मलाई माफ गर्नुस्… विश्वास दाइ

  • नरेन्द्रजंग पिटर 

‘अभागीलाई’ चर्पीमा पनि ठेस्कै बिझ्छ, क्या.. । सुविधाको मस्तराम हुनेबेला मलाईचाहिँ चार दशकको आफ्नो पार्टीप्रति विश्वास टुट्यो, वैराग्य चल्यो । गम्छु–..चितवन, भण्डारा हर्दी मदन चौधरीको घरमा बादलसँगको पहिलो भेट र अहिले अर्थात् ५ अगस्तका दिन प्राविधिक सम्बन्ध तोेड्दाको पीडादायी अवस्था । दुख्नेकै नाम रहेछ… दिल । फेरि सत्तामा आएको बेला मैले आस्थाको निरन्तरतालाई तान्न, धान्न, लतार्न र घिसार्न सकिनँ ।

पछिल्लो उल्लेखनीय घटना बन्यो– धोबीघाट जमघट । त्यसले फेरेको राजनीतिक मार्गचित्र । धोबीघाट जात्राले माओवादी जनयुद्धलाई जहाँ पु¥याएर छाड्नुपथ्र्यो…पु¥यायो पनि । आयोजक देखिएको तर प्रायोजक नदेखिएको सो जमघटको योजना र परिणाम जे हुनुथ्यो त्यसको चरण अब पूरा भयो । ७ दिन नटिकेको सो गठबन्धनका कार्य, कारण, परिणाममा पात्र र प्रवृत्तिका तत्कालीन र अहिलेको भूमिका खोज्नु र दाँज्नु आवश्यक हुन्छ । त्यो ‘वामए कताका’ नाममा नांगा आँखाले अहिले देख्नै सकिने भयो । फर्केर हेर्दा– देख्दादेख्दै भाउजू राँडी भै ।

यसै पत्रिकामार्फत ०६५ सालमा ‘नायकसँगका चुनौती’ शीर्षकअन्तर्गत धरहरा ढलिरहेको देखिरहेको छु, काँध थाप्न सक्ने अवस्था छैन, अर्को बनाउन सक्ने हैसियत पनि छैन भनेको थिएँ । त्यसबारे ५ जना राजनीतिक हाकिमलाई बयान दिनुप¥यो । भृकुटीमण्डपको विस्तारित बैठकपछि २२ अगस्त २०१२मा अध्यक्षलाई एउटा पत्र लेखेँ । प्राविधिक चातुर्यताले भर्खर विभाजित भएर निख्खर क्रान्तिकारी देखिनुपर्ने तत्कालीन ड्यास माओवादीको मिडियासेल प्रमुख महेश्वर दाहालजीकहाँ पुगेपछि जनदिशामा छापियो । त्यसमा म १२ बुँदामा केन्द्रित थिएँ । त्यसबारे यहाँकै चेम्बरमा प्रभाकरजीसँगै भएको छलफल बिर्सनुहुन्न ! अहिले पनि भनेको सम्झन्छु–तपार्इं जनयुद्ध मनोयुद्धमा फेरियो त भन्नुहुन्छ, कतै आफैँ मनोयुद्धमा फस्नुभएको त छैन ? 

पत्रका अंश 
नियुक्ति पाएकाहरूको नाम पढ्दै गएँ, कार्यक्षेत्र विभाजन र फिल्ड नेतृत्वबारे गम्दै गएँ । हरेक सुन्दर र ओजपूर्ण निर्णयलाई सामाजिक शक्तिमा फेर्ने त संगठन नै हो । यदि नेतृत्वमा नैतिकपँुजी भएन र फिल्डका कार्यकर्तामा विचारले पैदा गरेको समर्पण भाव भएन भने निर्णय माइन्युटका विषय बन्छन् र थन्किन्छन् । अझ अँध्यारो कुनाबाट मसिनो स्वरले जनयुद्धको औचित्य छैन भनेर गोलबद्ध भइरहेका मान्छेबाट जुझारु संगठनको अपेक्षा कति गर्न सकिएला ! अहिले जनयुद्धको स्वीकार शक्ति प्राप्ति र शक्ति सञ्चयमा देखिरहिएको छ ।
माओवादी पार्टी क्याडर बेस पार्टी हो कि मास बेस्ड ! कुनै पनि मानिस सामान्य सदस्य नै नभई एकैपटक नीति निर्माण गर्ने कार्यकारी थलो केन्द्रीय कमिटीमा पुग्न सक्छ ? बालाजु बैठकमा पनि जनयुद्धलाई सत्तोसराप गरेर भाग्नेहरूलाई प्रवेश गराउँदा कार्यकर्ताले आवाज उठाउनुपरेको थियो !

सामाजिक अपराधबाट नउम्केका तर जातीय आरक्षणअन्तर्गत कम्युनिष्ट पार्टीको केन्द्रीय तहमा पुगेकाहरूको स्वीकृति र भूमिका के, कस्तो हुने ? जानेर वा नजानेर, प्रत्यक्ष वा परोक्ष जो मान्छे न वर्गसंघर्षमा जोडिएको छ न त आचरणमा पनि भौतिकवादी सोचसँग साइनो राख्छ– नेतृत्वमा पुग्छन् भने कम्युनिष्ट भनेका कस्ता हुन्छन् भनेर आमजनताले कस्तो धारणा बनाउने ?

आलोचनात्मक क्षमता राख्ने कार्यकर्ताभन्दा अत्यधिक ‘लालदास’ चयनले पार्टी सुन्निएर मोटाएको जस्तो त हुनेछ तर संगठनात्मक तागत भने कमजोर बन्नेमा शंका छैन । जुन कमिटीमा गम्भीर बहस गर्ने अवसर हुन्न, त्यो संगठन नभई भीड हो । जसको पीडा विगतमा हरेक जम्बो कमिटीले भोगिसकेको छ । 

सफल नेतृत्वले जहिले पनि सपना देखाउन, आशा जगाउन र विश्वास जगाउन सक्छ । तर्कले कुनै पनि विषयको औचित्यपुष्टि गर्ने कला भएरै त नेतृत्व बन्ने हो तर तर्कले वास्तविक जीवनमा च्यूरा भने भिज्दैन । बरु पार्टी, कार्यकर्ता र समाजले मोहभंगकालबाट गुज्रिनुपर्ने हुन्छ ।
माफ गर्नुस्, विश्वास दाइ ! क्रान्तिकारी बन्नेहरू अथवा खोइरो खनेर, गाली रित्याएर फेरि तपाईंकै आँगनीमा फर्कनेहरू आजका २६ क्यारेटे क्रान्तिकारी भएका छन्, अध्यक्ष प्रचण्डका कोटेसन नराखी लेख लेख्दैनथे, भाषण सुरु गर्दैनथे, भूमिका नलेखाई वा विमोचन नगराई पुस्तक निकाल्दैनथे तर त्यसरी साखुल्ले बन्न नचाहनेमध्ये म पनि हुँ । चक्रब्यूहबाट तपाईं घेरिइरहनुभएको छ । कति हिजोका दिन सम्झनु हुँदो हो…! यो हप्ता माओवादीको सहिद सप्ताह हो, विश्वास दाइ ! माफ गर्नुस्… मन, वचन र कर्मले सहयात्रा गर्न नसकेकोमा ।

टिप्पणीहरू