फोहोर उठाउनेले नै फोहोर थुपारिदिएपछि

फोहोर उठाउनेले नै फोहोर थुपारिदिएपछि 

भरतपुरमा फोहोर उठाउने ठेकेदारले निकृष्ट हरकत गरेका छन् । रिस उठेका व्यवसायीको सटर–सटरमा लगेर फोहोर खन्याइदिने ठेकेदार हुन् धिपन भण्डारी । चितवनको भरतपुर महानगरपालिकाको फोहोर उठाउने जिम्मा दुईजना ठेकेदारलाई दिइएको छ । नारायणगढ बजार क्षेत्र पर्ने भरतपुरको १ देखि ५ नम्बर वडासम्मको फोहोर संकलनको ठेक्का पाएका धिपनले सरसफाइ शुल्क नबुझाउने व्यवसायीको दोकान अगाडि हिजो राति दुर्गन्धित फोहोर लगेर खन्याइदिएका हुन् ।

अन्यत्रबाट उठाएर ल्याएको कुखुराको भुत्ला, आन्द्राभुँडी, बाख्राभैंसीका हड्डी लगायत मासुजन्य र अन्य डुङ्डुङ्ती गन्हाउने फोहोर यसरी ठेकेदारले ठाउँ–ठाउँमा थुपारिदिएको बताइन्छ ।

भरतपुरलाई स्वच्छ, सफा महानगर बनाउने अभियान छ । व्यवसायको प्रकृति र त्यहाँबाट निस्कने फोहोरको आधारमा सरसफाइ शुल्क लिने गरिएको छ । महिनाको डेढ–दुईसय रुपैयाँ बुझाउन व्यापारी–व्यवसायीहरुलाई ठूलो कुरा होइन । तर पसलबाट खासै फोहोर ननिस्कने केही व्यवसायीहरुले सरसफाइ शुल्क तिर्न आनाकानी गर्दै आएको बुझिएको छ । ‘कागज र फाइजरहरु मात्र हो हाम्रो फोहोर भनेको । त्यो कागज–प्लाष्टिक बटुल्नेहरुले पसलमै आएर लैजान्छन्, बाहिर निस्कन्न । मैले सरसफाइ शुल्क किन तिर्ने ?’ भरतपुर–२, लायन्सचोकमा शान्तिटोलस्थित ब्रदर हुड बाइकर पोइन्टका सञ्चालक केशर भारतीले भने ।

उनले महिनौंदेखि सरसफाइ शुल्क तिरिरहेका थिएनन् । त्यही झोकमा अन्यत्रबाट उठाएर ल्याएको दुर्गन्धित फोहार हिजो राति उनको पसलअगाडि ठेकेदारले थुपारिदिएका थिए । फोहोरको दुर्गन्धले उनले हिजाे एकाबिहानै पसल खोल्नै पाएनन् । उनी भन्छन्, ‘यो सीधै ठेकेदारको दादागिरी हो ।’ बिहान महानगरसहित सरोकारवालाहरुसितको छलफलपछि १० बजेतिर ठेकेदारले फोहोर उठाइदिएको भारतीले बताए । ‘मैले क्षतिपूर्ति के पाउँछु त रु’ भन्दा ठेकेदारले ४/५ महिनाको सरसफाइ शुल्क हेरिदिउँला भनेको उनले सुनाए ।

जेहोस्, ठेकेदारको यस्तो नीच व्यवहारले सरसफाइ शुल्क नियमित रुपमा बुझाउने व्यवसायीलाई पनि मार परेको थियो । उक्त बाइकर पोइन्ट सँगैको सटर खाजा घरको हो । ती होटल व्यवसायी बिहान सवा छ बजे आफ्नो पसल खोल्न आउँदा वरपर फोहोर गन्हाएर बसीनसक्नु थियो । होटलमा काम गर्ने एउटी युवती त दुर्गन्धले टाउको दुखेर घरै गइन् ।

खाजा घरका सञ्चालक हरि बोहराले भने, ‘मलाई पनि मार पर्यो । बिहान खाजा खान आएका ग्राहकहरु पनि दुर्गन्धले फर्किएर गए । साढे १० बजेतिर उनी भन्दै थिए, ‘अहिलेसम्म ८/९ सयको व्यापार भइसक्थ्यो । आज १०० रुपैयाँ पनि भएको छैन ।’ आफूले नियमित रुपमा सरसफाइ शुल्क बापत मासिक २५० रुपैयाँ बुझाउने गरेको बोहराले बताए । उनी भन्छन्, ‘यो फोहोर उठाउने ठेकेदारको घटिया व्यवहार हो । दीर्घकालीन सोच होइन । कसैले सरसफाइ शुल्क तिर्नुभएन भने छलफल गरेर, पसलको दर्ता–नवीकरण रोकेर वा अरु कुनै उपायद्वारा पनि त समस्याको समाधान गर्न सकिन्थ्यो होला !’

