अब एकल पुरुषलाई पनि भत्ता, शहरमा होइन गाउँमा

अब एकल पुरुषलाई पनि भत्ता, शहरमा होइन गाउँमा

अब एकल महिलालेझैँ एकल पुरुषले पनि मासिक भत्ता पाउने भएका छन् । तर त्यस्तो सुविधा जुम्लाको एक गाउँपालिकामा मात्र दिने निर्णय भएको छ । त्यहाँ एकल पुरुष अर्थात विधुरलाई पनि भत्ता दिइने भएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिकाले सबै वडाका एकल पुरुषलाई विधुर भत्ता दिने निर्णय गरिएको बताइएको छ । गाउँपालिकाले ४० वर्षभन्दा माथि ५९ वर्ष नकाटेका एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षदेखि शुरु गरिएको कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘एकल पुरुष तथा अविवाहित महिलालाई भत्ता दिन लागिएको हो । रकम अपुग भए अन्य शीर्षकबाट थप्ने कुरा भएको छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो  ।

गाउँपालिकाले विधुर भत्ता दिने निर्णयले थोरै भए पनि राहत दिने विश्वास स्थानीयले लिएका छन् । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि एकल पुरुषलाई भने दिएको छैन । सरकारबाट भत्ता नपाउँदा उनीहरू सहाराविहीन बनेपछि भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ ।

टिप्पणीहरू