त्राहि–त्राहि भएर सुत्ने कि ढुक्कसँग निदाउने ?

त्राहि–त्राहि भएर सुत्ने कि ढुक्कसँग निदाउने ?

के दिन, के रात ? के घाम, के पानी ? देश र जनताको सेवा–सुरक्षामा हरप्रहर खटिन्छन् राष्ट्रसेवक प्रहरी । आफ्नो श्रीमान्–श्रीमतीको अँगालोमा बाँधिएर, लालाबालालाई काखमा च्यापेर चकमन्न अँधेरो रातमा आमनागरिक मस्त निदाइरहँदा तिनैको पहरामा घर–परिवारभन्दा टाढा लाठी र बन्दुक च्यापेर ड्युटीमा तैनाथ हुन्छन् प्रहरी ।

भनेको बेला, चाडबाडमा समेत छुट्टी पाउँदैनन् । तैपनि कुनै विरोध होस् या राजनीतिक आन्दोलनमा नागरिकबाटै ढुंगामुढाको निशाना बन्छन् उनीहरु । मुलुकमा द्वन्द्व हुँदा टाउकोमा कात्रो बाँधेर लडाइँमा जाने यिनै प्रहरी हुन् । देश र जनताको निम्ति कर्तव्यपरायणको सिलसिलामा थुप्रै प्रहरीले मृत्युवरण गर्नुपरेको छ, कैयौं घाइते भएका छन् ।

१० वर्षे सशस्त्र द्वन्द्वमा १५ सयभन्दा बढी जनपद प्रहरीको ज्यानको बलिदानी चढेको बताउँदै अमर प्रहरी परिवारकी अध्यक्ष सरस्वती पौडेल भन्छिन्, ‘देशमा सुशासन राम्रो नहुँदा यत्रा प्रहरी गुमायौं ।’ राज्य बचाउन प्राण उत्सर्ग गर्ने अमर प्रहरी परिवारको पीडा राज्यले बुझ्न नसकेको उनले बताइन् । भनिन्, ‘थोरै पेन्सन, त्यसमाथि पाउनुपर्ने एकल महिला भत्ता समेत कतिपयले पाएका छैनन् ।’ भरतपुरमा मेयर रेनु दाहालले अमर प्रहरी परिवारलाई मासिक दुई हजार रुपैयाँ दिने व्यवस्था गरेजस्तै अन्य पालिकाहरुबाट पनि सहयोग हुनुपर्ने भनाइ उनले मेयरहरुकै अगाडि राखिन् ।

आज ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, ‘थोरै सम्मान गर्दा राज्यलाई केही घाटा हुँदैन ।’ अमर प्रहरीका अबला महिला र नाबालकलाई हरेक क्षेत्रमा कोटा दिइनुपर्ने उनी बताउँछिन् ।

कार्यक्रममा प्रहरी दिवसको शुभकामना दिँदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘सुरक्षा हाम्रो आधारभूत कुरा हो । त्यसको प्रत्याभूत दिने नेपाल प्रहरी हो । आन्तरिक सुरक्षाको तपार्इं (प्रहरीहरु) मेरुदण्ड हो ।’ नागरिकका घर–घरदेखि देशको सीमा–सीमाको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको भूमिका जहिले पनि अग्रणी रहेको तर परिवर्तित समयमा जिम्मेवारीहरु पनि बढ्दै गर्दा स्रोत–साधनको अभावकै बीच प्रहरी कर्मचारीले काम गरिरहनुपरेको उनले बताए । स्थानीय सरकारले पनि प्रहरीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गरिदिनुपर्ने भन्दै प्रजिअ तामाङले भने, ‘त्राहि–त्राहि भएर सुत्ने कि ढुक्कसँग निदाउने ?’ हिजो रगत बगाएका प्रहरी परिवारका लागि राज्यले केही सोच्नुपर्ने उनले पनि बताए । भने, ‘राज्यकै लागि रगत बगाएको हो ।’

प्रारम्भमा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारिकामा पुष्पगुच्छा अर्पण गरेर सञ्चालित कार्यक्रममा अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कृत गरेर सम्मान गरियो । पूर्वप्रहरी कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।प्रहरी दिवसलाई पूर्वप्रहरी र बहालवाला प्रहरीहरुको मिलनको दिनका रुपमा समेत लिइन्छ । नेपाल पूर्वप्रहरी संगठन चितवनका अध्यक्ष उद्धव श्रेष्ठले बहालवाला बर्दीका प्रहरी र पूर्वप्रहरी विनाबर्दीका प्रहरी भएको बताउँदै भने, ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणमा बहालवाला प्रहरीलाई हामी सधैं सहयोगका लागि तयार छौं ।’ आम नागरिकलाई उनी भन्छन्, ‘प्रहरी जादुको छडी होइन, अपराधीको निधारमा लेखिएको हुँदैन । कुनै घटना घटेमा छिटो र सही सूचना दिएर अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गरिदिनुहोस् ¤’

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डित अपराध अनुसन्धान जटिल विषय भएको बताउँदै छिटो नतिजा पाउने चाहनाले अनुसन्धानमा बाधा पुग्ने हुँदा धैर्य गर्न जनसाधारणलाई आग्रह गर्छन् । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले प्रहरी दिवसलाई कार्यप्रेरणा दिवसको रुपमा समेत आत्मसात् गरी प्रहरी कर्मचारीहरुले अझै प्रभावकारी, विश्वसनीय र व्यवसायिकताका साथ जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।

टिप्पणीहरू