कामुक तर बहादुर रानीको कहानी

कामुक तर बहादुर रानीको कहानी

अंगोला दक्षिणी अफ्रिकाको पश्चिमी तटमा अवस्थित ढुंगेयुगमै मानववस्ती भइसकेको देश हो । बान्तु आदिवासीहरुको बाहुल्यता छ । हिरा, सुन, तेल, तामाको ठुलो भण्डार तैपनि लामो समय उपनिवेश बनेको कारण अपेक्षित धनी बन्न सकेन ।

सन् १४८३ मा पोर्चुगिज नाविक डियगो काओले पाइला टेके र पोर्चुगिजहरूले लगत्तै सोयो शहरलाई ब्यापारको अखडा बनाए । खेतिपातीमथि कब्जा जमाए ।  स्थानीय जनतालाई दास बनाई बिदेशमा बेच्न थाले । विशेषतः ब्राजिलमा निर्यात गरे । दासको बदलामा युरोपबाट सामान ल्याए । १६ औं शताब्दीसम्ममा अंगोला पुरै पोर्चुगलको उपनिवेश बन्यो । देशकै नाउँ पनि स्थानीय भाषाको न्डोंगोलाई तिनै पोर्चुगिजहरूले अंगोला बनाइदिए ।

उपनिवेशविरुद्ध समय–समयमा ठुल्ठूलो विद्रोह गरे, आन्दोलन चलाए तर पोर्चुगिज सरकारले दबायो । यसबीच सन् १९५४ मा अंगोला राष्ट्रिय मुक्ति मोर्चा (एफएनएलए) र सन् १९५६ मा माक्र्सवादी लेनिनवादी संगठन अंगोला मुक्तिको लागि जनअभियान (एमपिएलए) गठन भयो । जसलाई रुस, चीनले मात्र होइन पोर्चुगलकै कम्युनिष्ट पार्टीले पनि सहयोग गरे । फलतः उक्त संगठनको अगुवाइमा औपनिवेशिक सरकारविरुद्ध जनताले निर्णायक गुरिल्ला संघर्ष छेडे । र, सन् १९७४ मा पोर्चुगिज सरकार धराशायी बन्यो ।

एमपिएलएले राजधानी लुआन्डामाथि कब्जा जमायो र सन् १९७५ मा अंगोला पोर्चुगलबाट स्वतन्त्र भएको घोषणा ग¥यो । पोर्चुगलको सरकारबिरुद्ध छापामार संघर्षको सन् १९६१ देखि सन् १९७४ सम्म नेतृत्व गरेका कम्युनिष्ट नेता तथा कवि अगुस्टिन्हो नेटो स्वतन्त्र अंगोलाको प्रथम राष्ट्रपति बने । त्यहाँ त्यो बेलादेखि अहिलेसम्म एमपिएलएकै सरकार छ ।

सन् १९९१ को सोभियत संघ बिघटनपश्चात् सो पार्टीले माक्र्सवाद लेनिनवादलाई परित्याग गरी मार्गदर्शक सिद्धान्त सामाजिक जनवादलाई अंगिकार गरिसकेको छ । वर्तमान राष्ट्रपति जोआओ लोरेन्को एमपिएलएका अध्यक्ष हुन् । यतिखेर अंगोलाले चीनलाई मुख्य आर्थिक साझेदार बनाएको छ । र, द्रुतगतिमा विकास गर्दैछ ।

पोर्चुगलको शासनविरुद्ध विद्रोह गर्नेमा रानी न्जिंगा म्बांदी पनि एक हुन् । किम्बुन्डु भाषा बोल्ने आमबुन्डु आदिवासीहरूका दुई अधिराज्य न्डोंगो र मातम्बाकी रानी । शाही परिवारमा जन्मेकाले वाल्यवस्थामै सैन्य तालिम लिइन् । उनकी आमा केंगाला का न्कोम्बे पनि दास थिइन्, जसलाई राजा न्गोला किलुवान्जीले रानी बनाएका थिए । केंगला न्गोलाकी मनपर्ने रानी थिइन् ।

न्जिंगाका दुई दिदीबहिनी र एउटा दाजु म्बान्दी थिए । न्जिंगा जन्मेको बेला केंगालालाई निकै गाह्रो भएको थियो । जन्मिंदा नाभीसंग जोडेर आउने साल (आन्द्रा)ले न्जिंगाको घाँटी बेरिएको थियो त्यसैले बच्चीको नाउँ न्जिंगा राखियो । किम्बुन्डु भाषामा बेर्नुलाई कुजिंगा भनिन्छ । स्थानीय जनता जटिल प्रसूतिवस्थामा जन्मेका सन्तान बहादुर हुन्छन् र वंशको नाम उज्ज्वल बनाउँछन् भन्ने विश्वास राख्थे ।

