निजगढ विमानस्थल निर्माण हुन नदिने सर्वोच्चको पक्षमा को,कति ?

निजगढ विमानस्थल निर्माण हुन नदिने सर्वोच्चको पक्षमा को,कति ?

बाराको निजगढ विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले परमादेश जारी गरेपछि पक्ष र विपक्षमा स्वरहरु सुनिन थालेका छन् । हिजोदेखि सर्वोच्चको पक्षमा भन्दा विपक्षमा ब्यापक जनमत देखिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठकमा बोल्दै निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको धारणा राख्नुभएको छ । उहाँले काठमाडौं विमानस्थलको विकल्पमा बनाउन लागिएको उक्त विमानस्थलको बारेमा आएको आदेशबाट काठमाडौं र तराई जोड्ने द्रुत मार्ग र अन्य विकासमा समेत असर पर्ने बताउनुभएको हो ।

पूर्व खेलकुद मन्त्री एवम् एमाले नेता पुरुषोत्तम पौडेललगायत स्थानीयवासीले सर्वोच्चले त्रुटीपूर्ण निर्णय गरेर विकासमा अवरोध पुर्याएको भन्दै विरोध गरेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रोक लगाउने गरी आएको भनिएको सर्वोच्च अदालतको फैसलाले मुलुकको विकासमा दूरगामी असर पार्ने टिप्पणी गर्नुभएको छ ।

आज बिहान काठमाडौंको माइतीघर मण्डलामा निजगढ विकास पक्षधरहरूले सर्वाेच्च अदालतको निर्णयविरूध्द विरोध कार्यक्रम आयोजना गरेका छन् । स्वतन्त्र नागरिक निजगढवासीहरुको तर्फबाट विष्णु खड्काको नेतृत्वमा झण्डै दुई दर्जनले विरोध गरेका हुन् ।

उनीहरुले शान्तिपूर्ण रुपमा प्लेकार्ड प्रदर्शन गरेका थिए । भोलि २ बजे सोही ठाउँमा भेला भएर नयाँ बानेश्वरसम्म जुलुस निकालिने बताइएको छ । उनीहरुले सर्वोच्च अदालतले सीमा नाघेर देश विकासमा भाँजो हालेको आरोप लगाएका छन् ।

यता सर्वोच्च अदालतको पक्षमा पनि आज बिहान राजधानीमा र्याली निकालिएको छ । बिहान जावलाखेलबाट स्वतन्त्र नागरिक प्रमदा साहको नेतृत्वमा अदालतको फैसलाको स्वागत गर्दै त्यसका सहयोगीलाई धन्यवाद दिन र्याली निकालिएको हो । र्याली माइतीघर पुगेर विसर्जन भएको थियो ।

टिप्पणीहरू