खुद्रा दर्ता,होलसेल ब्यापार-चाडको अनुगमन अपार

खुद्रा दर्ता,होलसेल ब्यापार-चाडको अनुगमन अपार

-अमृतप्रसाद पौडेल

दशैंको पूर्वसन्ध्यामा म्याग्दीको सदरमुकाम बेनीबजारमा पनि पसलहरुको अनुगमन गरिएको छ । बेनीबजार क्षेत्रमा सञ्चालित विभिन्न प्रकृतिका पसलको जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।

किराना तथा खाद्यान्न,मासु एवम् मेडिकल पसल (औषधि) को अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले जनाएको छ । अनुगमन टोलीले पसलमा राखिएका दैनिक उपभोग्य सामानको गुणस्तर,म्याद रहेको वा गुुज्रिएको,पसल दर्ता तथा नवीकरण गरे नगरेको, मूल्यसूची राखे वा नराखेको जस्ता विषयमा चेकजाँच गरेको हो ।धेरै पसलमा कमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसलले खुद्रामा दर्ता गरेर होलसेल कारोबार गरेको पाइएको छ । अन्तःशुल्कको इजाजत नलिई मदिराजन्य पदार्थ बिक्री वितरण गरिएको छ भने केही पसलमा म्याद गुज्रिएका सामान भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो ।

अनुगमन टोलीले बेनीका न्युरोड, क्याम्पसचोक, पिपलचोक र कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरेको थियो । दशैं लगायतका पर्व लक्षित गरेर बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।बेनीबजारको कालीपुल बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन भाडामा लिई सटरमा सञ्चालित तीन वटा पसलमा मदिरा तथा सुर्तिजन्य (चुरोट, रक्सी र सुर्ति) को बिक्री वितरण गरेको पाइएको छ । सामान्यतयाः विद्यालय क्षेत्रमा कम्तीमा एक सय मिटरको दूरीमा यस्ता पसल राख्न पाइँदैन ।

प्रमुख जिल्ला अधिकारी रानाले बजार अनुगमन नियमित हुने गरेको बताउँदै स्थानीय प्रशासनको नेतृत्वमा सरोकारवाला निकायसहितको सहभागितामा अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँले अनुगमनको क्रममा केही पसलले आफ्नो सीमा क्षेत्रभन्दा बाहिर सडक तथा पेटीमा समेत ठूलो मात्रामा सामान राखेर बिक्री वितरण गरेको समेत पाइएकाले सम्बन्धित व्यापारीलाई सचेत गराइएको भन्नुभयो ।आगामी दिनमा पुनः सोही कार्य दोहोरिएमा नियमअनुसार आवश्यक कारबाही गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनुगमन निरन्तरताको प्रक्रिया भएकाले सरकारी ऐन, नियमअनुसार अहिले बजार अनुगमनको कार्य स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहले नै बजार अनुगमन समिति गठन गरेर नियमित रुपमा बजारको अनुगमन गर्नुपर्ने प्रजिअ रानाको भनाइ छ ।

यसबाट उद्योगी व्यापारीहरु सचेत हुने र उपभोक्ताले समेत गुणस्तरीय सामान सुपथ मूल्यमा पाउने उहाँको विश्वास छ । जिल्ला प्रशासनको नेतृत्वमा भएको पछिल्लो अनुगमनमा बेनी नगरपालिका,घरेलु तथा साना उद्योग कार्यालय,जिल्ला प्रहरी कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,म्याग्दी उद्योग वाणिज्य संघ,कृषि ज्ञान केन्द्र र पत्रकारको सहभागिता थियो ।

टिप्पणीहरू