ममाथि घोर अन्याय हुँदैछ काठमाडौं महानगरमा

ममाथि घोर अन्याय हुँदैछ काठमाडौं महानगरमा

जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०७२ सालमा महानगरपालिकामा कानुन अधिकृत बनेर सेवा प्रवेश गरेँ । लोकसेवा लडेर नाम निकाल्नु मेरो कमजोरी हो ? लोकसेवाले २ जना कानुन अधिकृतसहित ४८ जना कर्मचारी मागेको थियो । महिला र खुला कोटामा नाम निकालें । त्यसअघि औषधि व्यवस्था विभागमा केही समय काम गरेको थिएँ । लोकसेवा भिडेर, नाम निकालेर ८ वर्षदेखि महानगरपालिकामा कार्यरत रहँदै आएको थिएँ ।

०७४ को स्थानीय निर्वाचनपछि न्यायिक समितिमा चार वर्ष काम गरेँ । त्यस समय ऐन, कानुन केही थिएन । ऐन, कानुन बनाएँ । न्यायिक समितिको कामलाई प्रभावकारी बनाएँ । विद्यासुन्दर शाक्यहरू निस्कने र नयाँ जनप्रतिनिधि निर्वाचित हुने समय थियो । क्यान्सर रोग देखियो । अलि असक्त भएका कारण त्यहाँबाट चःमती जग्गा एकीकरण आयोजनामा सरुवा गरियो । कार्यालय प्रमुख हुनुहुन्थ्यो रामबाबु महतो । उहाँले शुरुमै ‘सोर्सफोर्स लगाएर जागिर खान आएको’ भन्नुभयो । एकातिर राज्यको काम गर्छु, जिम्मेवारी देऊ भन्दा दिँदैनन्, अर्काेतिर आफूभन्दा जुनियरको अण्डरमा खटाइएको छ, न त बस्नका लागि टेबुल र कुर्सी नै छ । यो प्रताडना भोगेको वैशाख १० गते तीन वर्ष पुग्दैछ ।

तलब दिएको छ, घरमा टिकटक बनाएर बस्नुहोस् भन्ने जवाफ आउँछ । एउटा जिम्मेवार पदाधिकारीले दिने जवाफ यस्तै हुन्छ ?

क्यान्सर रोगीले फोहोरको दुर्गन्ध आउने ठाउँबाट टाढै रहनुपर्छ । तर खटाइएको छ– टेकुस्थित फोहोर फाल्ने चःमती जग्गा एकीकरण आयोजनामा । त्यहाँ गन्धले बस्नै सकिन्न । हाइटेन्सन लाइनको मुनि छ कार्यालय । अनि म आठौं तहको कर्मचारी, शिवराज सोती छैंटो तहको हाकिम छन् । दैनिक कार्यालय जाने र हाजिर गरेर फर्कने सिलसिला चलिरहेको छ तीन वर्षदेखि । दरबन्दी नभएको ठाउँमा आफूभन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर राखिँदा एउटा क्यान्सर पीडितको मन कति छिया–छिया हुँदो हो ? कार्यालयमा बस्ने ठाउँसमेत नदिएका कारण दिनभर भर्‍याङ्ग वा घरमा बस्न बाध्य पारिएको छ । 

०७९ को स्थानीय निर्वाचनपछि काठमाडौँको मेयर र डेपुटी मेयर नै युवा आए । यसले हामी कर्मचारीलाई पनि आशावादी बनायो । लोकेन्द्र पौडेल त्यसअघि प्रमुख प्रशासकीय हुनुहुन्थ्यो । उहाँसँग गोरु बेचेको साइनो पनि छैन । पौडेल थर मिल्नु मेरो अपराध हो ? त्यही कारण वसन्त अधिकारीलाई लागेछ हामी दम्पती नै पौडेलका मान्छे हौँ । श्रीमान् रामप्रसाद पौडेल दुई दशकभन्दा लामो समयदेखि महानगरपालिकामै कार्यरत हुनुहुन्थ्यो । वसन्त अधिकारीले रामप्रसादको श्रीमती भनेर सदैव हेप्नुभयो । ममा काम गर्न सक्ने आत्मविश्वास र क्षमता छ तर मेरो स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यान नराखी उल्टै हतोत्साहित गराउने, गालीगलौज गर्ने काम भयो । मलाई योग्यताअनुसारको जिम्मेवारी दिन भनेर बारम्बार प्रमुख प्रशासकीय अधिकृत, प्रशासन महाशाखाको हाकिम महेश काफ्ले, दीपक अधिकारी, प्रशासन महाशाखा प्रमुख सरिता राईसँग अनुनय विनय गरेँ । तर, केही जिम्मेवारी दिइएन ।

