कलाकार बन्ने काँचो रहर र बिग्रँदो घरबार

कलाकार बन्ने काँचो रहर र बिग्रँदो घरबार

उम्रन नपाई कसैले चिमोटेर फालेपछि जिन्दगीमा केही गर्नै नसकिँदो रहेछ । रहर भन्ने चिज साह्रै अनौठो । सानैदेखि गीत/संगीतप्रतिको अगाध मोह । स्कूले जीवनदेखि नै गीत गाइरहन्थेँ । साथीसंगी भन्थे, ‘तेरो भविष्य उज्ज्वल छ ।’ यही हौसला र आफ्नै अन्तरात्माको आवाज सुन्दै गीत/संगीत क्षेत्रमा होेमिँदा यहीँभित्र गलत धन्दा गर्दै आएका व्यक्तिको फेला परेर लुटिएको छु, बर्बाद भएको छु । 

जन्मिएँ, हुर्किएँ रामेछापमा । बुवा प्रहरी सेवामा हुनुभएका कारण पढाइ स्थिर भएन बुवाको जागिरसँगै स्कूल परिवर्तन भइरहे । स्कूल शिक्षा तत्कालीन माकादुम गाविसमा रहेको प्राविबाट पार लगाएँ । माओवादी जनयुद्ध उत्कर्षमा थियो । सोही कारण गाउँ छाडेर स–परिवार भित्रियौं राजधानी । गोंगबु महादेवटारमा बसाइ, शान्ति विद्यागृह लैनचौरमा पढाइ । स्कूलले गरेको अन्तरविद्यालय प्रतियोगितामा गायनतर्फ प्रथम भएँ । हौसला थपिँदै गयो, बढ्दै गए रहरहरू । गीत कविता लेख्दै गएँ ।

शिक्षकहरूका प्रिय भएका कारण मलाई क्लास मोनिटर बनाइदिनुभएको थियो । एसएलसी परीक्षामा ०६७ सालमा पार लगाएँ । बुवाको सरुवा मुस्ताङमा भयो । देशमा शान्ति प्रक्रिया शुरु भएसँगै हामी फर्कियौं आफ्नै जन्मघर । उच्च शिक्षा मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसबाट पार लगाएपछि रहरै रहरलाई पोको पारी पुनः भित्रिएँ राजधानी । तर, मेरा रहरलाई केही अग्रज भनिएका, गनिएका, चुनिएका कलाकारले नै कमाइ खाने भाँडो बनाए । जसकारण म लुटिएँ, बर्बाद भएँ । 

हरेक घटनामा पुरूष मात्र दाेषी हुन्छ ? के महिला भएकै आधारमा जे गर्न पनि छुट मिल्छ ?

म लुटिएँ, त्यो पनि चोर, डाँका, फटाहाहरूबाट होइन । दिन–रात गीत/संगीतकै साधना गर्ने व्यक्तिबाट । काठमाडौँमा बसाइ थियो – गोठाटार । म जसको घरमा डेरा गरेर बस्थें उहाँ अहिले नेपाल सरकारको उपसचिव हुनुहुन्छ । एक दिन त्यही डेरा खोज्दै आइपुगे एक जना मतवाली । मेरो नोकरी थियो, पुतलीसडकको एउटा इन्टर प्राइजेजमा, बसाइ गोठाटारमा । मनमा लागेको थियो गीतकार/संगीतकार बन्छु र सांगीतिक फिल्डमै लाग्छु । बिहान, बेलुका फुर्सदमा गुन्गुनाइरहन्थेँ ।

जोडिएको कोठा, नुहाउँदा, खाना पकाउँदा गाइरहेको सुनेपछि उनैले भने, ‘ओहो तिमी त गीत गाउँछौं कि क्या हो ।’ अँ सर, गीत संगीतप्रति औधि रुचि छ भनेँ । स्वर परीक्षण गराएपछि मात्रै तिम्रो सम्भावनाको परीक्षण हुन्छ भन्दै एउटा गीत गाउन लगाए । सुनाइदिएँ । परिचयकै सिलसिलामा खुल्यो उनी नेपालका नामी गीतकार/संगीतकार रहेको । लाग्यो, दैवले मलाई गीतकार, संगीतकारसँग भेट्टाइदिए । यस्तो लाग्थ्यो अब मभित्रको प्रतिभा यिनैका साथले राम्रै मलजल हुनेछ । तर, मेरो प्रतिभालाई ती वरिष्ठले यसरी कमाइ खाने भाँडो बनाए कि पत्तै भएन । तर, मलाई थाहै भएन मेरो प्रतिभा भित्र–भित्र धमिरा लागेको । उनको स्वार्थ रहेछ अर्कै । 

उनैले एल्बम निकाल्न सुझाए । गीत लेखनको जिम्मा मेरो थियो । आफूलाई उत्कृष्ट लागेका दर्जन गीत लेखें र थमाएँ । उनले सबै रचना उत्कृष्ट लागेको बताए । पुतलीसडकमै रहेछ म्युजिक कम्पनी । बुवालाई फकाएर बाइक लिएको थिए । बिहान–बेलुका उनैलाई अफिस ल्याउने, लैजाने ड्युटी थपियो । गीत लेखेर उनलाई दिन्थेँ, उनले एरेञ्ज गर्थे । बिहान दिएको गीत बेलुका रेकर्डिङ हुन्थ्यो । एल्बम निकाल्ने सहमति डेढ लाखमा भयो । खर्च जुटाउन नसकेर चढिरहेको मोटरसाइकल र कम्प्युटर सेट बेचिदिएँ । 

