प्रहरीलाई नोकर बनाउने पात्रहरु

सुरक्षा निकायका कर्मचारीलाई सुरक्षासम्बन्धी काममा खटाउन राज्यले प्रतिव्यक्ति आठदेखि १० लाखसम्म अतिरिक्त लगानी गरी तालिम दिन्छ, दक्ष बनाउँछ । तर, तीमध्ये सानो दर्जाका अधिकांश सुरक्षाकर्मी खटिन्छन् कहाँ ? हाकिमकहाँ– घरायसी काम । बाँचेका हाकिमले त लिए–लिए, मरेका हाकिमकहाँ पनि बाँकी राखिएको छैन, सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा प्रयोग गर्न ।

०५९ माघ १२ गते बिहान ललितपुरको बागडोलमा माओवादीद्वारा मारिएका सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कृष्णमोहन श्रेष्ठकहाँ अहिले पनि ६ जना कर्मचारी सुरक्षाको नाममा खटाइएका छन् । यही वैशाख १९ गते गृहलाई सशस्त्र मुख्यालयले नै दिएको विवणमा लेखिएको छ संख्या । ०६३ वैशाख २९ गते अवकास पाएका महानिरीक्षक सहवीर थापाको ०६७ जेठ ४ गते क्यान्सर रोगका कारण ५९ वर्षको उमेरमा निधन भयो । तर, अहिलेसम्म पनि उनको कुलेश्वरस्थित घरमा तीनजना सशस्त्र प्रहरी खटाइएका छन् । यीबाहेक बासुदेव वलीकहाँ तीन, सनत बस्नेतकहाँ पाँच, किशोर लामाकहाँ ६, शैलेन्द्र श्रेष्ठकहाँ ६, कोषराज वन्तकहाँ पाँच, दुर्जकुमार राईकहाँ पाँच र भर्खरै रिटायर्ड भएका सिंहबहादुर श्रेष्ठकहाँ चार सशस्त्र प्रहरी सुरक्षाको नाममा खटाइएका छन् । यी त महानिरीक्षक, अर्थात् संगठन प्रमुख भएर रिटायर्ड भएका कारण मानका खातिर सुरक्षा दिइयो भनेर चित्त बुझाउन सकिएला । तर, नेपाल प्रहरीको बिजोग अर्कै छ ।

अहिले पनि गृहसचिवबाट रिटायर्ड भएका सबैजसो हाकिमकहाँ नेपाल प्रहरीका कामदार राखिएका छन् । गृहमा पचास जना सवारी चालक छन्, तर हाकिमलाई ती चालकले हुँदैन, प्रहरी नै चाहिन्छ । कारण हो, प्रहरी भए सलाम ठोक्छ । घरमा पुछपाछदेखि सरसफाईसम्ममा सघाउँछ । प्रहरीको लोभ हो, गृहका हाकिमले भनेपछि सानो मिसन पक्का † फलतः त्यहाँका केही ड्राइभर मन्त्रालयपछाडिको ग्यारेजमा दिनभर तास खेलेर जागिर पकाउँछन् । लोकमानको रजगज चल्दा अख्तियारबाटै रिटायर्ड भएका र त्यहीँ विज्ञको नियुक्ति पनि पाएका एसपी भरत शर्मासँग अहिले पनि दुई जना प्रहरी आफूसँग र छोरी–ज्वाइँको स्याहारका लागि अर्का दुई जना प्रहरी छन् । अरुले छोरीलाई दाइजोमा अर्थोकै दिन्छन्, यिनले चाहिँ ‘आपका जाएगा, न बापका जाएगा’ भन्दै दुई सिपाही पठाइदिए । उनकी साली छिन्, सई अञ्जना । बस्ने उनको घरमा, हाजिर गर्ने अख्तियारमा । अख्तियारमा हाजिर गरेबापत ९९ प्रतिशत अतिरिक्त भत्ता पाइन्छ । अहिले अख्तियार दरबन्दी भएर हाकिमकहाँ कामदार राखिएका झण्डै ३० जना प्रहरीको रेकर्ड हेडक्वार्टरले उतारेको छ । रिटायर्ड आइजीजति सबैकहाँ तीनदेखि १० जनासम्म प्रहरी छन् । त्यसमध्ये ओमविक्रम राणा सदरखोर डिल्लीबजारमा सुशीला कार्कीको प्रतापले कैद सजायँ भुक्तान गरिरहेका छन् । तर, उनको घरमा सात जना प्रहरी कामदारको रूपमा राखिएका छन् । नेपाल प्रहरीका त भूपूडिएसपीसम्मले कामदार राख्न भ्याएका छन् ।

