​हृदय भए हात हजार, मन भए धन लाख

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । टुप्पाबाट पलाएकाहरूको बेग्लै कुरा । संघर्षको भट्टीबाट खारिएर दुःखको आरनमा अर्चापिएकाहरूका लागि प्रिय हुन्छ आफ्नो विगत । हो, यही विगतका कारण जिन्दगीको उचाइबाट युटर्न भएका पात्र हुन् उनी अर्थात् सोनाम घ्याल्चे घले (लामा धिन्दुप) । दयनीय पृष्ठभूमिका पात्र । बिहान खाए बेलुका के खाऊँ को स्थिति । गुजारे बालापन । कठिनाइसँगै खेले पौंठेजोरी । कहिले मकै, कहिले भोकै यस्तै थियो– बालापन । बुबाआमाको आयस्रोत केही थिएन । त्यो समय जसको गोठमा धेरै भेडाबाख्रा हुन्छन् त्यही धनीमा दहरिन्थ्यो । अरूको निमेख गरेर छाक टार्थे बुबाआमा । तर, खाने मुख धेरै । काम गर्ने हात थोरै । दाजुभाइ नै सात जना । माइला सन्तान हुन् उनी । भनिन्थ्यो, जेठा बाबुतिर, कान्छो आमातिर, बेचिनेमा माइलो पर्ने भयो बेचिदिए आखिर ! रीत यस्तै थियो, चलिआएको परम्परा । तोड्न कहाँ सजिलो थियो र । ४१ वर्षअघि धर्तीमा पाइला टेके । मनाङको नार्मामा पिता सोनाम छेसाङ घले र माता निमा डोल्माको कोखबाट । १० वर्ष प्रवेश नहुँदै भित्रिए राजधानी खाल्डोमा । 

 माइलो सन्तान अनिवार्य गुम्बामा बस्नुपथ्र्याे । त्यही कारण पाइला राजधानीतिर मोडिएको । लामा अध्ययन गर्न थाले । हुने बिरुवाको चिल्लो पात भनेझैं उनको मिहिनेत र इमान्दारीका कारण गुरुहरू प्रभावित बन्न पुगे । सोही गुम्बाको गुरु हुँदै प्राचार्यसम्म बने । तीन वर्ष प्राचार्य बनेर सेवा गरे । भन्छन् नि एक सोचले मान्छेको जीवन बदलिन्छ । एक दिन आराम गरिरहेको समय । फर्किए फ्ल्यासब्याकमा । धुमिल हुन लागेको आफ्नै विगतले चिमोट्यो नराम्रोसँग । दुई छाक गतिलोसँग खान, लाउन र अध्ययन गर्न नपाएको पलले मन कँँुडियो । आफ्ना लागि त गल्लीका कुकुर पनि बाँचेका छन् । तिनले पनि पेट पाल्छन् । यहाँभन्दा माथि उठेर बाँच्नु छ अरूका लागि । खुशीका रंग भर्नु छ अरूको मुहारमा ।

यही सोच र अठोटले एक बारको जीवन शिक्षा–दीक्षाको अवसरबाट वञ्चित बालबच्चाको हितमा लगाउने अठोट गरे । तर, अगाडि अजंगको पहाड बनेर उभियो आर्थिक अभाव । भन्छन् नि ! धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन । यद्यपि, जहाँ इच्छा त्यहीँँ उपाय भनेझैं मनको कुनामा दृढ इच्छाशक्ति भए असफलतालाई पनि सफलतामा रूपान्तरण गर्न सकिन्छ । खाई नखाई बचाएको पसिनाको कमाइ थियो ६ लाख । सोही रकम खर्चेर शिक्षा दीक्षा नपाएका बालबच्चाको खोजी गरे । विशेषतः माथिल्लो तथा तल्लो भेग मनाङका विभिन्न होटलमा काम गर्नेका छोराछोरी खोज्न शुरु गरे । त्यहाँबाट हिमाली जिल्ला रसुवा, गोर्खा, रुकुम, रोल्पा, सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, लमजुङ, इलाम, भोजपुर, तेह्रथुमजस्ता २२ वटा दुर्गम भेगमा पुगे । त्यहाँका गरिब, अनाथ, बेसहारा बच्चा पहिचान गरी तिनलाई भेला पारे । र, शिक्षा–दीक्षा दिन थाले । ६ देखि होमिएका हुन् यो अभियानमा । तर, बैंकमा भएको पैसा लुसुलुसु निकाल्दै, खर्च गर्दै गर्दा कतिन्जेल टिकोस् !

