पप्पुका बाबु–छोरालाई सवा ७ करोड तिराउने विशेष अदालतको फैसला

पप्पुका बाबु–छोरालाई सवा ७ करोड तिराउने विशेष अदालतको फैसला

भ्रष्टाचारको अभियोग लागेपछि निलम्बनमा परेका सांसद हरिनारायण रौनियारविरुद्धको मुद्दामा विशेष अदालतले साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका मालिक राैनियारसहित १२ जनालाई विपक्षी बनाएर दायर गरेको मुद्दामा साढे तीन वर्षपछि विशेष अदालतले यस्तो फैसला सुनाएको हो ।

अख्तियारले २०७५ साल असोजमा रौनियारसहित उनका छोरा सुमित, सडक डिभिजन कार्यालय, नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, निमित्त डिभिजन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार छ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको भए पनि विशेष अदालतले तीन करोड ६२ लाख २९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले उक्त प्रकरणमा जोडिएकामध्ये आठ जनालाई दोषी र चारजनालाई सफाइ दिएको छ । निलम्बित सांसद रौनियार र उनका छोरा सुमितलाई जनही तीन करोड ६२ लाख २९ हजार रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतले जनाएको छ ।

सोही प्रकरणमा जोडिएका गोविन्द गैरे, दीपेन्द्रबहादुर विष्ट, प्रेमप्रसाद चुवाई र कृष्णदेव यादवले सफाई पाएका छन् । राैनियार तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका हुन् ।

टिप्पणीहरू