एआइजीबाट रिटायर्ड भएका पशुपति उपाध्यायसँग एकजना ड्राइभर, एक जवान र एक परिचर छन् । एसएसपीबाट रिटायर्ड भएका लव बिष्ट, कृष्ण गौतमहरुले पनि घरायसी काममा प्रहरी कर्मचारीलाई लगाएका छन् । राजेन्द्रसिंह भण्डारी, कल्याण तिम्सिना, नवराज ढकाल, नरेश गुरुङ, मदन खड्काहरुले पनि एकजना ड्राइभर र परिचर राखेका छन् । आइजीबाट रिटायर्ड भएका रमेश चन्द ठकुरी फरार सूचीमा छन् । तर, उनको घरमा पनि तीन जना प्रहरी खटिएको अभिलेख हेडक्वार्टरको एमटी र सुरक्षा सेवा निर्देशनालयमा छ । सुडान घोटाला प्रकरणमा उनीभन्दा अघिका महानिरीक्षकमध्ये हेमबहादुर गुरुङले कैद सजायँ भुक्तान गरिसके । उनी कैद सजायँमा छँदा पनि घरमा सुरक्षाकर्मी थिए । खाउञ्जेल जागिरबापत तलब खाने, सकिएपछि पेन्सन खानेसम्म त स्वाभाविक हो । तर, बहालमा रहेकैजस्तो सुविधा पनि लिने चलनले सबभन्दा बढी विकृति नेपाल प्रहरीमै मौलाएको छ । जागिर सकिएपछि अधिकांश हाकिम व्यापार व्यवसायमा लाग्छन् ।

तिनले त्यत्तिका पैसा कहाँबाट कमाएर लगानी गरेका हुन् ? राज्यले यो खोज्दैन । जस्तो कि, रमेश चन्द ०७२ को भूकम्पले क्षतिग्रस्त धापासीस्थित हिमालयन होराइजन अपार्टमेन्टका सिइओ थिए । तर, ‘फरार हुनुपर्ने’ भएपछि अहिले सार्वजनिक जीवनमा देखिएका छैनन् । पोहोर रिटायर्ड भएका एआइजी वीरेन्द्रबाबु श्रेष्ठ मारवाडी अशोक अग्रवालहरुका पार्टनर छन् । त्यही समूहको व्यापारिक फर्म सूर्य लाइफ इन्स्योरेन्समा पनि आबद्ध छन् । उनीसँग पनि तीनजना घरेलु कामदार छन्, प्रहरीका । उनकै व्याची रमेशशेखर बज्राचार्य विनोद चौधरीकोमा उपाध्यक्ष बनाइएका छन् । न्यायाधीश र कर मामिला मिलाएर बसेका छन् । एउटा व्यापारिक फर्मले बिनालगानी कसैलाई पनि उपाध्यक्षजस्तो पद दिँदैन, त्यो पनि चौधरीजस्ता चुइँयाले । उनीसँग तीनजना प्रहरी साथमा छन् । हो, भूपू एआइजी राजेन्द्रबहादुर सिंह नर्भिक अस्पतालमा मिहिनेतको काम गर्द छन्, सिइओका रुपमा । तर, जागिरभर टन्न पैसा कमाएका अधिकांश प्रहरी व्यापारिक फर्मको साझेदार नै भएका छन् । पेन्सन खाने, सुविधा लिने र व्यक्तिगत व्यापार, व्यवसाय पनि चलाउने ! यस्तो स्वर्ग अन्त मिलोस् कसरी ? एआइजीबाटै रिटायर्ड भएका किरण गौतम मोरङ अटो वक्र्सले बजार प्रबद्र्धन गर्ने यामाहा ब्राण्डका गाडीको व्यापारमा छन् । बरु, केशव अधिकारीले अवकाशपछि केही काम नपाएर दाजुभाइले सम्हालेको पुख्र्यौली चिया उत्पादनको काम जिम्मा लिएका छन् । डिआइजीबाट रिटायर्ड हेमन्त मल्लले हेडक्वार्टरले पठाएका परिचर फिर्ता गरेका छन् । १५ हजार पेन्सनले खान पुग्छ उनलाई । एआइजीबाट रिटायर्ड भएका गंगा पाण्डे ल फर्म खोलेर कानुनी अभ्यासमा छन् । घरमा सहयोगीका रुपमा सिपाही राखेका छन्, गाडी पनि उनैले चलाउँछन् । एआइजीबाट रिटायर्ड प्रताप थापासँग पनि तीनजना कामदार प्रहरी छन् ।