न्जिंगा १० वर्षकी हुँदा न्गोला राजा बने । न्जिंगा गद्दीको उत्तराधिकारी थिइनन् तैपनि न्गोलाले छोरी न्जिंगाको शिक्षादिक्षा र सैनिक तालिममा कुनै कन्जुस्याईं गरेनन् । मन पर्ने छोरी भएकोले सबैखाले हतियार चलाउने तालिम पनि दिलाए । त्यतिमात्र होइन न्जिंगाले सरकारी निर्णय, न्याय प्रशासन, युद्ध परिषद, धार्मिक गतिविधि सबैमा बाबुसंगै सहभागी हुने अवसर प्राप्त गरिन् । दरवारमा पोर्चुगिजहरूको आनाजाना भइरहने कारण उनले पोर्चुगिज भाषा बोल्न र लेख्न सिकिन् । सानैदेखि राजनीतिमा उठबश गरेका कारण उनी चलाख, र तिक्ष्ण दिमागकी थिइन् ।

पोर्चुगलले छिमेकी कंगोको सहयोगमा अंगोलामा अधिकार जमाएको थियो । फलतः अंगोलाको सम्बन्ध पोर्चुगल र कंगो दुवैस“ग बिग्रन थाल्यो । समयसमयमा युद्ध भए । पोर्चुगिजहरुले भिषण आक्रमण गर्ने, गाउँका गाउँ जलाइ दिने, महिलामाथि बलात्कार गर्ने र पुरुषलाई बन्दी बनाउने काम गरे ।

र, सम्पूर्ण अंगोलामाथि नियन्त्रण जमाइसकेपछि त्यहिं दासविक्री केन्द्र खोले । स्थानीय जनताले औपनिवेशिक सरकारविरुद्ध बिद्रोह जारी राखे तर दमनमा परे । स्थानीय जातीय सरदारहरू र पुँजीपतिहरूले पनि आफ्ना राजालाई सहयोग गर्न छाडेर पोर्चुगिजहरूलाई नै सहयोग गर्न थाले । सन् १५९३ मा न्गोला गद्दीमा बस्दाको समयमा मुलुकको अवस्था निकै दयनीय बनिसकेको थियो । गृहयुद्धले सबै तहसनहस बनिसकेको थियो र राजाको अधिकार सीमित थियो । न्गोलाले यो स्थितिबाट पार पाउन अनेक कोशिस गरे तर सकेनन् ।

सन् १६१७ मा न् गोला किलुवान्जीको मृत्यु भयो र उनका छोरा न् गोला म्बान्दी राजा बने । मन नपराउनेहरूले बिरोध गरेपछि उनले बिद्रोह दबाउने नाउँमा नरसंहार गरे । आफ्नै सौतेनी दाजुलगायत परिवारका सदस्य र नातेदारहरूको समेत हत्या गर्न लगाए । न्जिंगा त्यो बेला ३५ वर्षकी थिइन् । म्बान्दीले उनलाई मार्न भने सकेनन् तर अर्को दुई बहिनी र न्जिंगाको छोरालाई भने मार्न सफल भए ।

न्जिंगा ज्यान बचाउँदै मातम्बा (वर्तमानमा उत्तरी अंगोला) अधिराज्यतर्फ भागे । म्वान्दीले बिरोधी सखाप पारिसकेपछि पोर्चुगिजहरूसित लडे तर, सैन्यकलाको अभावमा हार्दै गए । सन् १६२१ मा उनले बहिनीसंग सहयोग मागे । न्जिंगालाई यो सुनौलो अवसर लाग्यो र प्रस्ताव स्विकार्दै राजधानी लुआन्डा पसिन् । पोर्चुगिज भाषा जानेको कारण राजदूतको रूपमा खटिइन् । यसक्रममा पोर्चुगिजहरूसित दास बिक्रीमाथि बन्देज लगाउन माग गरिन् ।

एकदिन पोर्चुगिज गभर्नर जोआओसित वार्ता गर्न गइन् । त्यहाँ पुगेपछि गोरा र कालोबीच कसरी विभेद हुँदो रहेछ भन्ने थाहा पाइन् । कालाहरूमाथि जनावरसरह व्यवहार गरिन्थ्यो । उनीहरू सबैलाई दास बनाइएको हुन्थ्यो । उनलाई ठूलो झट्का तब लाग्यो, जब गभर्नरसामु लगियो । गभर्नर अग्लो कुर्सीमा बिराजमान थिए । न्जिंगालाई भूइँमा बस्न भनियो । न्जिंगाले यो ब्यवहारबाट अपमानित महसुस गरिन् र बस्न आनकानी गर्न थालिन् ।

तर गभर्नर उनलाई आफूबराबरको स्थानमा बस्न इजाजत दिन तयार थिएनन् । न्जिंगाको इशारा बुझेर एकजना अश्वेत नोकर दुई हात र दुई खुट्टाले टेकेर बस्न पुगे । न्जिंगा उनको ढाडमाथि बसिन् र गभर्नरलाई भनिन् ’म बराबरको हैसियतमा कुराकानी गर्न आएको ।’

