​प्रहरीमय काण्ड

कञ्चनपुरको निर्मला पन्त काण्ड सल्किँदै गएर अब देशबाहिरसमेत पुगिसकेको छ । अस्ति ‘अपराधीलाई कारबाही गर’ भन्दै अस्ट्रेलियामा ¥याली निस्केछ । भोलि अपराधीलाई कारबाही गर भन्दै ह्वाइट हाउस अगाडि ¥याली निस्कियो । पर्सि राष्ट्रसंघअगाडि ¥याली आइदेला । निर्मला हत्या प्रकरणमा उठिरहेको एउटै माग हो–अपराधीलाई कारबाही गर । 

वास्तवमा यो काण्डमा कारबाही नै नगरिएको त होइन । कारबाही त भइरहेकै छ नि ! प्रहरीले प्रहरीलाई नै कारबाही जो गरिरहेको छ । अहिलेसम्म ६ जना प्रहरी निलम्बित भइसके । कोही केन्द्रमा तानिइसके । कोही अझै तानिँदै छन् । कारबाही नै नगरिएकोचाहिँ होइन । तर, कारबाही अरूमाथि होइन स्वयं प्रहरीमाथि भइरहेको छ । प्रहरीद्वारा प्रहरीमाथि कारबाही । 

 सुन्दा अनौठो छ । निर्मला काण्ड प्रहरीको घेराबाट बाहिर आउन सकिरहेको छैन । अनुसन्धान गर्ने प्रहरी । कारबाही गरिने प्रहरी । शंकाको घेरामा प्रहरी । प्रमाण मेट्ने प्रहरी । विवाद ल्याउने प्रहरी । डीएनए टेस्ट प्रहरी । रगत परीक्षण प्रहरी । जे गरे पनि प्रहरी । अब त शंका यो पो छ कि प्रमुख अपराधी पनि प्रहरी नै निस्किने पो हो कि ? यो काण्डमा चारैतिर प्रहरीबाहेक अरू कोही छैन । तसर्थ निर्मला काण्ड पूरै प्रहरीमय बनेको छ । प्रहरीका लागि प्रहरीमार्फत प्रहरीले रचना गरेको अनौठो काण्ड बनेको छ, निर्मला हत्याकाण्ड । अब प्रहरीले यसको पटाक्षेप कसरी गर्छ, त्योचाहिँ हेर्नलायक हुनेवाला छ । 

टिप्पणीहरू