जुँगा नखौरिएका अन्तरेले सरकार ढालिदिएको ओलीको दाबी

जुँगा नखौरिएका अन्तरेले सरकार ढालिदिएको ओलीको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको बर्को ओढेका अन्तरे- जन्तरेले आफ्नो सरकारलाई ढालेको आरोप लगाउनुभएको छ । आज इलाममा आयोजित पार्टीको जनसभामा बोल्दै उहाँले एमालेको काम देखिएर कम्युनिष्टको बर्को ओढेकाले सरकार ढालेको आरोप लगाउनु भएको हो ।

उहाँले आफ्नो पार्टीबाट सांसद र मेयर पदमा निर्वाचित भएकाहरुले अलग हुँदा पनि भत्ता खाएर बसिरहन नमिल्ने बताउनुभयो । एमाले कार्यकर्ताले भोट हालेर जितेका उनीहरुले राजीनामा दिनुपर्नेमा उहाँको जोड छ ।

नेकपा एकीकृत समाजवादीका नेताहरुलाई संकेत गर्दै उहाँले एमालेले टाँसिदिएका जुँगासमेत नखौरिएर पार्टी परित्याग गरेको आरोप लगाउनुभयो ।

भन्नुभयो,‘एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाएर,पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइरहेको सांसदको फुली,मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त,कति साह्रो लाज नभएको ? कम से कम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि !‘

अगामी स्थानीय तह निर्वाचनबाट एमालेको गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने नेताहरुलाई जनताले ठीक पार्ने उहाँले बताउनुभयो । भन्नुभयो, यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’

टिप्पणीहरू