क्वार्टर नटेकी भीम आचार्य मुख्यमन्त्रीबाट कटअफ

क्वार्टर नटेकी भीम आचार्य मुख्यमन्त्रीबाट कटअफ

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य सरकारी निवासमा पाइला नै नटेकी बिदा हुनुभएको छ । आचार्यका लागि पद छोड्न तयार भएका एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री निवास नछाडेपछि आचार्यले सरकारी क्वार्टर नदेख्दै पदबाट बिदा लिनुपरेको हो ।

प्रदेश १ मा मुख्यमन्त्रीका लागि अहिलेसम्म सरकारी निवासको प्रबन्ध गरिएको छैन । तत्कालीन मुख्यमन्त्रीले भाडाको घरलाई मुख्यमन्त्री निवासका रुपमा प्रयोग गर्दै आएका थिए ।

शुरुमा राईले उक्त घर तत्काल छोड्न नमानेपछि मुख्यमन्त्री आचार्य राष्ट्र बैंकको साँघुरो गेष्ट हाउसमा बस्न बाध्य भएका हुन् । राईले त्यतिबेला आचार्यलाई मुख्यमन्त्री निवासका लागि अर्को घर भाडामा लिन सुझाएको भन्नेहरु पनि छन् ।

जानकार स्रोतले बताएअनुसार मुख्यमन्त्री छोड्दै गर्दा त्यतिबेला राईले ‘सामान धेरै छन्,सार्न अप्ठेरो छ,अर्कै घर खोज्नु’ भनेका थिए । भाडाकै भए पनि सरकारी प्रयोजनका लागि लिएको घरलाई राईले आफ्नै स्वामित्वको जसरी हालीमुहाली गरेको आचार्य निकटहरु बताउँछन् ।’

प्रदेशसभाका आचार्य निकट एक जना सांसदले भने, ‘लाखौं रुपैयाँ खर्च गरेर राईले गत वर्ष उक्त भवनको मर्मत र रंगरोगन गरेका थिए । मुख्यमन्त्रीबाट खुस्केपछि माथिल्लो तलामा आफू र तल्लो तलामा घरबेटी बस्न थालेका छन् । त्यत्रो खर्च गरिएको घरमा आचार्यले बस्नै पाएनन् । अन्धाधुन्द सरकारी खर्च गरियो तर मुख्यमन्त्री आचार्यको बाहिरैको बासमा कार्यकाल सकियो ।’

गत भदौ १० गते शेरधनलाई विस्थापित गर्दै आचार्य प्रदेश १ को सत्तामा पुगेका थिए । एउटै पार्टीमा भएर पनि फरक कित्तामा रहेका यी दुई नेताबीच विगतदेखि नै उति राम्रो सम्बन्ध छैन । अध्यक्ष केपी ओलीको निर्देशनपछि बाध्यतामा परेर पद त्यागेका राईले आचार्यलाई कहिल्यै स्वीकार नगरेको एमालेकै नेताहरु बताउँछन् ।

ओलीका विश्वासपात्र राई र एमालेको तत्कालीन माधव नेपाल समूहका आचार्य सांसदहरुलाई एकीकृत समाजवादीमा जानबाट रोक्न अध्यक्ष ओलीको निर्देशनमा बाध्यतामा परेर मिलेका थिए ।

दुई वर्षअघि संसदीय दलको निर्वाचनमा व्यहोरेको पराजयको भपाई उठाएर मुख्यमन्त्री बनेका आचार्यलाई त्यसपछि पनि राई समूहले दिल खोलेर साथ नदिएको एमाले पंक्तिमा चर्चा छ । राईले आचार्यलाई निवास नछोड्नुलाई कतिपयले यस्ता कुरासंग पनि जोडेर हेर्ने गरेका छन् ।

प्रदेशसभामा एमालेको बहुमत कायम राख्ने ओलीको शर्त मानेर मुख्यमन्त्री बनेका आचार्य अन्ततः आफ्ना सबै प्रयास असफल भएपछि ६८ दिनमै बहिर्गमनमा पर्नुपरेको हो । एमाले विभाजनपछि १० जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोज्नासाथ अल्पमतमा परेका आचार्यले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

आचार्यको राजीनामासँगै नेकपा एमाले केन्द्र र चार वटै सरकारबाट बाहिरिएको छ । असारमै संघीय सरकार गुमाएको एमाले पछिल्लो केही महिनामा गण्डकी,लुम्बिनी, बागमती र प्रदेश १ मा प्रतिपक्षी बेञ्चमा पुगेको छ । राजनीतिक ध्रुवीकरण र पार्टी विभाजनका कारण भदौयता मात्रै एमालेका चार जना मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको छ ।

टिप्पणीहरू