आरजू म्याडम होइन भन्ने,फोटो चाहिँ उहीसङ्ग खिच्ने

आरजू म्याडम होइन भन्ने,फोटो चाहिँ उहीसङ्ग खिच्ने

प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवाले आफू बतास समूहसँग आबध्द नरहेको भने पनि उहाँ सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ । आरजू म्याडम उक्त घरानाका मालिक आनन्द बताससँग कति नजिक हुनुहुन्छ भन्ने कुराको छनक जनआस्थालाई प्राप्त एउटा फोटोबाट पनि प्रष्ट हुन्छ ।

बतास समूह पछिल्लो पटक नारायणहिटी दरबार संग्रहालयभित्रको क्याफे (रेष्टुरेन्ट) विवादमा मुछिएपछि प्रधानमन्त्री पत्नी राणा सल्लाहकार रहेको बतास फाउण्डेसनको आधिकारिक वेवसाइट www.batasfoundation.org नै हेर्न नमिल्ने गरी बन्द गरिएको छ । तर फाण्डेसनको वेवसाइट तत्काल हेर्न नमिल्ने बनाइए पनि साइटको अर्काइभमा भने उहाँसहित सल्लाहकार टिमको नाम देख्न सकिन्छ । सल्लाहकार बस्ने, संस्थाका प्रमुखसँग विभिन्न समारोहमा फोटो खिच्ने तर अप्ठेरो परेपछि सम्बन्ध नरहेको भनेर विज्ञप्ति जारी गर्दैमा ‘लिगेसी’ नटुट्ने स्पष्ट छ ।

राणाले गत बिहीबार केही एनजीओबाहेक अन्य संस्थासँग आफ्नो आबद्धता नरहेको भन्दै विज्ञप्ति जारी गर्नु भएको थियो । बतास समूहले विशेषगरी राजधानी काठमाडौं, पोखरा र तनहुँका विभिन्न पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदालाई भाडामा लिएर अनधिकृत तवरले व्यावसायिक कार्य गर्दै आएको भेटिएपछि अहिले चर्को बिरोध भएको छ ।

पशुपतिनाथ परिसरभित्रको धर्मशालामा महँगो होटल खोलेको, नारायणहिटी दरबारभित्र कफी सपको निम्ति सम्झौता विपरीतको अनाधिकृत निर्माण गरेको, पोखराको क्षेत्रीय संग्रहालयको परिसरमा समेत आफ्नो व्यवसाय बिस्तार गरेको लगायत आरोप अहिले बतास समूहले खेपेको छ । त्यही समूहका प्रमुख आनन्द बतास र परिवारसँग बसेर प्रधानमन्त्री पत्नी राणाले फोटो खिच्नुभएको हो ।

यता नारायणहिटी दरबार संग्रहालय परिसरभित्र कफी सप खोल्ने योजनापछि बतास समूहले त्यहीँ भित्रको बंकरमा मादक पदार्थ सेवन गर्ने थलो बार बनाउने प्रस्तावसमेत अघि बढाएको कुरो बाहिरिएको छ । तर अहिले जमिनमाथिकै रेष्टुरेन्ट बनाउन गरिएको निर्माण भत्काइएकाले जमिन मुनिको बंकरको योजना त्यसै अलपत्र परेको हो ।

टिप्पणीहरू