उपमेयर र प्रवक्ता नवीन मानन्धरसँग पनि काम दिनुहोस् भनेँ । यदि, संस्थामा काम गर्न नदिने हो भने अन्य ठाउँमा काम गर्न स्वीकृति दिनुहोस् भनी निवेदन दिएँ । त्यो पनि सुनुवाइ भएन । प्रमुख प्रशासकीय अधिकृतले फाइल कार्यपालिकामा लैजान रोक्नुभयो । मलाई काम गर्न किन नदिएको, त्यसको लिखित जवाफ दिनुहोस् भन्दा त्यो पनि आजसम्म दिइएको छैन । तलब दिएको छ, घरमा टिकटक बनाएर बस्नुहोस् भन्ने जवाफ आउँछ । एउटा जिम्मेवार पदाधिकारीले दिने जवाफ यस्तै हुन्छ ? प्रोत्साहन त परको कुरा उल्टै अपशब्द सुन्नुपर्छ । गालीको वर्षा हुन्छ । के हामी गाली खानका लागि कर्मचारी भएका हौँ ? कार्यालय आउने, हाजिर गर्ने र फर्कनका लागि मात्र हो र राज्यले तलब दिएको ? म गफ र चाकडी होइन, काम गर्ने मान्छे । एउटा कर्मचारीलाई जिम्मेवारी दिएर उत्प्रेरित गर्ने कि हप्कीदप्की गरेर झम्टिने । तिमीहरूका श्रीमान्, श्रीमतीलाई नै जागिर चाहिने भनेर जवाफ फर्काउनुभएको छ । 

अहिले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा प्रदीप परियार आइपुग्नुभएको छ । युवा, जोश र जाँगर बोकेर । सात दिन अगाडि गएर भेटेँ । क्यान्सरसँग जुधिरहेकी महिला कर्मचारी, राज्यको सेवा गर्न चाहन्छु । मेरो गल्ती कमजोरी केही नहुँदा नहुँदै पनि तीन वर्षसम्म काम दिइएन, हाजिर गरेर मात्र फर्किएको विषय जानकारी गराएँ । उहाँले ओहो तपाईंलाई ठूलै अन्याय भएको रहेछ भन्नुभयो र सामाजिक सञ्जालमा असन्तुष्टि पोखेको बदलामा स्पष्टीकरण पत्र पो बुझ्न लगाउनुभयो । निजामती कर्मचारी, शिक्षक, सामाजिक क्षेत्रमा सबै क्षेत्रमा महिला योग्य र सक्षम छन् ।

निजामती ऐनले नै श्रीमान्, श्रीमती दुवै सरकारी जागिरे छन् भने एकै ठाउँ वा क्षेत्रमा राख्नु भन्छ तर म आफ्नै योग्यताले लोकसेवा भिडेको हुँ, नाम निकालेको हुँ । कार्यालयमा रामप्रसादकी श्रीमतीको रूपमा हेरिन्छ । रामप्रसादकी श्रीमती हुनु मेरो दोष हो ? मेरोजस्तै रोग लागेको कर्मचारीलाई बिल्लीबाठ बनाएको छ महानगरपालिकाले । कानुन अधिकृतमा २३ वर्ष काम गर्नुभएको कल्पना श्रेष्ठलाई क्यान्सर भएकै कारण सेवाबाट हटाइएको छ । जीवनका साढे दुई दशक संस्थाको हितका लागि काम गर्नुभएको उहाँलाई संस्थाले हेरेन । नक्सा शाखामा  लिना म्याडम हुनुहुन्छ । क्यान्सर देखिएपछि पार्वता दाहाललाई चःमती कार्यालय पठाइएको छ । के चःमती आयोजना भनेका क्यान्सर रोग लागेकाहरूलाई लगेर डम्प गर्ने कार्यालय हो ?

झण्डै दुई दशक महानगरपालिकामा कार्यरत रहनुभएका मेरो श्रीमान्ले नै सुलभ फार्मेसी, सुर्तीजन्य बेचबिखन बन्द गर्ने काममा मेयर बालेन साहको दाहिने हात बनेर काम गर्नुभयो । उहाँलाई सफल बनाउन दिनरात खटिनुभयो तर उहाँलाई स्पष्टीकरणको समेत मौका नदिई वसन्त अधिकारीले पेलेर जिम्मेवारीबाट हटाउनुभयो । श्रीमान्लाई एकल निर्णयबाट बर्खास्त गर्नुभएको छ । कारबाहीका लागि लोकसेवा आयोगमा पठाइयो । पक्कै पनि लोकसेवा आयोगले कालो र सेतो त छुट्टाउला नै । मेयर बालेन साहसँग मेरो केही रिसइबी छैन न त मैले मेयर साहलाई नै देखेको वा भेटेको छु न उहाँले मलाई देख्नु वा चिन्नुभएको छ । माथि जति पनि अन्याय र अत्याचार भएको छ प्रशासनका हाकिमहरूबाटै भएको छ । उहाँहरूको दुर्वचनले मलाई झनै मानसिक आघात पु¥याएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले तपाईंलाई कानुनमा हामी काम गर्न दिन्नौं । कार्यजिम्मेवारीविहीन बनाएर राख्छौं भन्दै करारमा कर्मचारी भर्ती गर्दा राज्यलाई वार्षिक लाखौं व्ययभार थपिएन र ? त्यही प्रश्न उठाएको हुँ मैले । त्यही जिज्ञासा र प्रश्न राख्दा उल्टै स्पष्टीकरणको पत्र काटिन्छ ।

– सुष्मिता घिमिरे, अधिकृत आठौँ तह, काठमाडौँ महानगरपालिका
 

टिप्पणीहरू