ र १०, ललितपुर १ र सिन्धुली-१ मा जित हात पार्नेछ । एमालेले दोलखा, भक्तपुर-२, काभ्रे-२, काठमाडौँ-२, ३,७, चितवन-१ र मकवानपर-१ (कमल थापा)मा जित्नेछ । माओवादीले जित्ने प्रक्षेपण गरिएको ५ सिटमा नुवाकोट-१, काभ्रे १, ललितपूर-३, सिन्धुली-२ र सिन्धुपाल्चोक-१ छन् । समाजवादीले ललितपुर-२, मकवानपुर-२ र काठमाडौँ-८ जित्नेछ । चितवन-२ मा रवी लामिछानेलाई सभावित विजयी उम्मेदवार देखाइएको छ भने काठमाडौँ-१ मा रवीन्द्र मिश्रले जित्ने आकलन गरिएको छ ।

यता, गण्डकीका १८ निर्वाचन क्षेत्रमा एमालेले ११ सिट जितेर पहिलो दल बन्ने प्रक्षेपण छ । त्यहाँ कांग्रेसले ४ र माओवादी केन्द्रले २ सिट जित्ने अनुमान गरिएको छ । जसमध्ये एमालेले एक-एक सीट रहेका मनाङ, पर्वत र लम्जुङसहित कास्की र स्याङ्गजाका सबै क्षेत्र, तनहुँ-१ र नवलपरासी पूर्व-२ जित्नेछ । कांग्रेसले म्याग्दी, गोर्खा-१, तनहुँ-२ र नवलपरासी पूर्व-१ मा जित हात पार्दा गोरखा-२ र बाग्लुङ्ग-२ मा माओवादीका उम्मेदवार विजयी हुनेछन् । जनमोर्चाले बाग्लुङ्ग-१ जित्ने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी, लुम्बिनीका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा काँग्रेसभन्दा दोब्बर बढी सीट जितेर एमाले पहिलो हुने आकलन गरिएको छ । एमालेले रुपन्देहीका तीन क्षेत्र (१,२ र ५) पाल्पा र गुल्मीका दुबै क्षेत्र, कपिलवस्तुका तीनवटै क्षेत्र, अर्घाखाँची, दाङ-२ गरि १२ सीटमा जित हात पार्नेछ । कांग्रेसले नवलपरासी पश्चिमका दुबै क्षेत्र, रुपन्देही-३, दाङ-३, बाँके-३ र बर्दिया-१ मा जित हात पार्दा माओवादीले बाँके-१, रुकुम पूर्व, रोल्पा र बर्दिया-२ को नतिजा पक्षमा पार्नेछ ।

कर्णाली प्रदेशको कूल १२ क्षेत्रमा माओवादी पहिलो हुने अनुमान गरिएको छ । त्यहाँ कांग्रेस र एमालेले समान-३ ३, समाजवादीले र राप्रपाले १-१ सीट जित्नेछन् । माओवादीले हुम्ला, रुकुमपश्चिम, जाजरकोट, कालिकोट जित्दा कांग्रेस मुगु र सुर्खेतका दुबै क्षेत्रमा विजयी हुनेछ । एमाले दैलेखका दुवै क्षेत्र र डोल्पा जित्दा सल्यानको समाजवादी र जुम्लाको नतिजा राप्रपाको भागमा पर्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिममा एमाले नै पहिलो दल बन्ने सुरक्षा संयन्त्रको प्रारम्भिक प्रक्षेपण छ । सुदूरपश्चिममा कांग्रेस दोस्रो र माओवादी तेस्रो हुनेछ । समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि १/१ क्षेत्मा जित हात पार्ने अनुमान गरिएको छ । एमालेले बझाङ्ग, दार्चुला, बाजुरा, बैतडी, कैलाली-४ र अछाम-१ जित्दा कांग्रेस अछाम-२, कंचनपुर-२ र ३ अनि डडेल्धुरामा विजयी हुनेछ । माओवादीको कैलाली-३ र कंचनपुर-१ मा सम्भावित जित हुने देखाइएको छ ।
यो रिपोर्ट बुझाउँदा प्रधानमन्त्री र गृहमन्त्री बेखुस हुने भयको कारण बिभाग प्रमुख हुतराज थापाले आफ्नो भेग रोल्पाका बर्षमान पुनलगायत केही माओवादी नेतालाई भने एक कपी पढ्न दिएको माओवादी श्रोतले बतायो ।

त्यसैले सत्ताधारीहरु नरिसाउने त्यस्तै खालको अर्को एउटा रिपोर्ट पनि राअविमा बनेको बताइएको छ । त्यो रिपोर्टमा भने कांग्रेस ७० सीटसहित पहिलो दल बन्ने ठोकुवा गरिएको छ । त्यस्तै,माओवादी ३०,एमाले २५, समाजवादी १०,जसपा ७, लोसपा र राप्रपा ३-३ सीटमा विजयी हुने उक्त रिपोर्टमा आकलन गरिएको छ ।

टिप्पणीहरू