काङ्ग्रेस एक,४ दल दुई-एमालेतिर प्रतिस्पर्धाको सुइ

काङ्ग्रेस एक,४ दल दुई-एमालेतिर प्रतिस्पर्धाको सुइ

सत्तारुढ पाँचदलीय गठबन्धनभित्र नेपाली काँग्रेसबाहेकका चार दलको छुट्टै मोर्चा निर्माणको लामो प्रयास निर्णायक बिन्दुमा पुगेको छ । कांग्रेससहितको गठबन्धन कायमै राखेर वाम-समाजवादी मोर्चा बनाउन माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच मोटामोटी सहमति जुटेको केही नेताले दावी गरेका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पाँच दलबीचको सहकार्यलाई थप बलियो बनाउँदै गठवन्धनभित्र बिचार मिल्नेहरुको छुट्टै मोर्चा गठन हुने बताउनुभयो । ‘वैचारिक निकटताका हिसाबले कांग्रेसबाहेकको छुट्टै शक्ति बन्छ । त्यस दिशामा गृहकार्य भैरहेको छ’,उहाँले भन्नुभयो ।

यदि मोर्चा गठनले सार्थकता पाए हालको पाँचदलीय गठबन्धन काँग्रेस र वाम-समाजवादी मोर्चाका रुपमा दुई दलीय हुनेछ । हुन त,सत्ता गठबन्धनमा जसपाबाट निस्केर नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई,नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम,महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत मिसिएर आठदलीय गठबन्धन हुने चर्चासमेत चलिरहेको छ । तर,तुलाधरले भने मूलत: कांग्रेस र वाम-समाजवादी मोर्चाका रुपमा दुई वटा शक्ति गठबन्धनमा रहने बताउनुभयो ।

नेपाली काँग्रेसले एकलौटी गर्ने त्रासमा रहेका चार दलका नेताहरु संयुक्त मोर्चा बनाउन सहमत भए पनि चुनावमा भने आ-आफ्नै चिन्ह लिएर जाने तयारीमा छन् ।

सिट भागबण्डामा नेपाली काँग्रेसले एकलौटी गर्ने त्रासमा रहेका चार दलका नेताहरु संयुक्त मोर्चा बनाउन सहमत भए पनि चुनावमा भने आ-आफ्नै चिन्ह लिएर जाने तयारीमा छन् । राजनीतिक दलसम्बन्धी ऐनमा दुई वा सोभन्दा बढी दलहरुले एकल चिन्ह लिन पाउने व्यवस्था छ । तर, एउटै चिन्हमा चुनाव लड्दा साझा संसदीय दल गठन गर्नुपर्ने भएकाले दलहरु यो अभ्यासमा जान अनिच्छुक देखिएका हुन् । उपमहासचिव तुलाधरले पनि साझा चिन्ह लिएर जान प्राविधिक कठिनाई देखिएको बताउनुभयो ।

‘मोर्चा गठन हुने कुरामा कुनै समस्या छैन तर एउटै चिन्ह लिन भने केही प्राविधिक समस्या देखिएको छ । त्यसकारण आ-आफ्नै चिन्हमा चुनाव लड्छौं’,उहाँले अगाडि भन्नुभयो, साझा घोषणापत्र आउँछ, चुनावपछिको शक्ति सन्तुलन मिलाउने विषयमा कांग्रेससहित अहिले नै सहमति हुन्छ ।’

दलसम्बन्धी ऐनले विचार मिल्ने पार्टीहरुलाई एकल चिन्हमा लड्न सुविधा दिएपनि नेपालमा छिटपुट बाहेक अभ्यासमा आएको छैन । विचार राजनीतिभन्दा संसद्को अंकगणितले महत्व पाउने गरेकाले यो विषय दलहरुको प्राथमिकतामा नपरेको हो । माओवादी केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्ग भने वैचारिक निकटताका हिसाबले हुने दलहरुको सहकार्यलाई कुनै एउटा निर्वाचन जित्ने उध्देश्यमा मात्रै सीमित बनाउन नहुनेमा जोड दिनुहुन्छ ।

बिचार मिल्नेहरू दीर्घकालीन सोचका साथ संयुक्त मोर्चा बनाएर जानुपर्ने उहाँको भनाइ छ । ‘पाँच दलमा काँग्रेसबाहेक वैचारिक निकटताका आधारमा चार दलबीच छलफल हुनु स्वभाविक हो । तर,यो चुनाव जित्नका लागि मात्र हुनु हुँदैन’, गुरुङले भन्नुभयो ।