सन् १६२४ मा अचानक म्बान्दीको निधन भयो । धेरैले न्जिंगाले नै वीष ख्वाई मारेको भन्ने गर्छन् । म्बान्दीले मर्नुअगाडि आफ्नो उत्तराधिकारी बहिनी न्जिंगा हुने घोषणा गरेको कारण न्जिंगा विलम्ब नगरी गद्दीमा बसिन् । लगत्तै शक्तिलाई सुदृढ पारिन् । आफ्नो शासनमा अवरोधको रूपमा रहेका नाबालिग भतिजको हत्या गरी छोराको हत्याको बदला लिइन् ।

नारी भएको र दासीको सन्तान भएको कारण गद्दीमा बस्न नसक्ने लान्छना र अनेक झमेलामाथि विजय प्राप्त गरिन् । उनी स्वतन्त्रता र दासप्रथाको बदलामा इसाइ बन्न तयार भइन् र धर्म परिवर्तन गरेर एना डिसूजा बनिन् । अंगोलालाई पोर्चुगिजहरूको ब्यापारिक केन्द्र बनाइराख्न सहमत भइन् ।

तर, पोर्चुगिजहरूले सहमतिको पालना गरेनन् र शर्तमुताविक अंगोला छाडेर जान मानेनन् । नतिजा, न्जिंगाले युद्धको घोषणा गरिन् । उनी पोर्चुगिजहरूसंग लड्न डचहरूको सहयोग लिन्थिन् र अरुसित लड्न पोर्चुगिजसंग मिल्थिन् । ब्राजिली–पोर्चुगिज लेखिका जोस एडुवार्डो अगुआलिसा लेख्छिन् ‘न्जिंगा महान योद्धा मात्र होइन कुशल रणनीतिकार र राजनीतिज्ञ पनि थिइन् ।’

न्जिंगा पराक्रमी, र देशभक्त त थिइन् नै साथसाथै उत्तिकै क्रुर र ऐयासी पनि । उनलाई दिनहुँ यौन प्यास लाग्थ्यो । सबै इतिहासकारहरू उनीबारे एकमत छन् कि उनी अत्यन्त कामुक र निर्दयी थिइन् । यौनप्यास मेट्न विश्वका अरु राजामहाराजाहरूले ‘जनानाघर’ को व्यवस्था गरेजस्तै दरबारमा ‘पुरुषघर’ बनाउन लगाएकी थिइन् ।

उनको ‘हरम’ लाई ‘चिबडोस’ भनिन्थ्यो । त्यहाँ मन पराएका पुरुषलाई बन्दी बनाउन लगाउँथिन् । सबै पुरुषलाई जनाना लुगा लगाउन दिइन्थ्यो । त्यति मात्र होइन, सेक्स गर्नुअघि पुरुषहरूलाई एकापसमा लड्न लगाइन्थ्यो । लडाइँ पनि यस्तो कि एकजना नमरुञ्जेल । र, जो मर्नबाट बच्थे उनैसित यौन सम्बन्ध बनाउँथिन् न्जिंगाले ।

तर, दुःखको कुरो, यौनप्यास मेटेपछि ती पुरुष पनि मर्नैपर्ने हुन्थ्यो अर्थात न्जिंगाले उनलाई जलाएर मार्न लगाउँथिन् । उनी दैनिक यो खेल खेल्न रुचाउँथिन् । र, मर्नुअघिसम्म उनको यो कामुक खेल जारी रह्यो ।

न्जिंगासम्बन्धी यौन प्रसंगलाई सबैभन्दा बढी फ्रान्सेली दार्शनिक मार्किस दे सादेले उछालेका हुन् । यद्यपि अफ्रिकीहरूको यो इतिहासबारे थप सोध गर्नुपर्ने जिकिर छ । यसको बावजुद अंगोलाका जनतामाझ उनी लोकप्रिय छिन् र ऐतिहासिक पात्र बन्न सफल छिन् । अंगोला मात्र होइन अफ्रिकी महादेश उनलाई ‘हिरो’ मान्छ । त्यहाँका जनता उनलाई आदर गर्छन् ।

उनी अंगोलाकी ‘आमा’ नै हुन् । उनले युद्धमात्र लडिनन्, युद्धको साथसाथै अंगोलाको विकासमा पनि उत्तिकै ध्यान दिइन् । जनतालाई देशभक्त बनाउन अभिप्रेरित गरिन् । अनवरत ३७ वर्ष पोर्चुगिजहरूको विरुद्ध लडिन् । उनको मृत्यु सन् १६६३ मा ८० वर्षको उमेरमा भयो । पछि उनैकी बहिनी काम्बु गद्दीसिन भइन् ।

टिप्पणीहरू