माटोको पाला बनाउनेलाई भ्याइनभ्याइ

माटोको पाला बनाउनेलाई भ्याइनभ्याइ

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार संघारमा आइसकेको छ । तिहारलाई उज्यालो र प्रकाशको पर्वको रुपमा समेत लिइन्छ । यतिबेला माटाका पालाहरु निकै खपत हुन्छ । तिहार नजिकिएसँगै भक्तपुरका कुमालेहरुलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ ।

काठमाडौं उपत्यकामा माटोका सामानका लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वायरका कुमालेहरूलाई यतिबेला भ्याइनभ्याइ भएको हो । तिहारमा माटाका भाँडाको अत्यधिक माग हुने भएकाले पनि यतिखेर भक्तपुरका कुमालेहरु निकै व्यस्त देखिएका हुन् ।

तिहारमा अधिकांश माटोको पालाको खपत हुन्छ । बाह्रै महिना प्रयोगमा आउने भए पनि तिहारमा पालाको माग ह्वात्तै बढ्ने भक्तपुरका कुमालेहरु बताउँछन् । तिहार नजिकै आइसकेकोले भक्तपुरको पाला बनाउने कुमाले समुदाय पूरै यसम जुटिरहेको छ ।

भक्तपुरको तौमढी, बोलाछे र पोर्टरी स्क्वायरका कुमालेहरु तिहारको लागि आवश्यक पाला बनाउन व्यस्त छन् । माटाको भाँडा बनाउने लामो अनुभव भएको भक्तपुरकी राखी प्रजापतिले यतिबेला पालाको माग निकै बढेको बताइन् ।

‘पोहोरकोभन्दा माग बढ्यो, पालाको भाउ पनि बढेको छ,’ उनले भनिन् । पाला बनाउन आवश्यक कालोमाटो अभावका कारण पालाको मूल्य बढेको उनको तर्क छ ।

टिप्पणीहरू