‘समयमै न्याय दिन सकेमात्र अदालतप्रति आस्था बढ्छ‘

‘समयमै न्याय दिन सकेमात्र अदालतप्रति आस्था बढ्छ‘

कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले पीडितहरुले समयमै न्याय पाउन सकेमात्रै अदालतप्रतिको विश्वास बढ्ने बताउनुभएको छ । आज न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।

पीडितको मुद्दा दर्ता भएसँगै त्यसले बाँकी प्रक्रिया पाउन कति समय लाग्छ र फैसला कहिलेसम्म हुन्छ भन्ने विषयको अनुमान गर्न सकिने अवस्था बन्नुपर्नेमा मन्त्री बडूले जोड दिनुभयो ।

भन्नुभयो, ‘अदालतमा जाने,न्याय माग्नेले म यतिबेला न्याय पाइहाल्छु भन्ने अवस्था बन्यो भने त न्याय पाउने कुराको अर्थ रह्यो । र त्यो ठीक समयमा भयो भने अदालतप्रति थप विश्वास,थप जनआस्था बढ्छ । ‘

उहाँले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समयअवधिभित्र न्याय पाइसक्ने कानुनी व्यवस्था हुनुपर्ने दोहोर्याउनु भयो । पीडितलाई छिट्टै न्याय दिन विद्यमान कानुन संशोधन गर्नुपर्ने निष्कर्ष सरकारको रहेको पनि बडूले उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउनुपर्ने बताउँदै उहाँले कतिपय विषयमा उच्च अदालतले नै अन्तिम फैसला गर्न सक्ने अधिकार दिएको भएपनि सो अधिकारको उपयोग हुन नसकेको टिप्पणी गर्नुभयो ।

टिप्पणीहरू