विचार मिल्ने भनेर छुट्टै मोर्चा गठन गर्न सहमत भैसकेपछि साझा चिन्ह लिएर निर्वाचनमा जान किन अप्ठेरो ? दलीय अपनत्व कसको हुने, कुन दलको चिन्ह लिएर जानेजस्ता प्राविधिक विषय नमिलेको र दल दर्ताको समय आइसकेकाले यसपटक साझा चिन्हमा चुनाव लड्ने अवस्था टरेको नेताहरु बताउँछन् ।

दलीय अपनत्व कसको हुने, कुन दलको चिन्ह लिएर जानेजस्ता प्राविधिक विषय नमिलेको र दल दर्ताको समय आइसकेकाले यसपटक साझा चिन्हमा चुनाव लड्ने अवस्था टरेको नेताहरु बताउँछन् ।

मोर्चा गठनको प्रयासलाई नेताहरुले निर्वाचन केन्द्रितमात्रै होइन भनेर दावी गरे पनि मूलत: सिट भागबण्डामा काँग्रेसलाई हावी हुनबाट छेक्नु नै यसको उद्धेश्य देखिन्छ । काँग्रेसले एक सय सीटमा दावेदारी प्रस्तुत गर्ने तयारीका साथ आन्तरिक गृहकार्य थालेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरु चार दलको मोर्चा बनाएर ५० प्रतिशत दावी गर्ने तयारी गरेका हुन् । सिट बाँडफाँटका लागि मोडालिटी बनाउन गठित कार्यदलमा ५० प्रतिशतको अडान राख्ने उनीहरुको तयारी छ ।

‘कांग्रेसले सबै आफूलाई राख्नेगरी प्रस्ताव ल्याउँछ भन्ने लाग्दैन । अर्को कुरा कुनै एउटा पार्टीलाई बहुमत पुर्याउन अरु चार दल सती जाने कुरा गठबन्धनको मर्म होइन र कांग्रेस त्यो दिशामा जान्छ भनेर अहिले नै अनुमान नगरौँ’, वामतर्फबाट कार्यदलका एक सदस्यले भने, ‘हामी लतारिएर काँग्रेसमा गएका हैनौँ र कांग्रेस यता आएको पनि होइन । साझा मुद्धामा एक ठाउँ पुगेका हौँ र त्यहि हिसाबले सिट भागबण्डा मिल्छ भन्ने विश्वास छ ।’

गठबन्धन टुट्दा सबैभन्दा ठूलो घाटा कांग्रेसलाई नै हुने माओवादी केन्द्रका अर्का एक नेताले दावी गरे । भन्छन् ‘अहिले पनि गठबन्धनबाट सबैभन्दा धेरै लाभ कांग्रेसले नै लिएको छ । प्रत्यक्षमा २३ सिटमात्रै जितेर पनि प्रधानमन्त्रीसहित केन्द्रमा शक्तिशाली मन्त्रालय कांग्रेसकै भागमा छ । सातै प्रदेशमा प्रतिपक्षमा रहेको काँग्रेस अहिले दुई प्रदेशमा मुख्यमन्त्रीसहित सबैतिर सत्तापक्ष भएको छ । पत्रकार महासंघदेखि इन्जिनियरिङ,सन्चारिका समूह र बार एशोसिएसनको चुनाव हुँदै स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा कांग्रेस आफ्नोमात्रै शक्तिमा सफल भएको होइन । यो कुरा कांग्रेसका नेताहरुले बुझ्नु भएको छ ।’

तर, सिट भागबण्डा त्यति सजिलै मिल्ने स्थिति भने देखिदैन । भनिन्छ सय सिटमा दावी गरेर ९० नछोड्ने कांग्रेसको बटमलाइन हो । अरु चार दल ५०-५० प्रतिशतको अडान नछोड्नेमा छन् । त्यो अवस्थामा के हुन्छ ? स्थानीय तहमा जस्तै आंशिक गठबन्धन हुन्छ ? ‘राजनीतिमा सबै सम्भावना खुला रहन्छ। त्यसैले त्यो स्थितिमा जे पनि हुनसक्छ’, एकीकृत समाजवादीका उपमहासचिव तुलाधर भन्नुहुन्छ ।

यसको अर्थ चार दल एक्लै चुनावमा जाने हो ? भन्ने प्रश्नमा उहाँले बृहत वाम तालमेलको सम्भावना पनि अन्त्य भैनसकेको दावी गर्नुभयो । ‘अहिले धेरै कल्पनाका कुरा नगरौँ, तर राजनीतिमा सबै विकल्प खुला रहन्छ । एमालेसँग मिल्नै हुँदैन भन्ने पनि छैन ।’

टिप्पणीहरू