खेलाडी विवादमा सहमति, क्रिकेट प्रशिक्षण सुरु

खेलाडी विवादमा सहमति, क्रिकेट प्रशिक्षण सुरु

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच भएको विवाद समाधानपछि आजबाट प्रशिक्षण सुरु भएको छ । क्यानले खेलाडीमाथि गरेको कारवाही फिर्ता लिएपछि आजबाट प्रशिक्षण सुरु भएको हो । नेपाली टोलीले ओमानमा हुने आईसीसी टी–२० विश्वकपको २०२२ को ग्लोबल छनोटका लागि प्रशिक्षण सुरु गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलकुद मैदानमा टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण थालनी गरेका हुन् । दोस्रोपटक नेपाली टोलीको जिम्मेवारी हेर्दै गरेका पुबुदुले पहिलो दिन १४ खेलाडीलाई मैदानमा उतारेका छन् । छ जना खेलाडी होटलमा रहँदा नौ खेलाडीले भने पीसीआर नगरेको र भोलिसम्म पीसीआर नेगेटिभ आए प्रशिक्षणमा सामेल गराइने जानकारी गराएका छन् ।

यसअघि मंसिर २९ गते क्यान बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता) मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

यसपछि विवाद सतहमा आएसँगै चार खेलाडीलाई समर्थन गर्दै अन्य खेलाडीले समेत क्रिकेट प्रशिक्षणमा नफर्कने क्यानलाई बताएका थिए । प्रशिक्षक पुबुदुले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा १४ खेलाडीमात्रै सुरुआती प्रशिक्षणमा सामेल भए । केही खेलाडी भने हिजो रातिमात्रै मोफसलबाट आएर होटलमा रिपोर्ट गरेका थिए ।

आजको बिहानी अभ्यास सत्रमा भने निवर्तमान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा गरी नौ खेलाडी भने पीसीआर नगरेकाले टोलीमा उपलब्ध नहुँदा कप्तान सन्दीप लामिछाने विग बास लिग खेल्न अस्ट्रेलिया पुगेका छन् ।

हिजो (आइतबार) मात्रै कप्तान ज्ञानेन्द्र, क्यान अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र प्रशिक्षक पुबुदु दासानायकेसहितको टोलीको औपचारिक बैठकपछि खेलाडी खेल्न तयार भएका हुन् । बैठकमा ज्ञानेन्द्रले आफ्ना समकक्षी साथीहरूसँग सल्लाह गरेर ९ बजे प्रशिक्षणमा सामेल हुने बताएका थिए । त्यसअघि ज्ञानेन्द्रले आफ्नो कप्तानीसहित ६ महिनाको कारबाही फिर्ता हुनुपर्ने माग राखेका थिए । तर क्यानले कुनै पनि हालतमा कप्तानी फिर्ता नहुने र छ महिने कारबाही फिर्ता लिने सहमति भएसँगै खेलाडीहरु मैदानमा उत्रन तयार भएका हुन् ।

ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा आयोजना हुँदैछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जर्मनी, क्यानाडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

टिप्पणीहरू