ती ठेकेदारले अस्ति त्यहीँ नजिकै अर्को गल्लीमा पनि बिजुली पसल अगाडि त्यसरी नै फोहोरको डङ्गुर थुपारिदिएका थिए । त्यहाँ पनि सँगैको सटरमा होटल छ । सुजाता खाजा घरकी सञ्चालिका सीता थारुले पनि ठेकेदारले बिजुली पसल अगाडि थुपारेको फोहोरको दुर्गन्धले आफ्नो होटलमा खान आउने थुप्रै ग्राहक फर्किंदा मार परेको गुनासो गरिन् । बताइएअनुसार उनले पनि फोहोरको पैसा सधैं तिर्दै आएकी छिन् । त्यैपनि ठेकेदारले पहिले पैसा बुझेको रसिदमात्रै उनलाई दिँदै आएको थियो । आफूले झगडा गरेर सरसफाइ शुल्क कार्ड मागेपछि बल्ल दिएको उनले देखाइन् । पैसा बुझाएपनि फोहोर उठाउनेहरु मनलाग्दी रुपमा २–३ हप्तामा बल्ल एकचोटि फोहोर उठाउन आउने र पैसा पनि दुई–चार महिनापछि एकैचोटि आएर माग्ने गरेको बुझिन्छ ।

अधिकारी बिजुली पसल एण्ड इलेक्ट्रिक वर्कशपकी निर्मला इटानीले आफू सुत्केरी भएर तीन महिना पसल बन्द गर्दाको पैसा समेत मागेपछि आफूले सरसफाइ शुल्क नतिरेको बताइन् । ‘मेरो पसलमा फोहोर नै हुँदैन’, उनले भनिन्, ‘हुने भनेको अलिअलि प्लाष्टिक हो । त्यो खातेहरुले पसलमै आएर लैजान्छन् ।’

त्यहीँवर उकालोनिर कुखुराको मासु पसल अगाडि थुपारिदिएको फोहोर त ठेकेदारले झण्डै ११ बज्दासम्म उठाइरहेको थिएन । ठेकेदारको यस्तो हरकतले वरपरका व्यवसायी र बासिन्दालाई त मर्का पर्यो नै । बाटो हिँड्ने बटुवाहरु पनि नाकमुख छोपेर मुन्टो बटार्दै हिँड्न विवश भए ।

यसरी ठेकेदारले फोहोर थुपारिदिएपछि पोखरा बसपार्कतिरका एकजना व्यवसायी आज बिहान महानगरमै पुगेका थिए । बताइएअनुसार ती व्यवसायीको घर र पसल नजिक–नजिकै छ । पसलको फोहोर उनले घरमै लगेर फाल्छु र घरको मात्रै सरसफाइ शुल्क तिर्छु भन्दा ठेकेदारले नमानेको बताइन्छ ।

भरतपुर महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखा प्रमुख विराट घिमिरेले पैसा दिएनन् भनेर व्यवसायीको पसल अगाडि फोहोर थुपार्ने ठेकेदारको तरिका ठिक नभएको बताए । व्यवसायीले सरसफाइ शुल्क नतिरेको विषयमा ठेकेदारले महानगर र वडामा केही जानकारी पनि नगराएको उनको भनाइ छ । त्यसो त ठेकेदारको पनि आफ्नै समस्या रहेको बताउँदै उनले भने, ‘महानगरले छुट्टै पैसा दिँदैन । पटक–पटक शुल्क तिर्न आग्रह गर्दा पनि नतिर्नेहरुलाई फोहोर हुँदा कस्तो हुन्छ भनी बुझाउन ठेकेदारले त्यसो गरेको देखिन्छ ।’ उनी भन्छन्, ‘त्यसरी फोहोर फाल्ने त बेवकुफ भए भए । तर घटना किन भयो रु एकजनाले गर्दा अरु छिमेकीले पनि दुःख पाए । सबै नागरिकले बुझ्नुपर्छ कि आफ्नो जिम्मेवारी के हो ?’

टिप्पणीहरू