उनले मेरो गीतमा चल्तीका गायिका अञ्जु पन्त, राजेशपायल राई, शिव परियारदेखि स्वरूपराज आचार्यलगायतको स्वरबद्ध गरिदिने वचन दिएका थिए । रेकर्डिङका लागि प्राइम रेकर्डिङ स्टुडियो पुतलीसडकलाई छानेका रहेछन् । कभर डिजाइनिङका लागि मैले दिएको २१ हजार आफैँले स्वाहा पारिदिए । अडियो चक्काको कपी गर्ने जिम्मेवारी सुनगाभा म्युजिकलाई दिइएको रहेछ तर पैसा नतिरेका कारण ६ सय प्रति मात्रै चक्का उपलब्ध भयो । ४ सय प्रतिको पैसा दम्पच । न त मेरो एल्बममा कुनै नामी गायकको स्वर राखियो । पैसा मात्र स्वाहा । कभर म आफँैले महाबौद्ध गएर किनेँ र आफैँले सेटिङ गरेर ६ सय प्रति एल्बम तयार गरेँ, विमोचन गराएँ आफ्नै जन्मदिनको अवसर पारेर । 

यस्तै उतार–चढावसँग जीवन चल्दै थियो । दोस्रो गीत निकाल्ने लहड चल्यो । पैसाको अभाव हुँदाहुँदै धेरै साथीसँग ऋण लिएर म्युजिक भिडियो बनाउने भइयो । यस बखत पुतलीसडकमै डान्स नृत्य प्रशिक्षण लिँदै थिएँ । त्यहीँका डाइरेक्टर/फाउण्डरसँग सुटिङ स्पष्ट हेर्नका लागि दक्षिणकाली गएँ, चित्त बुझेन फेरि फर्पिङ पुगेँ । ठाउँ छनोट गरी फर्किएँ । र, भोलिपल्ट मोडल, मेकअप म्यान, क्यामेरा पर्सनसहित गएँ । यहाँ पनि काममा अवरोध । क्यामेरामेनले सुटिङ नै नगर्ने अड्डी लिए । किन, के भयो भनेर खोजीनीति गर्दा थाहा लाग्यो उनै राईले म्युजिक भिडियोका लागि भनेर दिएको ७५ हजार रकम दिएका रहेछन् । पछि उनले फोन गरेर ‘पैसा स्पटमै ल्याइदिन्छु भन्ने आश्वासन देखाएपछि सुटिङ बल्ल शुरु भयो ।

एक दिन, दुई दिन हुँदै महिनाैँ बित्यो । खिचिएको भिडियो हात लागेन । जहिल्यै मिटिङमा छु भन्न थाले । उनकै घरमा रुँघेर बस्थेँ । मिटिङमा छु भन्थे । तर, दिनभर कुर्दा पनि मिटिङ अरूसँग होइन आफ्नै परिवारसँग हाँसखेल गरिरहेका हुन्थे । एउटा नवोदित कलाकारलाई रुवाएर, घण्टौँ गेटमा कुराएर उनी आफ्नो परिवारसँग रमाइरहेका हुन्थे । बेलुका चार बजे उनी बाहिर निस्के र भोलि बिहान १० बजे कोरस फिल्म स्टुडियो बागबजारमा भेट्ने प्रतिबद्धता जनाए । फेरि शुरु भयो लफडा । फोन गर्छु कहिले हेटौंडा, कहिले नेपालगञ्ज, कहिले विराटनगर । अफिसमा सधैँको भोटे ताल्चा । कहिले कम्प्युटरको हार्ड डिक्स बिग्रियो भन्ने त कहिले स्टुडियो बनाउँदा सामान कता–कता हराएछ भन्ने । मलाई मेरो म्युजिक भिडियोको डिभी दिनुस् न भन्दा कस्तो डिभी भनेर मलाई नै उल्टै प्रश्न पो गर्छन् ।

०७८ सालमा सुटिङ भएको म्युजिक भिडियो ०८० सालपछि लाग्दा पनि बल्ल म्युजिक भिडियो हात पर्दैन । केही दिनअगाडि धरहरा नजिकै थिए । मैले फोन गरेँ, विराटनगरमा छु भने । केही मीनेटपछि मास्कले मुख छोपेर, हेल्मेट लगाएर खिचापोखरीबाट धरहरापट्टि आउँदै गरेको देख्दा अचम्ममा परेँ । मैले देखेर बोलाउँदा नचिने/नसुने झैँ गरी लम्किए । इष्टमित्र सोध्छन् ‘खै त तेरो म्युजिक भिडियो ?’ यिनै राईको चपेटामा पर्दा आफू निस्कन सकिएन ।

म र मेरो म्युजिक भिडियो आउँछ भनेर ममाथि लगानी गर्ने दाइहरू अहिले बिहानै पैसा चाहियो, दिउँसै पैसा चाहियो भन्दै तारन्तार फोन र म्यासेज गर्छन्, घरमै आउँछन् पनि ! उहाँहरूलाई सम्झाई बुझाइ पठाइरा’छु । न म्युजिक भिडियो निस्कियो न त उहाँहरूको पैसा नै फिर्ता गर्न सकिएको छ । मजस्ता धेरै साथी यस्तो चपेटामा पर्नुभएको होला । हामीजस्ता उदाउनै लागेका धेरै गायकलाई ठगेर, लुछेर अहिले उनी रेष्टुराँ खोली बसेका छन् । एक दिन हामीजस्ता प्रतिभालाई लुटेर खाएको पाप त अवश्य लाग्छ । हाम्रो आँशुले एकदिन यिनलाई पोल्नेछ नै ! 

– प्रमोद खत्री
 

टिप्पणीहरू