समाजवादी पार्टी बनाउने योजना भताभुङ्ग : शिक्षा मन्त्री पौडेल

समाजवादी पार्टी बनाउने योजना भताभुङ्ग : शिक्षा मन्त्री पौडेल

-राजेशचन्द्र राजभण्डारी

समाजवादसहितको पार्टी बनाउने योजना पार्टी नेतृत्वमा गलत मान्छे आएको कारण भताभुङ्ग भएको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनुभएको छ ।

तत्कालीन नेकपामा एकजना लिडर अरूले बनाएको सम्हाल्ने तर्फभन्दा पनि बिगार्नेतर्फ लागेकाले समस्या आएको माओवादी नेता एवम् मन्त्री पौडेलले जानकारी गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले, ‘अहिले पार्टी विभाजन हुनु अघिसम्म गाउँ गाउँमा संगठन र सदस्य बनाइराख्न जरुरी नै थिएन,सरासर पार्टी सदस्यले मात्रै भोट हाले पुग्ने अवस्था थियोे तर,भइदियो उल्टो,’ उहाँले उल्लेख गर्नुभयो ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका मन्त्रीहरूलाई असल काम गर्न निर्देशन दिएको तर आफूहरूले गठबन्धन दलहरुबीच साझा धारणा ल्याउन सुझाव दिएको पनि जानकारी गराउनुभएको छ ।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित पौडेललाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट व्यापार संगठन,नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले जिल्लाबाट मन्त्री हुन सफल भएकोमा बधाई दिन आयोजित कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक अवस्थाको बारेमा बोल्नुभएको हो ।

बागलुङ जिल्ला आर्थिक रूपले पछि परेको,मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर हालसम्म पनि सम्पन्न हुन नसक्दा जनताले दिनहुँ सकस व्यहोर्नु परेको उहाँको भनाइ थियो । सोही सन्दर्भ जोड्दै पौडेलले भन्नुभयो, ‘अब यसमा परिवर्तन ल्याउन आवश्यक छ ।’

तुलनात्मक रुपमा शिक्षा र स्वास्थ्य मन्त्रालयमा काम गर्न जटिलता रहेकाले यसबारे तत्काल केही गर्न नसकिने पनि मन्त्री पौडेलको धारणा छ ।

शिक्षा मन्त्रालय निश्चित नीति नियम र कार्यक्रममा अघि बढ्ने भएकाले अन्य मन्त्रालयलये झैँ मन लागेको ठाउँमा बजेट र कार्यक्रम बनाउन नसकिने उहाँले उल्लेख गर्नुभएको हो ।

जिल्लाले धेरैपछि मन्त्री पाएकाले यसलाई अवसरको रूपमा लिन जरुरी भएको अन्य वक्ताहरूको धारणा थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा,नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी प्रदेशका अर्जुन चोखाल,नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला समितिका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलगायतले धारणा राख्नुभएको हो ।

टिप्पणीहरू