‘चिकित्सा क्षेत्रका पदाधिकारीको सम्पत्ति सार्वजनिक गरियोस्’

‘चिकित्सा क्षेत्रका पदाधिकारीको सम्पत्ति सार्वजनिक गरियोस्’

नेपालका सबै विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल काउन्सिल र नेपाल चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै डा. अनुप पन्थीले राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीडीएस उत्तीर्ण गरेका डा.पन्थीले सूचना आयोगमा निवेदन दिँदै सबै विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल काउन्सिल र नेपाल चिकित्सा शिक्षा आयोगका पदाधिकारीले पद बहाली गर्नुअघि सम्पत्ति वेबसाइटमा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

साथै उनले आयोगका पदाधिकारीहरुको पदावधि सकिएपछि सम्पत्ति लेखापरीक्षण गराएको विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित सबै निकायले गर्ने निर्णय, अनुगमनका विस्तृत कागजात र सम्बन्धनलगायतको आधारसम्बन्धी विषय सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्न समेत आग्रह गरिएको छ ।

नेपालमा चिकित्सा शिक्षाको सम्बन्धन, कोटा निर्धारणलगायतको प्रक्रियामा ठूलो आर्थिक चलखेल हुने गरेको खबर पटक पटक सार्वजनिक भइरहेकाले यसबाट चिकित्सा क्षेत्र थिलथिलो भएको उनको ठहर छ । डा. पन्थीले यसलाई रोक्न सूचनाको हकसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कागजात र पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्न माग गरेका हुन् ।

टिप्पणीहरू