बीचमा बसेर भन्नैपर्दा !

सरकारी प्रतिनिधि र डा.गोविन्द केसीबीच भएको सहमतिपछि अनसन राजनीति त सेलायो । तर, नेपाली कांग्रेसद्वारा पूर्वघोषित विरोधका कार्यक्रम भने जारी छ । 

संसदीय व्यवस्थामा विपक्षी दलले ‘सर्भाइवल ट्याक्टिस’, अर्थात् आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै विषयमा विरोधका भूमिका प्रदर्शन गरिरहनु पर्छ । तर, विरोधका विषय जनसापेक्ष छन्, छैनन् ? वा, उठाइएका विषय कति दमदार छ भन्ने आधारमा उसको विरोधमाथि जनसमुदायको रुची वा अरुची निर्धारित हुन्छन् । यसबीच जनताले के थाहा पाए भने, यसचोटि भन्दा अघि डा.गोविन्द केसीका अनसन भइरहँदा सरकारमा कांग्रेस नै थियो । कांग्रेसको सरकारले माग पूरा नगर्दा उनी अनसन बसिरहेका थिए । यसचोटि कांग्रेस जनताबाट अनुमोदित नहुँदा खुम्चिएको बेला छ । जनताबीच जान बहाना पनि खोजिरहेको थियो । हिजो आफ्नै कारणले सिर्जित समस्या उठाई अनसन बसिरहेका डा.गोविन्द केसीलाई पोष्टर बनाएर ऊ आन्दोलनमा निस्कियो । तर, ‘शिकार खेल्नु, अर्काको बुई चढेर’ भनेजस्तो हालत छ ।

कारी आफैँ लम्किन नसक्ने, बोकिदिने पात्र थाकेपछि शिकार हुन्छ कसरी ? त्यसैले नेपाली कांग्रेसले घोषणा गरेका आन्दोलनहरु कर्मकाण्डी मात्र बनेका छन्, एजेण्डाको अभावमा । नेपाली समाजमा प्रतिपक्षीय मानसिकताको बलियो उपस्थिति छ । विरोध वा आपत्ति जनाइएका विषयमा जनसमुदायको ध्यान छिटो आकर्षित हुने गरेको छ । त्यसैले विरोधका कार्यक्रममा अरु नगए पनि शहर–बजारतिर दिन कसरी काटौँ भनेर बसिरहेको केही फुर्सदिलो तप्का दौडिहाल्छ । यसचोटिको विरोधसभामा ती बेगारीहरु पनि देखिँदैनन् । अर्थात्, जे–जे भनेर सरकारलाई नेपाली कांग्रेसले आरोप लगाइरहेको छ, त्यसमा खासै प्रभावकारिता छैन ।
 
तर, सरकार सत्प्रतिशत सही बाटोमा छ, यसका काम निर्विवाद छन् र प्रतिवद्दतामुताविक नै चलेको छ– यस्तो दावी पनि नगरौँ । सरकारले जनतामा आशाभन्दा बढी निराशा नै बाँडेको छ । अचाक्ली कर तोकिएका छन् (जुन कुरा कांग्रेसकै सरकार भए पनि हुन्थ्यो) । सपनाहरु थुप्रै बाँडिएका छन्, तर हिँड्ने बाटो र चलाउने सारथी सही नहुँदा कता–कता नेतृत्व नै अलमलमा छ कि भन्ने भान हुन्छ । यी विविध अपेक्षाविपरितका कुरा एकातिर छन् । यसका बाबजुद पनि जनता अझै पर्खिने पक्षमै देखिन्छन्, कांग्रेसको आन्दोलनमा कम सहभागिताको सन्देश पनि यही हो । हिजो सत्तामा रहँदा आफ्ना लागि मात्र नभएर पत्नी र पुत्रका लागि पनि सुरक्षा सुविधा लिएको शेरबहादुरका निर्णय कम ‘अधिनायकवादी’ थिएनन् । तर, तिनै शेरबहादुरले ओली सरकारलाई ‘अधिनायकवादी’ भन्दै आन्दोलन छेडेपछि जनताले पत्याउन् कसरी ? आफू ठीक नभई अरुलाई गलत भन्नु कति पत्यारिलो हुन्छ ? होला, केपी ओली अधिनायकवादतिर लागे । तर, शेरबहादुर र नेपाली कांग्रेसको विगतको छविका कारण ओली अधिनायकवादी नै भएछन् भने पनि जनताले सजिलै पत्याउने स्थिति छैन । यस्तो छविका नेताले आन्दोलन हाँकेर पार लगाउँछन् भन्नेमा विश्वास गर्न सकिँदैन । त्यसमाथि मुख्य बहाना घट्यो । कांग्रेसका लागि डा.गोविन्द केसी प्रकरण हिजो आफ्नै कारण सिर्जित समस्या नै आज बल्झिएको हो ।

पहिला आफूले पिटेर मान्छे रुवाउने, पछि यसलाई किन पिटियो, न्याय देऊ भनेर उफ्रिने– डाक्टर प्रकरणमा कांग्रेसको भूमिका यस्तो थियो । त्यही कुरा जनताले पत्याएनन् । त्यसमाथि जनमतबाट कांग्रेस भर्खरै पराजित भएको हो, वर्षदिन पनि पुगेको छैन । भर्खरै आफ्नो हैसियत घटाइदिने जनताको भरमा यदि आन्दोलन गर्न खोजिएको हो भने त्यो सम्भव हुने कुरै भएन । त्यसैले जनताको मत जित्ने, कांग्रेसलाई विगतमा जनताले गरेको माया फेरि जगाउने भूमिका नखेली पार लाग्ने अवस्था देखिँदैन । सरकार जनविरोधी कति भयो, त्यसको विश्लेषण हुँदै जाला । तर, अहिले कांग्रेसले भनेकै भरमा जनताले सरकार जनविरोधी भएको कुरा पत्याउन तयार छैनन् । त्यसैले सरकारले भनिरहेको समृद्धिका दिशामा अग्रसर हुँदै, अझ कतिपय कामहरु सरकारले भन्दा पनि पहिला पहिला जनताको बीचमा लैजाने भूमिकामा प्रस्तुत हुनु र त्यसमाध्यमबाट गुमेको साख फिर्ता गर्नु सबैका लागि हितकर हुनसक्छ । 

टिप्पणीहरू