केपीले उद्घाटन गरेका अस्पताल अलपत्र

केपीले उद्घाटन गरेका अस्पताल अलपत्र

-आशिका लम्साल

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि २०७७ मंसिरमा एकैसाथ उद्घाटन गर्नुभएको अस्पताल अलपत्र परेका छन् । उद्घाटन गरेको एक वर्ष बितिसक्दा प्रदेश १ का अधिकांश ठाउँमा निर्माण थालनीसमेत नभएकाले घोषणामै सीमित हुने अवस्था बनेको एक अनुगमनले देखाएको हो ।

प्रधानमन्त्रीका रुपमा ओलीले एकैसाथ ३ सय ९६ स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको उद्घाटन गर्नुभएको थियो । तर, प्रदेश १ मा अहिलेसम्म एक स्थानमा बाहेक अन्यत्र काम अगाडि बढ्न सकेको छैन । उद्घाटनको एक वर्ष बितिसक्दा एक स्थानमा बाहेक कतै पनि अस्पताल निर्माण कार्य अघि बढ्न नसकेको इन्सेक प्रदेश १ कार्यालय विराटनगरको अनुगमनले देखाएको हो ।

इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रमुख लेखा अधिकृत पुण्य अधिकारीका अनुसार ओखलढुंङ्गाको खिजिदुम्बा गाउँपालिकामा एउटा अस्पताल निर्माण सम्पन्न हुनुबाहेक अन्त काम आशातित रुपले अघि बढेको छैन । इन्सेकले प्रदेश १ का जिल्ला प्रतिनिधिमार्फत् आधारभूत अस्पतालको अवस्था अनुगमन गरेर गत कात्तिकमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

अधिकृत अधिकारीले भने, ‘अनुमगन गर्दा अस्पतालहरु भर्खर निर्माण सुरु हुन थालेको तर धेरैतिर अलपत्र अवस्थामा रहेको पाइयो । कतै सम्झौता त कतै योजना नै फिर्ता गएको पनि भेटियो ।’

अनुगमन प्रतिवेदनअनुसार प्रदेश १ मा केही पालिकाले भर्खर निर्माण थाले पनि बजेट अभावले तीब्र गतिले काम अगाडि बढाउन सकेका छैनन् । केहीले जमिन सुनिश्चित गर्न नसक्दा योजना नै फिर्ता पठाएका छन् ।

मोरङको केराबारी गाउँपालिकामा अस्पतालको पिलर उठाउन डण्डी मात्र उठाइएकोे छ । ग्रामथान गाउँपालिकामा टेण्डर नै भएको छैन । रतुवामाई रसुन्दरहरैँचा नगरपालिकाले जग्गा सुनिश्चित गर्न नसक्दा योजना नै फिर्ता पठाएका छन् ।

झापामा १२, मोरङमा ९, पाँचथर, इलाम, संखुवासभा र ओखलढुंगामा सात वटा अस्पातल उद्घाटन भएका थिए । त्यस्तै, भोजपुर र खोटाङमा छ, तेह्रथुम, सोलखुम्बु र सुनसरीमा पाँच तथा धनकुटामा चार वटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले स्विकृति दिएको थियो । आवश्यक तयारी र बजेट सुनिश्चित बिना राजनीतिक प्रचारबाजीका लागि हतारमा अस्पताल उद्घाटन गरिएको भन्दै त्यतिबेलै आलोचना भएको थियो ।

टिप्पणीहरू