जापान जान हिँडेका नेपाली मलेसियामा अलपत्र

जापान जान हिँडेका नेपाली मलेसियामा अलपत्र

जापान जाने क्रममा ट्रान्जिट बनाउँदै मलेसिया पुगेका ३६ नेपाली नागरिक अलपत्र परेपछि उद्धार गरिएको छ । तीमध्ये ३४ जनालाई नेपाल फिर्ता पठाइएको छ भने दुई जना भने सकुशल जापान पुगेका छन् ।

उनीहरु नेपालबाट मलेसिया हुँदै जापान जान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, त्यहीबीचमा जापान सरकारले कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन रोकथाम भन्दै विदेशी नागरिकलाई जापान प्रवेशमा रोक लगाएपछि उनीहरु मलेसियामा अलपत्र परेका हुन् ।

तीमध्ये ३४ जना नेपाल फर्किएका छन् भने दूतावासको पहलमा दुई जना अनुमति प्राप्त गरि जापान प्रस्थान गरेका छन् । अलपत्र परेका यात्रुको समयमै उद्धार गर्न सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकाय, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावासलाई नेपाली दूतावास, मलेसियाले धन्यवाद दिएको छ ।

साथै मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबै यात्रुलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

टिप्पणीहरू