एमसीसी : एक अमलेट

एमसीसी : एक अमलेट

नेपाली खानाका परिकारमध्ये अमलेट पनि बहुत प्रचलित छ । हतारमा, अरू केही नभएको बेला आपतमा, खुशीमा, दुःखमा झ्वाट्ट पकाएर खान मिल्ने परिकार अमलेट नै हो । त्यसैले पनि अमलेट नेपालीमाझ प्रचलित छ ।

अब जस्तो कि सबैलाई थाहा छ, अमलेट अण्डाबाट बनाइन्छ । अमलेट बनाउने हो भने अण्डा फुटाउनै पर्छ । अण्डा नफुटाइकन अमलेट बनाउन सकिँदैन । तर, नेपालमा हाल त्यस्ता केही कुक जन्मिएका छन् जसले अण्डा नफुटाइकनै पनि अमलेट बनाउन सक्छन् ।

उनीहरूले हालै मात्र आफ्नो कलाको सफलतापूर्वक प्रदर्शन पनि गरेका छन् । उनीहरूले अण्डा नफुटाइकनै बनाएको अमलेटको नाम हो एमसीसी । अर्थात् एमसीसी भनेको एउटा यस्तो परिकार हो अण्डा नफुटाइकनै बनाइएको ।

नेपालको संसद् भवनमा यो अमलेट बनाउने कुरा चल्दा धेरैलाई लागेको थियो कि अब ‘अण्डा’हरू धमाधम फुट्न थाल्नेछन् । ‘अण्डा’ फुटेको हेर्न धेरैजनाको लाइनसमेत लागिसकेको थियो । तर, अन्तिममा आश्चर्य भयो ।

संसद्मा केही यस्ता कुक उपस्थित भए जसले अण्डा नफुटाइकनै अमलेट बनाइदिए । यता, कुनै पनि अण्डा फुटाइएन, उता अमलेट तयार भइसक्यो । गज्जब !

अब हेर्न बाँकी छ, अण्डा नफुटाइकन बनाइएको यो अमलेटको स्वादचाहिँ कस्तो हुने हो !

टिप्पणीहरू