अनाथ, बेसहारा र गरिबीकै कारण शिक्षादीक्षाबाट वञ्चित सयभन्दा बढी बालबालिका जम्मा गरेर तिनको लालनपालन, भरणपोषणदेखि शिक्षादीक्षासम्म गर्दै गए । पैसा सकियो । ती बच्चालाई फर्काउन पनि भएन । जिम्मेवारी लिइसकेका थिए । नदुखाउनुपर्ने टाउको दुखाइसकेका थिए । त्यही कारण ऋण खोज्न थाले । पार लागेन । राजधानी शहर यति महँगो भइसकेको छ, जहाँ ४ जनाको परिवार पाल्न त धौधौ र कष्टपूर्ण छ । महिनामै लाखौं स्वाहा हुन्छ । भाग्ने कुरा भएन । आर्थिक अभाव भयो भनेर रुने–कराउने विषय पनि होइन । एउटै विकल्प थियो । आफ्नो जग्गा धरौटीमा राखेर भए पनि ऋण लिने । यसरी १५ लाख निकाले । यस्तो लाग्छ शहरका अक्सर सम्बन्ध पैसासँगै शुरु हुन्छ र पैसाबाटै अन्त्य । तिर्खा र पानीजस्तो सम्बन्ध राख्नेहरूको भीड छ यहाँ । धेरै पटक रासन पसलबाट सामान किन्न खोज्दा रकम अभावमा साहुको तुच्छ वचन सुनेका छन् ।

तर, उनले बुझेका छन् यहाँ भनेर ठूलो हुनुभन्दा सहेर सानो बन्नु बेस् । यी बच्चाको लालनपालन र शिक्षा दीक्षा अगाडि बढाइरहँदा धेरै पटक अभावमा जेलिए । तनावमा परे । र, दुःख बेसाए पूर्वमन्त्री टेकबहादुर गुरुङहरूसँग । उनले केही उदारता देखाए । यही मेलोमा थपिए उदार हृदयले माननीय कर्मा घलेहरू । मनाङकै स्थानीय र व्यापारी पनि दिल खोलेर सहायता गर्न थाले । भगवान् छन्÷छैनन्, थाहा छैन । तर, भन्छन् रे तँ आँट् म पु¥याउँछु । पुगिरहेकै छ । अहिले उनी स्वयं बच्चाहरूको अभिभावक बनेर तिनलाई शिक्षादीक्षा र लालनपालन गरिरहेका छन् । ५ कक्षासम्म त्यहीँ अध्ययन गर्छन् । १५ जना शिक्षक छन् । तिनका लागि तलब छुट्याउनु छँदै छ । कक्षा ६ भन्दा माथिका बच्चा नजिकैको रश्मी सेकेन्डरी स्कुल जान्छन् । उनैले लालनपालन गरिरहेकामाध्ये केहीले ८० प्रतिशतभन्दा बढी अंकभार ल्याएर एसईई पार लगाइसकेका छन् ।

महँगो शुल्क तिरेर आफ्नै अभिभावकको लालनपालनमा हुर्किएका बच्चालाई निमुखा असहाय बच्चाले टपिदिएका छन् । अहिले ४० विद्यार्थीलाई उनैले रेखदेख र पालनपोषण गरिरहेका छन् । उनको यो कर्मदेखि प्रभावित भएरै होला सो विद्यालयले शुल्कमा ३० प्रतिशतभन्दा बढी मिनाहा गरेको छ । थाहा छैन । कहाँ बिच्छाइएको छ मान्छेको जीवनमा मृत्युरूपी एम्बुस । हिँड्दा हिँँड्दा चुटिने हात्तीछाप चप्पलझैं कहाँ पुगेर चुँडिन्छ र सकिन्छ इहलीला । बाँचुञ्जेल र शरीरमा एक मुठी सास र एक थोपा रगत रहुन्जेल सामाजिक कर्ममै रमाउने प्रण गरेका छन् । पछिल्लो समय एक पोका चाउचाउ सहयोग गरे पनि सामाजिक सञ्जालमा हल्ला गर्ने र अनलाइनमा समाचार लेखाउने कथित समाजसेवीको भीड बढ्दो छ । तर, यी यस्ता व्यक्ति हुन्, जो मिडिया भनेपछि भाग्छन् ।

भन्छन् विशुद्ध सामाजिक कर्म भनेको प्रचारका लागि होइन । जिन्दगीमा सबैभन्दा धेरै खुशी त आफ्नो जिल्लामा फर्कंदा मिल्छ । ज–जसका नानीबाबुलाई गाउँबाट टिपेर शरहमा ल्याई शिक्षादीक्षा दिएका छन्, उनीहरू भगवान्झैं मान्छन् सोनामलाई । अभिभावकहरू गहभरि आँसु बनाएर भन्छन्– तपाईं हाम्रो परिवारका लागि भगवान् बनेर आउनुभयो । मेरो तर्फबाट केही सहयोग गर्न सकिन“ । उनीसँगैका सहपाठीहरू कोही पुगेका छन् अमेरिका, जापान, कोरिया त कोही हङकङ । ती फोन गर्छन् र भन्छन् के यस्ता काममा अल्झिरहेको छस् यार ? पैसा कमाउने काम गर् । जीवन भनेकै पैसा हो । समाजसेवाका आडमा यहाँ धेरैले बंगला ठड्याएको पनि देखिएको र भेटिएको छ । तर, यी आफू रित्तिएर अनि सिद्धिएरै सही गरिब र असहायलाई शिक्षादीक्षा दिइरहेका छन् । स्वयम्भूमा स्नो मञ्जुश्री स्कुल खोलेका छन् । त्यही स्कुलमा दीनदुःखीका सन्तान हुर्किरहेका छन् । आफू ऋणमै डुबेर सही, कसैको भविष्य बनाइरहेका छन् । उनको कर्मबाट प्रभावित भएरै होला बो घङ्गरले स्कुलका लागि आवश्यक जग्गा उपलब्ध गराइदिए ।

– अञ्जना सुवेदी

टिप्पणीहरू