खोटाङमा करेन्ट लागेर एक जनाले ज्यान गुमाए

खोटाङमा करेन्ट लागेर एक जनाले ज्यान गुमाए

खोटाङमा करेन्ट लागेर एक जना कर्मचारीको ज्यान गएको छ। नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका दैनिक ज्यालादारी प्राविधिक ४० वर्षीय नवीन्द्र राईको हिजो साँझ मृत्यु भएको हो ।

राई आठ/नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिकको रूपमा प्राधिकरण दिक्तेल वितरण केन्द्रमा काम गर्दै आएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राईको करेन्ट लागेर मृत्यु भएको हो ।

चार जनाको टोली सोही नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत् मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्ने क्रममा भर्‍याङले ११ केभी प्रसारण लाइनको तार छुन पुग्दा राईलाई करेन्ट लागेको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्यत्र लैजाने तयारी हुँदाहुँदै राईलाई सो अस्पतालमै मृत घोषणा गरिएको थियो ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

टिप्पणीहरू