राज्यको तलब खाने कर्मचारीलाई जुन प्रयोजनका लागि भर्ना गरिएको हो, त्यसबाहेकको ड्युटी लगाउन पाइँदैन । पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसम्मलाई निश्चित सेवा सुविधा दिने गरी मस्यौदा गरेको छ । तर, प्रहरीमै जागिर खाएर रिटायर्ड भएका हाकिमलाई घरेलु कामदारका रुपमा सिपाही खटाउने व्यवस्था कुनै पनि ऐन, कानुनले गरेको छैन । अझ विधेयकको आठौँ दफामा त स्पष्ट उल्लेख छ कि, सरकारी कोषबाट पारिश्रमिक पाउने गरी निर्वाचित, मनोनीत वा नियुक्त भई सार्वजनिक पदमा बहाल रहेसम्म सुविधा पाइँदैन । त्यस्तै, महाभियोगको प्रस्ताव पारित भई पदबाट मुक्त भएमा, नैतिक पतन, फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा सुविधा नपाउने उल्लेख छ ।

छाँट्ने छनक
‘पहिला जे भयो, भयो, अब त्यस्तो चल्दैन’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहाली भएयता पटक–पटक पिसिसी बैठकमा दोहो¥याउने गरेको शब्द हो यो । अर्थात्, भूपू र सिभिलियनकहाँ घरेलु कामदारका रुपमा खटाइएका प्रहरी कर्मचारीलाई एक महिनाभित्र फिर्ता ल्याउन सुरक्षा सेवा निर्देशनालयलाई निर्देशन दिइसकेका छन् । सँगै, वर्षौंदेखि हेडक्वार्टरमा रजगज चलाउँदै आएका तल्लो दर्जाका प्रहरीलाई लखेट्ने काम पनि शुरु गरेका छन् । अहिले पनि हेडक्वार्टरका संवेदनशील निकायमा अच्युतकृष्ण खरेलको पालादेखिका मानिसहरु बसिरहेका छन् । जस्तो कि, सिपाहीमा जागिर खाँदा कप्रमा काम बसेका धिताल सई भइसके, त्यहीँ छन् ।

प्रबन्ध शाखामा चौलागाइँ थरका असई छन्, सिपाहीदेखि नै त्यहाँ बसेका । कुनै दिन तपाईंले एक नम्बर गण अगाडिको रेस्टुरेण्टमा केही ठेकेदार भेट्नुभयो भने पक्का मान्नुस् कि, चौलागाईंलाई पैसा बुझाएर उनीहरु कुनै काम लिन खोज्दैछन् । कानुनमा इन्स्पेक्टर छन्, राई थरका । यिनी पनि जागिर खाएदेखि अन्त गएका छैनन् । कार्यविभागमा सई खड्का छन्, हवल्दारदेखि बसेका । बजेट शाखामा वर्षौंदेखि बसेका एक एसपी र एक डिएसपी छन्, हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्दै सभ्य भाषामा धम्क्याउने † कहाँबाट के चुहाउँदा आइजीको चुकुल फुस्किन्छ भन्ने कुराका यी दुई भाइ विज्ञ मानिन्छन् । प्रहरीको पेट्रोल पम्पमा खुलेदेखि अहिलेसम्म एउटै अनुहारका मान्छे बस्छन् । त्यहाँ अरु जान सक्दैनन्, गइहालेछन् भने ६ देखि ७ महिनाभन्दा टिक्न दिँदैनन् । आइजी सर्वेन्द्रले यी सबै विवरण उतारेर ‘स्वीप’ गर्ने तयारी थालेको बताइन्छ ।

टिप्पणीहरू